‘इनफ इज इनफ’ अभियान, नेपालमा युवा र युवा नेतृत्व, संसारभरि फैलिँदो धार्मिक–जातीय राष्ट्रवाद, कोरोनाकालपछिको विश्व व्यवस्था आदिका विषयमा प्रदीप गिरिकै अन्तर्वार्ता लिन उपयुक्त भए पनि भौतिक दूरी कायम गर्नुपर्ने यो वेला उमेरमा सात दशक नाघिसकेका समाजवादी चिन्तकसँग भेटेर अन्तर्वार्ता लिने प्रस्ताव गर्न गाह्रो थियो । लकडाउन सुरु हुँदा सिराहामा रहेका वैकल्पिक विचारको वकालत गर्ने सांसद गिरि प्रतिनिधिसभा बैठक सुरु हुने भएपछि काठमाडौं आउँदा आफू बसिरहेको अपार्टमेन्टमा प्रवेश नपाई वैकल्पिक निवासमा बस्न बाध्य हुनुभएको अवस्थाबीच नयाँ पत्रिका टिमले मास्क लगाई, शारीरिक दूरी कायम गरी अन्तर्वार्ता लिन गरेको प्रस्तावमा उहाँले सहमति जनाउनुभयो । प्रस्तुत छ, सुजित महत र नरेश ज्ञवालीसँग समाजवादी चिन्तक गिरिले गरेको लामो संवादको सम्पादित अंश :
तपाईंंले ‘इनफ इज इनफ’ अभियानअन्तर्गतको सत्याग्रहमा गएर सत्याग्रहीलाई भेटेर ऐक्यबद्धता व्यक्त गर्नुभएको थियो । तपाईंको ‘अब्जरभेसन’ भन्दिनुस् न, खासगरी नेपाली युवाप्रति ?
अभियन्ताहरूबारे विस्तृतमा बुझिओरी गएको थिएँ । अनशनलाई आन्दोलनको सार्थक हतियारको रूपमा मान्दामान्दै पनि आमरण अनशन धम्की पनि हुन जान्छ । यसैले कोही अनशन बस्दैमा ऐक्यबद्धता जनाइहाल्दिनँ । अनशनमा युवा थिए । युवा उमेर बाढीको भेलजस्तो हुन्छ । भयंकर शक्ति हुन्छ, उन्माद पनि हुन्छ । बाढीको पानीलाई नहरमार्फत निकास दिन सके उब्जनी बढाउन सकिन्छ, नत्र बाढीले तहसनहस पार्छ । युवा समाजको प्रेरक र वाहक शक्ति हो । ती युवा सत्याग्रहीप्रति, उनीहरूको भावना र नियतप्रति उच्च सम्मान छ । संसारमा सुरुका पाँच हजार वर्षमा जति परिवर्तन भयो, त्यसपछिको पाँच सय वर्षमा त्यही पाँच हजार वर्षजत्तिकै परिवर्तन भयो । फेरि पाँच सय वर्षबराबरको तरक्की सय वर्षमा सम्भव भयो । विगतका ५० वर्षमा पहिले पाँच सय वर्षमा भएको प्रगति भएको छ । त्यो अहिलेका युवाले नबुझी हुन्न । त्यसैलाई विश्वदृष्टि भनिन्छ । आजका युवाले अलिअलि बुझ्दै छन्, समग्रमा बुझेका छैनन् । ‘इनफ इज इनफ’ स्वार्थभन्दा माथि उठेको देखेँ । स्वार्थत्याग अनिवार्य सर्त हो, पर्याप्त होइन ।
पढालेखा युवा प्रगतिशील हुने अनुमान गरिन्छ । राष्ट्रवादका भ्रम, अन्धविश्वास आदि इत्यादिबाट माथि उठेको अपेक्षा हुन्छ । तर, अहिले संसारैभर राष्ट्रवादको हावा चल्दै छ । प्रगतिशील कुरा गर्नेहरू रक्षात्मक अवस्थामा छन् । हामीकहाँ महिलाका लागि ड्रेसकोड तोक्ने ‘मोरल पुलिस’को रूपमा पनि देखिँदै छ, पुरुष युवा । सामाजिक सञ्जालमा त प्रगतिशील विचार राख्नेलाई डलरेको पगरी गुथाइदिइहाल्छन् । यसमा तपाईं के भन्नुहुन्छ ?
युवाको अकाट्य विशेषता– उसले परिवर्तन चाहन्छ । परिवर्तन चाहनु उसको जैविक विशेषता हो । तर, युवालाई हामीले गौरवीकरण किन गर्नुहुँदैन भने हिटलरलाई बोक्ने पनि युवा थिए । दुनियाँँको घनघोर दक्षिणपन्थीदेखि समाजवादी क्रान्तिसम्म युवाले नै गरेको हो । प्वाँख लागेपछि चरा उड्न खोज्छ, उड्न सकेन भने बाँच्न सक्दैन । उमेर पुगेपछि चरा, मनुष्यलाई आफ्नो गुँड बनाउने चाहना हुन्छ । मनोविज्ञानमा त्यसलाई ‘इन्टिमेसी निड’ भन्छन् । युवाले परिवर्तनको चाहना त गर्छन्, तर त्यो परिवर्तनको नेतृत्व गान्धीले गर्छन् कि गोड्सेले ? हिटलरले गर्छन् कि लेनिनले ? विचारणीय छ । नेपाली युवाको तारिफ गर्छु, उनीहरूले सही सवाल पक्रेको देखिन्छ । युवा आन्दोलन बन्दुकको गोलीजस्तो प्रयोग हुन सक्छ । बन्दुक कसले चलायो, थाहा हुँदैन । बन्दुकको खोका बनेर युवा आन्दोलन सकिन पनि सक्छ । न युवाले सीमान्तकृतको समस्या नजरअन्दाज गर्दै देश–देश भन्दै हिँड्छ कि ? प्रशिक्षण, संस्कृतीकरण कसरी भएको छ, त्यसमा भर पर्छ ।
पार्टीका कार्यकर्ता, खासगरी सांसद बन्धकजस्ता भएका छन् । संविधानको रक्षक राष्ट्रपतिले एकदम अलोकप्रिय र अलोकतान्त्रिक प्रस्ताव एक घन्टा पनि नरोकीकन सहीछाप गर्दिनुहुन्छ । गर्न मिल्छ कि मिल्दैन, परामर्श त गर्न सकिन्छ ।
सोभियत संघको विघटन विश्वको एउटा ठूलो प्रतिगमनको घटना हो । कम्युनिस्ट आन्दोलन खराब थियो भन्ने आमकांग्रेसीको भनाइलाई म मान्दिनँ । हाम्रो समाज यति सानो समूहले चलाएको छ, भोलि ओलीको ठाउँमा जो–कोही आए पनि वैचारिक, सांस्कृतिक, समाजशास्त्रीय आधारमा संक्षेपमा भन्दा हाम्रो प्राज्ञिक आधारविना दिगो क्रान्ति सम्भव छैन । यी युवा आन्दोलनको कमजोरी यही छ । जोस र जाँगर प्रगतिवादी धारणा वाजिब छ, तर उनीहरूलाई वैचारिक खजानाको खाँचो छ । जब–जब युवाले त्यो खजाना पाएका छन्, भयंकर काम गरेका छन् ।
परिवेशले युवा नेतृत्व जन्माउँछ भन्ने त बुझियो, तर देशको नेतृत्व गर्न राजनेता चाहिन्छ भन्ने हो भने त फेरि हामीले नायकको खोजी गरेको ठहर्दैन र ?
