मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ २४ मंगलबार ०७:०२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मकवानपुर गोल्डकप : आर्मी सेमिफाइनलमा

Read Time : > 1 मिनेट
२०७९ जेठ २४ मंगलबार ०७:०२:००

सशस्त्र प्रहरी बलको टोली एपिएफ फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब हेटौँडामा जारी सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । दुई विभागीय टोलीको प्रतिस्पर्धात्मक पहिलो क्वार्टरफाइनलमा आर्मीले एपिएफलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गरेको हो ।

फ्रेन्ड्स क्लबलाई पराजित गर्दै एपिएफ क्वार्टरफाइनलमा पुगेको थियो भने आर्मी बाई पाउँदै एपिएफको प्रतिस्पर्धी बनेको थियो । खेलको सुरुवातमा दबाबमा राखेको आर्मीले एपिएफमाथि पहिलो हाफमा अग्रता जमाउन सकेन । ४०औँ मिनेटमा एपिएफको डिबक्सभित्र मानबहादुर रानाको ह्यान्ड भएपछि आर्मीले पेनाल्टी पाएको थियो । पेनाल्टीमार्फत सहज गोल गर्ने अवसर पाए पनि आर्मीले अग्रता लिन सकेन । आर्मीका विवेक बस्नेतले प्रहार गरेको पेनाल्टी एपिएफका गोलरक्षक राजु नगरकोटीले बचाउ गरे ।

 आर्मीको दबाबसँगै एपिएफले केही मौका गुमाएपछि गोलरहित बराबरीमा पहिलो हाफ सकिएको थियो । मध्याह्नपछि आक्रमक बनेको एपिएफले आर्मीको डिफेन्स लाइन पार गर्न नसक्दा गोल गर्ने अवसर गुमायो । खेलको ७५औँ मिनेटमा एपिएफका क्याप्टेन तोप विष्टले डिबक्सभित्र फल गर्दा आर्मीले दोस्रोपटक पेनाल्टीको अवसर पायो । आर्मीले दोस्रोपटक पाएको पेनाल्टीलाई दिनेश हेन्जोनले गोल गर्दै अग्रता दिलाए ।

खेल सकिन १५ मिनेट बाँकी रहँदा १–० गोल अन्तरले पछि परेको एपिएफले आर्मीमाथि थप दबाब दिन खोज्यो । खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा एपिएफका रवि थिङले प्रहार गरेको फ्रिकिक गोलपोस्ट नजिकबाट बाहिरियो । खेलको अन्तिम समयसम्म गोल गर्न प्रयासरत एपिएफले डिबक्सभित्रबाट बारम्बार गरेको प्रहार गोलमा परिणत हुन सकेन । 

अतिरिक्त समयको पाँचौँ मिनेटमा एपिएफका सब्टिच्युट खेलाडी युवराज खड्काले आर्मीका गोलरक्षक विकेश कुथूलाई झुक्याउँदै पोस्टनजिकबाट प्रहार गर्दा गोलमा परिणत भयो । युवराजको गोलसँगै एपिएफ अन्तिम समयमा आर्मीसँग १–१ को बराबरी खेल्न सफल भयो । बराबरी गोलपछि खेल टाइब्रेकरमा गएको थियो ।

 टाइब्रेकरमा चुके एपिएफका मणिकुमार
टाइब्रेकरमा एपिएफका मणिकुमार लामा गोल गर्न चुकेपछि आर्मीले जित हात पारेको थियो । मनीले गरेको प्रहार आर्मीका गोलरक्षक विकेश कुथूले बचाउ गरेका थिए । विकेशको बचाउका कारण आर्मीले एपिएफलाई ५–४ गोलअन्तरले पराजित गरेको थियो । आर्मीका तर्फबाट दीपक गुरुङ, सिमान्त थापा मगर, सन्तोष केसी, कमलबहादुर थापा र दिनेश हेम्जनले गोल गरे । एपिएफका तर्फबाट नवीन लामा, सुदीप सिख्राकार, सनिस श्रेष्ठ, रवि थिङले गोल गरेका थिए ।