‘जुन समाजलाई नायक चाहिन्छ, त्यो समाज नै अभागा समाज हो,’ बर्तोल्त ब्रेख्तका शब्द हुन् । उनको ‘लाइफ अफ ग्यालिलियो’ नाटकमा ग्यालिलियो पात्रले भन्छ, ‘प्रत्येक समाजमा विचार र राजनीतिको आदर्श उपलब्ध हुन्छ । समाजमा जुन विचार छ, त्यसबाट मान्छेको निर्माण हुन्छ ।’ आज समाजको विचार निर्माणको आधार ‘युट्युब’ भएको छ । त्यहाँ कुनै माक्र्सवादीको उपस्थिति छैन । पुँजीवादले थिचेको मिडिया छ । धेरै वर्षदेखिका आन्दोलनहरू किन बर्बाद भइरहेका छन्् भन्दा विचारको लडाइँमा हामी हारिरहेका छौँ । हामी स्टालिनको जमानामा पनि हार्दै थियौँ । संसदीय बाटोबाट सर्वहारा वर्ग नेतृत्वमा आउनुपर्छ भन्नेहरूबीच आपसी जुन भातृयुद्ध भयो, त्यसमा धेरै मारिनु सबैभन्दा अभिशापपूर्ण घटना थियो । अहिले पनि सोसल डेमोक्र्याट भनिने र आफूलाई माक्र्सवादी भनाउने विवेकशील तत्व एक ठाउँमा आउँदैनन् भने न कोरोनाबाट मुक्ति पाइन्छ, न ट्रम्पबाट ।
युवा–युवा भनिरहँदा विश्वमै नेतृत्व पाकाले गरेको देखिन्छ । महाशक्ति अमेरिका पाकोेको नेतृत्वमा छ । यस्तो किन ? र, युवामा परिपक्वताको प्रश्न कतिको महत्वपूर्ण हो ?
नेतृत्वमा युवा कि पाको भन्ने राजनीतिक इतिहासको पुरानै बहस हो । पाको उमेरमै नेतृत्वमा पुगेर पनि युगान्तकारी भूमिका निर्वाह गरेका अनेकन उदाहरण छन् । ७५ वर्षका गणेशमान सिंहको नेतृत्वमा ०४६ सालमा परिवर्तन भएको थियो । नेतृत्वदायी भूमिका वहन गरेर दोस्रो महायुद्ध जित्दा विन्स्टन चर्चिल ७० वर्षका थिए । यसैले पाको भन्नेबित्तिकै त्याज्य र युवा भन्नेबित्तिकै स्वीकार्य भन्ने हुँदैन । जीवनशैली, सोच र मूल्यमान्यता के–कस्तो छ ? युवा अग्रगामी छन् कि पश्चगामी ? उमेरका हिसाबले युवा जहिलेसुकै परिवर्तन चाहन्छन् । तर, परिवर्तनको दिशा तिनको शिक्षा, संस्कार, मूल्यमान्यताले निर्धारण गर्छ । आजका युवामा जोश, जाँगर भए पनि अग्रगामी दृष्टिकोणको अभाव छ । बुद्धले ३५ वर्षकै उमेरमा विश्वलाई प्रकाश दिएका थिए । जिसस २९ वर्षमा सहिद भएका थिए । विश्वका सारा परिवर्तन युवाले गरेका छन्् । तर, पटक–पटक प्रतिक्रियावादीको वाहक पनि बनेका छन् । हिटलर नेतृत्वको नाजी शासनलाई हेर्न सकिन्छ ।
राजनीतिक प्रणाली नै परिवर्तन हुँदा पनि तपाईं रहेको कांग्रेसको नेतृत्व परिवर्तन हुँदैन । महाधिवेशन घोषणा भएको छ, नेतृत्वमा पुग्न उही उमेरले पाकाबीच प्रतिस्पर्धा छ । यीमध्ये जोकोही तृत्वमा आए पनि उनीहरूबाट अहिलेकै शैलीको निरन्तरताबाहेक केही अपेक्षा गर्न सकिन्न । अब त पुस्तान्तरण हुन परेन र ?
कांग्रेसमा उमेरमा ८० पुग्न लागेकाले नै नेतृत्व लिने तत्परता देखाउँदै छन् । हो, दल सञ्चालन र राजकाजको पनि अनुभव हुनुपर्यो । तर, बुद्धि, विवेक र संवेदनशीलता नभएको मान्छे अनुभव भए पनि काम लाग्दैन । यसैलाई हृदयंगम गरी उमेरका साथै अरू पनि सर्त छन् । अरू सर्तमा आजका समस्याको पहिचान, वस्तुस्थितिको ठोस अध्ययन र त्यो समाधान गर्न ऊसँग भएको दूरदृष्टि र कार्यान्वयन गर्ने संकल्प हुन् । अब्राहम लिंकन ५९ वर्षको उमेरमा राष्ट्रपति भएर कार्यालय प्रवेश गर्दा उनलाई त्यहाँका चोटाकोठा, टेबुल, कलमदानीसमेतको जानकारी थियो रे । आज नेपाल भनेको नेपाल मात्र होइन, भारत पनि हो, चीन पनि हो । चीन र भारतको बीचमा हुनु हाम्रो नियति हो । नेपाल कसरी बन्यो, सन् १७६८ मा काठमाडौं जित्नुअघिको नेपाल, त्यसपछिको नेपाल, नेपाली समाज, अर्थतन्त्र आदि बुझेको हुनुपर्यो । अहिले म देशमा तीन मुख्य समस्या देखिरहेछु– शिक्षा, स्वास्थ्य प्रणाली र भौतिक निर्माण । तीनवटै समस्या बुझेको, समाधानको उपाय र संकल्प भएको हुनुपर्छ । सँगसँगै उदात्त आदर्शवाद, विचारधारा हुनुपर्यो । नाम र दाम कमाउन आएको हैन, तीन करोड जनताको हितमा केही न केही गरेर छाड्छु भन्ने कठोर संकल्प हुनुपर्छ ।
रि प्रश्न उब्जिन्छ, पुस्तातन्तरण भन्नाले नयाँ अनुहार कि नयाँ दृष्टिकोण ? तैपनि, युवा भन्नेबित्तिकै दृष्टिकोण नयाँ नभए पनि स्वास्थ्य, कार्यक्षमता आदिले सबल पक्ष नै हुन्छ । कस्तो प्रधानमन्त्रीलाई आदर्श भन्नेमा अनेकन किताब लेखिएका छन् । जोसँग कम्तीमा १४ घन्टा काम गर्ने क्षमता हुनुपर्छ भन्ने लेखिएको छ । प्रधानमन्त्री धेरै व्यस्त रहनुपर्ने पद हो । रिबन काट्ने, ठूलाबडाको घरमा डिनर खाने, बिहेबटुलमा जन्ती जानेदेखि फाइल सदर गर्ने अनेक काम हुन्छन् । यसैले शारीरिक रूपमा स्वस्थ प्रधानमन्त्री पहिलो सर्त हो । यसैले पार्टीको नेतृत्व होस् वा प्रधानमन्त्री, युवा नै चाहिन्छ । तर, संसारैभरि वृद्धतन्त्र हावी छ, नेपालमा त विशेषगरी हावी छ । युवाले पनि आजको चुनौती सम्झिनुपर्छ । राजनीति तत्कालको व्यवसाय होइन । जस्तो कि आज महामारी छ, अर्थतन्त्र धराशायी हुने अवस्था छ । अब युवा पुँजीवादी, समाजवादी, साम्यवादी जुनसुकै विचारधारामा आस्था राख्ने होस्, उसको विचारको टर्चले समस्याको समाधान देख्ने हुनुपर्छ । दोहो-याएर भन्छु, नेतृत्वमा युवा पहिलो अनिवार्य सर्त हो । नेतृत्व कम्तीमा दिनमा १४ घन्टा काम गर्न सक्ने शारीरिक रूपमा सक्षम व्यक्तिमा जानुपर्छ । सँगसँगै, उसमा नेपाली समाजको रूपान्तरणका लागि विश्वदृष्टि हुनु पनि अनिवार्य सर्त हो ।
झापामा सशस्त्र आन्दोलन सुरु गरेर आएका केपी ओलीले ठोरीमा अयोध्या खोज्नु उत्थान हो कि पतन हो ? उनी धार्मिक राष्ट्रवादमा सफल हुने देख्नुहुन्छ कि विफल हुने ?
तात्कालिक रूपमा जो कोही सफल देखिए पनि दीर्घकालमा त आदर्श, विचार र जिजीविषा नै पछ्याइन्छ । ओली अलिकति विशेष प्रकृतिको हुनुुहुन्छ । उनी झापा काण्डमा थिए, तर पार्टीभित्र व्यक्तिहत्या गर्नु हुँदैन भनेका थिए भनिन्छ । अरूले छुट्नका लागि प्रतिक्रियावादी अदालत किन जाने भनिरहँदा उनले मुद्दा हाले । ओली अलिक अप्ठेरा नै हुन् । ‘जेलमा घरबाट एक पैसा नआउने, तर ओलीलाई नै मिठो खानुपर्ने’ भनेर राधाकृष्ण मैनालीले लेखेका छन् । उनी आफ्नै खालको पढाकु छन् । मसँग भेट हुँदा दुई–तीन घन्टा कुरा हुन्थ्यो । उनी पढ्छन् र हठ पनि गर्छन् । कसैलाई आफ्नो समकक्षी नठान्ने हठवादी छन् । यो उनको समस्या नै हो । प्रचण्ड सहनशील छन् । कसैले कसैको त्यति अपमान नगर्ला, जति ओलीले प्रचण्डको अपमान गरेका छन् । संविधान निर्माणको अन्तिम चरणमा मसमेत उपस्थित बैठकमा उनले ‘यो संघीयताको कामै छैन’ भने । त्यहाँ प्रचण्डलाई अपमान गरेको चस्मदिद गवाह म छु ।
यस्ता मान्छे इतिहासमा आउँछन् र इतिहासलाई मोडेर जान्छन् । कसैले सकारात्मक दिशा दिन्छन्, कसैले नकारात्मक दिशा दिएर जान्छन् । नेपालको अहिलेको दिशा सकारात्मक छँदै छैन । ओलीजीलाई जिनपिङ, पुटिन र एर्दोगानले आजीवन खाने भइसके, म किन हुन नसक्ने भन्ने लागेको हुन सक्छ । तर, उहाँमा मुलुकबारेको बुझाइ कम रहेको महसुस भइरहेको छ । प्रधानमन्त्रीमै कायम रहनुलाई नै सफल हुनु भन्ने हो भने उनी सफल कि असफल भन्न सक्तिनँ, नत्र उनी चौतर्फी असफल छन् । उनी असफल त भए नै, उनको असफलताको भारी उनका उत्तराधिकारीहरूले पनि बोक्नुपर्ने भएको छ ।
अचेल ‘डेलिभरी’ शब्द खुब प्रयोग हुन्छ । सरकारले डेलिभरी गर्न सकेन, हामीकहाँ शासन व्यवस्था बदलिए, पात्र पनि थोरबहुत बदलिए, तर डेलिभरी भएन । किन त ?
शासन पद्धति बदलियो भनियो मात्र, खासमा बदलिएन । केही पात्र बदलिएका हुन् । सिडिओ, एसपी, मालपोत हेर्नुस् त– केही बदलिएका छैनन् । व्यवस्था भनेको माथिका दुई सयजना मान्छे होइनन् । मेरै जिल्ला (सिराहा)का कोरोनापीडितलाई उपचार गर्नुपरेपछि मैले सिडिओको मद्दत मागेँ, उनको फोन उठ्दैन । गृहमन्त्रीसँग कुरा गर्दा सिडिओसँग कुरा गर्नुस् भन्छन् । गृहमन्त्रीले सिडिओसँग कुरा गर्न भनेको बेहोरा ‘एसएमएस’ गरेर फोन गर्दा पनि सिडिओको फोन उठ्दैन । अब भन्नुस्, के बदलियो ? उही औद्योगीकरण, भूमण्डलीकरण, रेमिट्यान्सले चलेको अर्थतन्त्र आदि सबै उही छन् । इतिहासमा पढ्न पाइन्छ, कुनै राजाले दरबारको भुइँतलामा घण्टी राखेका हुन्थे रे, समस्या परे जनताले घण्टी बजाएपछि राजा तल ओर्लेर पीरमर्का सुन्थे रे । कुनै राजा सबैले खाना खाएको थाहा भएपछि बल्ल खान्थे रे । अहिले त पीरमर्का परे दरबारको घण्टी बजाउन पाइने सामन्तवादी व्यवस्था छैन, कम्तीमा ठूला करदाताले सम्मान पाउने पुँजीवादी व्यवस्था पनि यो होइन । यो खिचडी व्यवस्था हो, जसलाई डा. बाबुराम भट्टराईले भनेको ‘झड्केलो पुँजीवाद’ मलाई पनि मन परेको शब्दावली हो ।
जमिन फिर्ता ल्याउन सम्भव थियो, ओलीजीले त्यो बाटो बन्द गरिदिनुभयो । प्रधानमन्त्रीले भूमि फिर्ता ल्याउँछु भनेर गरेकै होइन, त्यो उनको राजनीतिक व्यवसाय हो ।
डेलिभरी गर्न त कार्यकारी प्रमुखसँग पदमा पुग्नुअगावै प्रारम्भिक खाका हुनुपर्छ । अनि पार्टी र सरकार दुवैको तल्लो तह बलियो हुनुपर्छ । गाउँको स्कुल, हेल्थपोस्ट सबैतिर उथलपुथल जरुरी छ । म मुलुकमा हुने कुनै किसिमको उथलपुथलको स्वागत गर्न तयार भई बसेको छु । अचेल सामाजिक सञ्जालले उथलपुथल गराउन खोज्छ । डा. गोविन्द केसी वा ‘इनफ इज इनफ’ले पनि गराउन सक्थे । तर, अलिकति वैचारिक आधार चाहिन्छ । प्रत्येक दिन संसार बदलिइरहेको छ । हिजो लेखिएका कुन किताब कोरोना महामारीमा काम लाग्यो ? समाजमा महिला धनी भए पनि पीडित छन् । दलित पीडित छन् । यौनमा भ्रामक धारणा छ । वातावरणको मुद्दा छन्। तर, अहिलेका जल्दाबल्दा यी कुनै पनि मुद्दा पार्टीको एजेन्डा बनेका छैनन् । पार्टी र सरकारले कैँचीको दुई धारजस्तो काम गर्नुपर्छ, अनि न डेलिभरी हुन्छ ।
सांसद्सम्म हुने, तर मन्त्री हुन नचाहने, पार्टीको केन्द्रीय समितिमा पुग्न रुचि राख्ने, पदाधिकारी नहुने प्रदीप गिरिको उदार लोकतन्त्रमा महत्व र भूमिका के–कस्तो हुन्छ ?
महत्व पनि जान्दिनँ, भूमिका पनि जान्दिनँ । तर, मजस्तै व्यक्ति चाहिएको छ । मन्त्री नभएर के भो, मन्त्रीमाथि नियन्त्रण गर्ने मान्छे चाहिएको छ । यसोभन्दा मलाई लज्जा पनि भइरहेको छ । शासन बन्दुक हैन, प्रतापले गर्छ । ‘यो मान्छेले बोल्यो त सत्य बोल्यो होला’ भन्ने नागरिकमा पर्नुुपर्छ । जनताले पत्याउने २० जनाले बोलिरहे सरकार ठेगानमा आउँछ । यसो भनिरहँदा मान्छेले मेरो कुरा पत्याउँछन् भन्ने दाबी गर्दिनँ । क्रान्तिकारी कुरा ग¥यो, त्यही कुरा भजाएर मन्त्री भइदियो । के हुन्छ ? पार्टीमा लागेको कुरा अनुशासनको कारबाहीको डर नमानी बेधक बोल्दिने मान्छे चाहिन्छ । गगन थापाले पार्टीले निर्णय नगरीकनै गणतन्त्रको नारा दिएको हुनाले उनी गगन थापा भए । कांग्रेसमा संघीयताको वकालत म र विमलेन्द्र निधिले सुरु गरेको हो । अन्ततः पार्टी सही मान्छेले बोलेकै ठाउँमा आउँछ । पार्टीमा रहने, पार्टीको सततः आलोचना गर्नेको खाँचो छ । १० वर्षपछिको सोचेर बोल्दिने मान्छे हरेक पार्टीमा चाहिन्छ । सबैजना पदको मुखापेक्षी भएर हँुदैन, पदको आकांक्षीले भन्नुपर्ने कुरा भन्न सक्तैनन् । ‘पार्टी जाओस् भाँडमा’ भनेर बोल्ने मान्छे चाहिन्छ ।
महामारीको यो समयमा सोध्नैपर्ने सोधिहालौँ, कोरोनापछिको विश्व व्यवस्थामा बदलावको सम्भावना कत्तिको देख्नुहुन्छ ?
‘मनुष्य त्यतिवेलासम्म बुद्धिमताको बाटोमा जाँदैन, जबसम्म मूर्खताको सबै दरबाजा बन्द हुँदैन’ भनिन्छ । कोरोनालाई धन्यवाद दिनुपर्ने एउटा कुरा छ, यसले मूर्खताको लगभग सबै दरबाजा बन्द गर्दै छ । करोडौँ रुपैयाँ थन्क्याएर राखे पनि काम त लाग्ने रहेनछ । हामी औद्योगीकरण, सहरीकरण र आधुनिकीकरणको समयदेखि गलत जीवनशैलीमा छौँ । कोरोनाले सबै समस्यामा पुनर्विचार गर्न बाध्य बनाइदिएको छ । औद्योगीकरण, आधुनिकीकरणका सबथोक त्याज्य भन्न खोजेको होइन । तर, कोरोनाले धेरै किसिमका उत्पादन प्रणाली, जीवनशैली त्याग्न भनेको छ । आफूलाई चाहिनेजति खाद्यान्न सुरक्षित राख्नु भनेको छ । माओवादी सशस्त्र विद्रोहले मान्छेलाई सहरमा ल्याइदियो । कोरोनाले गाउँतिर ठेल्दै छ।
हाम्रो सरकारको दक्षिण छिमेकीसँग अरुचि बढ्दो छ, उत्तरी छिमेकीसँग चाहिँ बढी नै लहसिएको देखिन्छ । यस्तोमा हाम्रा आगामी दिन कस्ता होलान् ? यसबाट कूटनीतिक सन्तुलन बिग्रिने त होइन ?
प्रधानमन्त्री ओलीले एकपछि अर्को गरी लिएका नयाँँ नक्सा, नागरिकता विधेयक र राम जन्मभूमिका निर्णय-वक्तव्य तीनवटै राष्ट्रहितभन्दा सत्तासंघर्षमा माथि पर्न लिइएका÷दिइएका हुन् । नयाँँ नक्सामा समावेश भूमि हाम्रै हो भन्नेमा सन्देह छैन । काली नदीपूर्व नेपाल हो । विवाद त काली नदीको मुहान कुन हो भन्नेमा न हो । यसमा दह्रोसँग पहिलो प्रतिवाद कांग्रेस (तत्कालीन प्रधानमन्त्री सुशील कोइराला)ले गरेको हो । भूमि त लिनु नै छ, तर यसको हल कूटनीतिमार्फत नै खोजिनुपथ्र्यो ।
०५६ सालको चुनावपछि किशुनजी (कृष्णप्रसाद भट्टराई) प्रधानमन्त्री नहुँदै म किशुनजीको दूतका रूपमा दिल्ली गएको थिएँ । तत्कालीन प्रधानमन्त्री अटलबिहारी वाजपेयीका राष्ट्रिय सुरक्षा सल्लाहकार ब्रजेश मिश्रलाई भेटेँ । मैले किशुनजी प्रधानमन्त्री भएपछि अहिले लिम्पियाधुरा–लिपुलेक–कालापानीको जमिन फिर्ता गरिदिन र भुटानी शरणार्थी फिर्ता लैजान सघाउन अनुरोध गरेँ । भारतले त्यति गर्दिए किशुनजीलाई शक्ति प्राप्त हुन्छ भनेँ । कालापानीमा भारतीय अतिक्रमण संसद्मा निकै जोडदार रूपले उठेको थियो । नारायणमान बिजुक्छे सबैभन्दा मुखर हुनुहुन्थ्यो ।
उनले ‘भुटानी शरणार्थीको कुनै समस्या नै भएन, कतिले नागरिकता लिइसके, कति कता–कता लागिसके, बाँकी रहेकालाई फर्काउन परे फर्काइदिऔँला’ भने । कालापानीको सन्दर्भमा उनले भने– ‘तपाईंंहरूले यो जमिन मेरो हो, भारतले मिचेको छ भनेकोभन्यै गरिरहँदा हामीले मिचेकै हो, त्यसैले फिर्ता गरिदिन्छौँ भन्न मिल्छ ? कसैलाई थाहै नदिई, सुटुक्क हटाउनु एउटा कुरा हो । दिनरात तपाईंंहरूले गाली गर्ने अनि हो हामीले मिचेको स्विकारेर अब फिर्ता लिऊ भन्न मिल्दैन ।’ वास्तवमा मौन कूटनीतिबाट मात्र समाधान गर्न सकिने विवाद हो, यो । जमिन फिर्ता ल्याउन सम्भव थियो, ओलीजीले त्यो बाटो बन्द गरिदिनुभयो । प्रधानमन्त्रीले भूमि फिर्ता ल्याउँछु भनेर गरेकै होइन, त्यो उनको राजनीतिक व्यवसाय हो । उहाँ मूल विषयलाई विषयान्तर गर्दै हुनुहुन्छ । उहाँको कार्यकालमा यो समस्या समाधान हुने कुरै छैन, त्यसपछिका सरकारका लागि पनि यो ‘नाकको भारी’बाहेक केही होइन । न हामीलाई चीनसँग लड्ने काम छ, न भारतसँग । हामीले त यी दुवै देशलाई विश्वासमा लिएर काम गर्नुपर्नेछ ।
पृथ्वीनारायण शाहले दिव्योपदेशमा नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’ भनेका छन् भनेर हामीले पढ्यौँ, अहिलेका बालबालिका पनि पढ्दै छन् । पृथ्वीनारायण शाहले काठमाडौं जित्दा (सन् १७६८) भारत अहिलेको जस्तै विशाल भारत थोडै थियो ? अनेक रजौटामा विभाजित थियो । इस्ट इन्डिया कम्पनी पाउ जमाउने प्रयासमा थियो । शिख–गोर्खाली मिलेको भए सारा भारत जित्ने अवस्था थियो । गोर्खाली टिस्टा–काँगडा पुग्दा प्रतिरोध थिएन । प्लासीमा इस्ट इन्डिया कम्पनीले जितेपछि अघि बढेको अंग्रेजले भारतका रजौटाहरूलाई जित्दै, आत्मसमर्पण गराउँदै विशाल भू–भागलाई आफ्नो अधीनस्थ बनाएको हो । भारत छोड्नुपर्ने भएपछि अंग्रेजले पाकिस्तान छुट्याएर बाँकी रजौटालाई भारतीय संघमा विलय गराउने सन्धिमा हस्ताक्षर गराए । हैदराबाद, जुनागढ, गोवामा सैनिक बल प्रयोग गरेर भारतीय संघमा विलय गराइयो । अनि, अहिलेको विशाल भारतको निर्माण भयो । नेपाल एकीकरण गर्दा हाम्रो उत्तरमा तिब्बत थियो कि चीन ? तिब्बतमा नेपालकै रजाइँ थियो । चीन पनि डरलाग्दो शक्ति थिएन । यसैले यो ‘दुई ढुंगाबीचको तरुल’ त चीनले तिब्बत लिइसकेपछि र भारत स्वतन्त्र भएपछि कसैले रचेको हो । तर, हामी अझै त्यही अवधारणामा अल्झिरहेका छौँ ।
भारतका लोकप्रिय प्रधानमन्त्री जवाहरलाल नेहरूमाथि कास्मिर समस्या छाडेर गएको आरोप मृत्युको ५६ वर्षपछि पनि लागिरहेको छ । कास्मिरको जे–जति भू–भाग भारतले कब्जा गरेको छ, त्यो भारतको र पाकिस्तानले कब्जा गरेको जति पाकिस्तानको भन्दिएको भए उहिल्यै समाधान भइसक्ने थियो भन्ने तर्क छ । तर, एउटा गल्तीलाई अर्को गल्तीले समाधान गर्न सक्तैन । यसैले ओलीले घाउ झन् कोट्याइदिनुभएको छ । नेपालको भारतसँग मात्र सम्बन्ध होइन, नेपाल–भारत–चीन सम्बन्ध हो । फेरि त्यति मात्र पनि होइन, वैश्विक सम्बन्ध हो ।
तपाईंं वैकल्पिक विचारधाराको कुरा गर्नुहुन्छ । वृद्धिदरको काम छैन भन्नुहुन्छ । त्यस्तो वैकल्पिक अभ्यास संसारमा कहाँ भइरहेको छ ? कतै भइरहेको छैन भने विचारधाराको खाका (ब्लुप्रिन्ट) बनाउने काम प्रदीप गिरिको कि शेरबहादुर देउवाको ? कि नवउदारवाद भन्दै आलोचना गरेकै भरमा पुग्छ ?
संसारमा कतै अभ्यास भएको छैन, तर संसारैभरि जागरण छ । नाफामुखी अर्थतन्त्र बनाउनु हुँदैन भन्ने, भूमण्डलीकरणको विरोध गर्ने जमात संसारैभरि छ । जिससको मृत्युको तीन सय वर्षसम्म इसाई भएकै कारण इसाईहरू मारिइरहेका थिए । कृषिप्रधान अर्थतन्त्र बनाउनुपर्छ, सहर हैन गाउँमुखी नीति हुनुपर्छ । जस्तै : अहिले सुकुमबासीको नाममा जो जहाँ बसेका छन्, एउटा निर्णय गरेर त्यति भोगचलनको सम्पत्ति तिनकै नाममा गर्दिए के बिग्रिन्छ ? आखिर जहाँ बसे पनि राज्यकै सम्पत्तिमा बसेका होलान्, राज्य त ती सुकुमबासीको पनि हो । हामी यतिवेला खतरनाक सन्धिकालमा छौँ । नयाँँ पुस्ताबाट एउटा उम्मिद छ । ती जागरुक, प्रगतिशील छन् । हामी समतामूलक समाज बनाउन उन्मुख भयौँ भने अरूले पनि शिक्षा पाउँछन् । हामीले बुद्धिजम संसारलाई दिएकै हो । अब लोकतन्त्रलाई पुनःपरिभाषित गरी मौलिक समाजवाद दिन किन नसकिने ? ‘इनफ इज इनफ’मा लागेका युवाले नयाँँ विचार दिन प्रयास गर्न सक्छन् । त्यसको नाम समाजवाद राख्न पर्दैन, प्रकृतिवाद, मानवतावाद, समतावाद जे राख्दा पनि हुन्छ । मलाई घरिघरि माओवादीको संघर्ष यसै खेर जान्छ जस्तो लाग्दैन । अहिले पनि एक हजार मान्छे त होलान् नि, जो मूल मुद्दामा अहिले पनि कायम छन् । यसैले वैकल्पिक विचारधाराले आकार ग्रहण गर्छ ।
टर्कीमा इस्लाम धर्मका साथै विशाल अटोमन साम्राज्य फिर्ता ल्याउनुपर्छ भन्ने नारामा एर्दोगानको उदय भयो । नेपालमा सशस्त्र कम्युनिस्ट विद्रोह गरेका केपी ओली राम जन्मभूमिको राजनीति गर्न थालेका छन् । भोलि टिस्टादेखि काँगडाको नेपाल बनाउँछु भनेर कोही आउला । यस्तो राष्ट्रवादको राजनीति सफल हुने सम्भावना कत्तिको छ ?
टर्की विश्वको धनी देशमा पर्छ । रणनीतिक ठाउँमा छ । गौरवशाली इतिहास छ । प्रथम विश्वयुद्धमा अटोमन साम्राज्यको पतन भएपछि मुस्तफा कमाल अतातुर्कले सेक्युलर टर्कीको निर्माण गरेका हुन् । तर, ब्रिटिसको देखासिकीमा सेक्युलर बनाउने नाममा मुस्लिमका दाह्री काट्नेसम्मका काम भयो, बलजफ्ती सेक्युलर बनाउने काम भयो । यस्ता सांस्कृतिक स्मृति जनतामा पछिसम्म रहन्छन्् । म सेक्युलर हुँ, तर यहाँ हिन्दू राष्ट्रलाई जसरी खारेज गरियो, बहस पुगेन । त्यही भएर हिन्दुत्व, हिन्दू राष्ट्रको मुद्दा मान्छेको दिल, दिमागमा रहिरहेको छ । यसैले एर्दोगानले इस्लामीकरण र राष्ट्रवादको नाराबाट शक्ति प्राप्त गरे । टर्कीमै कम्युनिस्ट र कुर्दको सशस्त्र विद्रोह छ । मुलुकका खास समस्या ढाकछोप गर्न राष्ट्रवाद प्रयोग हुने गर्छ । नेपालमा भोलि टिस्टादेखि काँगडाको नारा लगाउँदैमा कोही सत्तामा पुग्छ भन्ने लाग्दैन । भोलि अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प हारे भने विश्व व्यवस्थामा बदलावको सम्भावना देखेको छु ।
टर्कीमा राष्ट्रपति रेसेप तैयप एर्दोगानले ‘हागिया सोफिया म्युजियम’लाई मस्जिद बनाएर वाहवाही लुटिरहेका छन्, नरेन्द्र मोदी राम मन्दिरको शिलान्यास गरी सारा नाकामी छोप्दै छन् । सायद त्यही बाटो पछ्याउँदै हाम्रा प्रधानमन्त्री आफ्नै देशमा अयोध्या खोज्दै हुनुहुन्छ । धर्म र राष्ट्रवादको राजनीतिमा विश्व व्यवस्था नै कतातर्फ जाँदै छ ? यसको निरन्तरता कहिलेसम्म ? अहिले उदार लोकतन्त्र नै खतरामा परेको हो ?
राजनीतिलाई तात्कालिकताको व्यवसाय पनि भनिन्छ । बडो प्रचलित अभिकथन छ, ‘राजनीतिमा एक हप्तामा के–के हुन्छ भन्न सकिन्न ।’ विश्वमा भूमण्डलीकरणले बदलिदिएको विश्व व्यवस्थाको सम्बन्ध अहिलेको पुरातनवाद र जडवाद (फन्डामेन्टलिजम)सँग जोडिएको छ । यसको ऐतिहासिक पृष्ठभूमि बुझ्न बडो जरुरी छ । राष्ट्र कसरी उत्पन्न भयो भन्ने विषयमा कैयौ किताब छन् । युरोप कमसेकम पाँच सय वर्षसम्म धर्मयुद्धबाट आजित थियो । कुनै पनि राजाले कुनै राज्यमाथि सानै निहुँमा आक्रमण गर्थे । ‘हाम्रो धर्मका मतावलम्बीलाई दुःख दिइस्’ भनेर आक्रमण गरिदिन्थे । सन् १६४६–४८ मा विश्व राजनीतिमा परिवर्तन देखा पर्छ । पहिलोपटक ‘वेस्टफेलियाको सन्धि’ले राष्ट्रको अस्तित्व स्विकार्यो । ‘राष्ट्र भनेको राष्ट्र हो, कसैको बाउको सम्पत्ति पनि होइन, मनपरी पनि गर्न पाइँदैन’ भन्यो । ‘अब एक–अर्काको भूगोललाई अक्षुण्ण र पवित्र मानौँ, धर्मको नाममा हमला नगरौँ, समस्या भए वार्ताबाट समाधान निकालौँ’ भनियो । यहीँबाट राष्ट्र राज्यको वैधानिकता स्थापित भएको हो ।
दुनियाँको घनघोर दक्षिणपन्थीदेखि समाजवादी क्रान्तिसम्म युवाले नै गरेको हो । युवाले परिवर्तनको चाहना त गर्छन्, तर त्यो परिवर्तनको नेतृत्व गान्धीले गर्छन् कि गोड्सेले ? हिटलरले गर्छन् कि लेनिनले ? नेपाली युवाले यो सवाल पक्रेको देखिन्छ ।
तर, १९औँ शताब्दीको आरम्भमा त्यो व्यवहारमा परिणत हुन थाल्यो । नेपोलियनले विभिन्न देशमा आक्रमण गरे । राजाहरू भागे, तर जनताले मानेनन् । त्यसपछि ‘राष्ट्र भनेको राजा होइन, जनता हो’ भन्ने स्थापित भयो । अब अहिले आएर परिस्थिति बदलिएको छ । तपाईंंले भनेजस्तो उदारवाद खतरामा छ, तथाकथित बुर्जुवा लोकतन्त्र खतरामा छ । राष्ट्रवादको सैद्धान्तिक व्याख्या गरिए पनि युरोपको सन्दर्भमा त्यहाँ धेरै लडाइँ धर्मका नाममा ( क्याथोलिकविरुद्ध प्रोटेस्टेन्ट) भएको थियो । स्विडेनको राजा प्रोटेस्टेन्ट थियो, सारा खेल खेल्ने फ्रान्सको राजा क्याथोलिक थियो । त्यसपछि धर्मनिरपेक्षको बहस आयो । राजनीतिक स्वार्थले धर्मलाई ओझेलमा पारिदियो । त्यो करिब–करिब तीन सय वर्ष चल्यो । तर, भारत विभाजनका वेलामा मोहम्मद अलि जिन्नाले धर्मको नाममा पाकिस्तान बनाएर देखाए । १६४८ मा वेस्टफेलिया सन्धिपछि एकैचोटि १९४८ मा आएर धर्मको नाममा पाकिस्तान बन्यो ।
राष्ट्रियताको कमसेकम तीन चारवटा पद्धति छन् । एउटा त युरोपमा उत्पन्न भएको राष्ट्रियता । एउटै भाषा बोल्दा भाषा मात्रै बन्दैन, संस्कृतिको पनि निर्माण गर्छ । यसबीचमा बेनेडिक्ट एन्डर्सनले ‘इम्याजिन्ड कम्युनिटीज’ पुस्तक लेखेर प्रेसको आविष्कार भएपछि राष्ट्रवाद बलियो भयो लेखे । प्रेस आविष्कार हुनासाथ बाइबल छापियो । नेपालीमा छापिएको पहिलो किताब पनि बाइबल नै हो । अब भाषा एउटै हुँदा हामी भानुभक्त पढ्छौँ, मोतीराम पढ्छौँ, बाइबल पनि पढ्छौँ । त्यसले एउटा आकार ग्रहण गर्दै जान्छ भन्ने कुरा आयो ।
यस विषयमा मार्क्सवादी कोणबाट, पुँजीवादी कोणबाट व्यापक विमर्श भयो । सन् १९१४ मा लेनिनले ‘द राइट अफ नेसन्स टु सेल्फ डिटरमिनेसन’ किताब लेखे, अमेरिकाका राष्ट्रपति विड्रो विल्सनले ‘नेसनल सेल्फ डिटरमिनेसन’को अवधारणा अघि सारे । दुवैले आत्मनिर्णयको अधिकार चाहिन्छ भने । यसको वैश्विक राजनीतिक कारण थियो । त्यसबखत अटोमन साम्राज्य अनि अर्को अस्ट्रो–हंगेरियन विशाल साम्राज्य थिए । रसिया पनि विशाल थियो । लेनिनलाई क्रान्ति गर्नु थियो । अर्कोतिर प्रथम महायुद्धमा इंग्ल्यान्ड, फ्रान्स र अमेरिकाको गठबन्धन थियो । हामीले जित्यौँ भने आत्मनिर्णयको अधिकार तिमीहरूको आ–आफ्नो देश हुन्छ भन्दिएका थिए । लेनिनले मजदुरले बढी प्राथमिकता पाउनेमा जोड दिए । यसरी राष्ट्रवाद बहसमा आयो ।
पहिलो विश्वयुद्ध सिद्धिएपछि पूर्वी युरोपमा रुस सर्वेसर्वा भयो, अर्कोतर्फ अमेरिका सर्वेसर्वा । अटोमन र अस्ट्रो–हंगेरियन साम्राज्य विघटन भए । यसबीच, तेस्रो विश्वमा सबैभन्दा ठूलो आन्दोलन भयो– चीन, भारत, भियतनाम आदिमा । तेस्रो विश्वमा कम्युनिस्ट विचारधारा फैलिँदै गर्दा भारतमा गान्धी–नेहरू उदाए । अब प्रश्न उठ्यो, भारतमा त एउटा राजा छैन, संस्कृति पनि विविध छ । भारतलाई राष्ट्र मान्ने कि नमान्ने ? हिन्दुस्तानमा विकसित भएको राष्ट्रवादको भाषा र परम्परासँग कुनै सम्बन्ध छैन । द्वितीय महायुद्ध सकिनासाथ एकातर्फ यी गरिब मुलुकहरू आजाद भए, अनि राष्ट्रको परिभाषा पनि बदलिन थाल्यो ।
नेपाली कांग्रेसले यो कुरा सोचेकै थिएन । भाषा, संस्कृति र रीतिरिवाज एउटै भनेर किटेर लेखेको छ । नेपाली राष्ट्रिय कांग्रेसको स्थापना समुद्घाटन भाषणमा बिपीले भनेका छन्– ‘नेपाललाई भारतभन्दा भिन्न देश घोषित गर्दा ब्रिटिस साम्राज्यवादलाई मात्र फाइदा छैन, यसबाट हाम्रा देशका स्वेच्छाचारी शासकलाई पनि फाइदा हुन्छ । आज राजनीतिक दृष्टिकोणले जुन भिन्नता देखिन्छ, त्यसको मूलमा स्वार्थी राजनीतिको चालबाजी मात्र छ । वास्तवमा नेपाल र भारत दुई देश हुँदै होइनन् ।’ लामो समय भारतमा रहेर, भारतीय नागरिक बनेर, भारतमै बसेर राजनीति गर्छु भनेर अठोट गरेका बिपी २०१० सालको डायरीमा लेख्नुहुन्छ– ‘नेपाली कांग्रेसले राष्ट्रियताको महत्व नै बुझेको रहेनछ । हामीले ठूलो गल्ती गरेका रहेछौँ । यतातर्फ हामीले ध्यान दिनुपर्छ ।’
राजनीतिक, सामाजिक, आर्थिक कारणले राष्ट्रियताको परिभाषा अलिअलि बदलिएको छ । युरोपमा विकसित राष्ट्रवाद बेग्लै छ, भारतले जमानादेखि मानेको राष्ट्रवाद बेग्लै छ । चीनमा अर्कै खालको छ । विश्वभर यसबारेमा बहस जारी छ । विभिन्न देशमा राष्ट्रवादको नारा दिएर नेताहरू अधिनायकवादतर्फ बढिरहेका छन् र उदारवादको क्षय भइरहेको छ । ट्रम्पको उदय भएपछि, पुटिन सत्तामा टिकिराखेपछि, चीनमा सीले आफूलाई आजीवन राष्ट्रपति घोषणा गरेपछि तिनलाई राष्ट्रवादले के सजिलो पारेको छ भन्ने आजको विषय हो ।
जहिले पनि शासक अप्ठेरोमा परेको वेला धर्म, भाषा, भूगोलको नाममा घृणाको प्रचार गरेर जनताबाट सहयोग लिन्छन् । हाम्रो राष्ट्रवादको आधार त्यही बन्न गयो । यहाँ राष्ट्रवादभन्दा पनि एक प्रकारको भय छ । खासमा शासन लम्ब्याउन औजारको रूपमा प्रयोग गरिएको छ । तानाशाह चाहे नेपोलियन हुन् वा मुसोलिनी, कसैले पनि ‘तिमीहरूमाथि शासन गर्न तानाशाही लाद्छु’ भन्दैनन् । ‘मैले शक्ति लिन खोजेको तिमीहरूको रक्षाका लागि हो’ भन्छ । एउटा भूत देखाएर शासन गर्छ । भूमण्डलीकरणले ज्यादा पैसा ल्याएको छ, त्यो पैसाको असमान वितरण गरेको छ । त्यसले गर्दा अत्यन्त सानो समूह झन्–झन् बलियो हुँदै गइरहेको छ । अमेरिकामा हरेक वर्ष झन् थोरै मानिससँग झन् धेरै रकम केन्द्रित भइरहेको छ।
धनको केन्द्रीकरणको कारण आजको राज्य ठूल्ठूला कर्पोेरेट हाउसले चलाइरहेका छन् । हामीकहाँ चाहिँ बिचौलिया–तस्कर महत्वपूर्ण होलान् । अब लोकतन्त्रको सामान्य नियम के हो भने सानो समूहले धेरै मान्छेउपर शासन गर्न पर्यो भने काल्पनिक भूत खडा नगरी, पूर्वजन्म र राक्षस नबनाई शासन गर्न सक्दैन । अर्थात् मनुष्यलाई भ्रान्त नपारी शासन गर्न सकिन्न । अहिले कोरोना त्यस्तै राम्रो हतियार भएर निस्केको छ, शासकहरूका लागि । सानो समूहले धेरै मान्छेमाथि बुद्धि र विवेकका आधारमा शासन गर्न सक्दैनन् । तर्साएर, फकाएर, लोभ्याएर गर्ने हो । राष्ट्रवाद त्यस्तै एउटा चटक भएर देखा परेको छ । हामीजस्ता तथाकथित बौद्धिकमाथि पनि हीनताबोध आएको छ । जान्दाजान्दै पनि ‘यसमा बोल्नुहुँदैन, सबै एकातर्फ लागेका छन्’ भनेर डराउनुपर्ने अवस्था छ । तर, यो कुनै पनि कुरा एक दिनमा भएको होइन । भारतमा मोदीको उदय रातारात भएको छैन । अहिले भारतमा देखिएको हिन्दूत्ववादी मानसिकता विकास गर्न राष्ट्रिय स्वयंसेवक संघले झन्डै सय वर्षदेखि अनवरत काम गरिरहेको छ । उनीहरूले गान्धी हत्यामा पछुतो मानेका छैनन् । उनीहरू गान्धीको हत्या गरेको भन्दैनन्, ‘गान्धी वध’ भन्छन् । ‘गान्धीको वध किन गरेँ’ भनेर नाथुराम गोड्सेले लेखेका छन् । हिन्दू अतिवादीले हिन्दुत्वलाई बेच्ने वस्तु बनाएका छन् । यसको विरुद्धमा लड्ने वामपन्थी तथ्यमा टेकेर तार्किक खण्डन गर्ने होइन कि खारेज गर्छ । माक्र्सवादी, समाजवादी र उदारवादीले पनि अब भारत बदलिन सक्दैन, सिद्धियो भनिरहेका छन् । परिवर्तनका नाममा भएका आन्दोलनजति दक्षिणपन्थी भए । त्यसैको बुई राष्ट्रवाद चढेको छ ।
मार्क्सको सबैभन्दा ठूलो भूल उनले समाजवाद हाम्रै जीवनकालमा आउँछ भन्दिए । हाम्रा सबै संस्कार १० हजार वर्षको विकासक्रमबाट बनेका छन् । त्यो रातारात कसरी परिवर्तन हुन्छ ? उन्मादको कारण भूमण्डलीकरण हो, कथित राष्ट्रवादको कारण त्यही हो । चाउचाउ, मैदाको सट्टा मकै–भटमास खानुपर्छ भन्दै भाषण गरेर ताली खाइन्छ, तर घर पुगेपछि मकै–भटमास कसैले खाँदैन । घुमिफिरी उही मःम, चाउमिन, मैदाकै परिकार खान्छ । हाम्रो संस्कृति बिगारे भन्नेले परम्पराको शक्ति पाएको छ । तर, हामीले वैकल्पिक संस्कृति सुझाउन सकेका छैनौँ । राष्ट्रवादको नशा खतरनाक हुन्छ । त्यसको खराब परिणाम जर्मनीमा हिटलरको पालामा देखियो । सात दशकपछि यसको लहर आउनुको एउटा कारण भूमण्डलीकरण हो । मुलुकमा देखा परेका अनेक समस्यालाई दमन गर्न राष्ट्रवाद प्रयोग भएको छ ।
हाम्रा स्वास्थ्यमन्त्री कहिले सरकारको काम नदेख्नेलाई रतन्धो लागेको छ भन्छन्, कृष्णजन्माष्टमीको दिन सरकारको विरोध गर्नेलाई श्रीकृष्णले सद्बुद्धि दिऊन् भन्छन्। सरकारप्रति आलोचनात्मक चेत राख्ने हरनागरिकप्रति प्रधानमन्त्रीको टिप्पणी त्यस्तै हुने गर्छ । उदार लोकतन्त्रमा करदाताकै पैसामा सुविधा लिँदै करदातालाई होच्याउन पाइन्छ र भन्या ?
मुलुकको कार्यकारी प्रमुखका जुनखाले बोली, वचन र व्यवहार छन्, तिनमा टिप्पणी गर्न पनि आवश्यक ठान्दिनँ । मैले त आफ्ना निर्णय सही लाग्छन् भने ह्विप नलगाई संसद्बाट पारित गरेर देखाउनुस् भनेर प्रधानमन्त्रीलाई संसद्मै चुनौती दिएको छु । पार्टीका कार्यकर्ता, खासगरी सांसद बन्धकजस्ता भएका छन् । संविधानको रक्षक राष्ट्रपतिले एकदम अलोकप्रिय र अलोकतान्त्रिक प्रस्ताव एक घण्टा पनि नरोकीकन सहीछाप गर्दिनुहुन्छ । गर्न मिल्छ कि मिल्दैन, परामर्श त गर्न सकिन्छ । हिन्दीमा एउटा भनाइ छ, ‘करम भी होगा, धरम भी होगा, कलजुग में शरम नहोगा’ । हाम्रा प्रधानमन्त्रीका वक्तव्य, राष्ट्रपतिका व्यवहार सम्झिँदा म खुद लज्जित महसुस गर्छु ।