१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
विजय पौडेल
२o८१ बैशाख २२ शनिबार o७:३६:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

वातावरण संरक्षण र पृथ्वीको अस्तित्व 

वातावरण एक जटिल प्रणालीसमेत भएकाले आजको आजै परिवर्तन सम्भव नहुन सक्छ, त्यसैले जोखिम न्यूनीकरण गर्दै पहलकदमी लिन ढिला गर्नु हुँदैन 

Read Time : > 3 मिनेट
विजय पौडेल
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:३६:oo

सन् १९५० को दशकसम्म आइपुग्दा वातावरण संरक्षणका नारा विश्वमा दरिलो रूपमा प्रस्तुत हुँदै थियो । सोहीअनुसार ७० को दशकसम्म आइपुग्दा वातावरणका सम्पूर्ण आयामका संरक्षण र संवद्र्धनको प्रगतिशील यात्रा प्रारम्भ भइसकेको थियो । पहिलो औद्योगिक युगबाटै जिम्मेवारी एवं दायित्व बुझिए पनि संरक्षण यात्राले भने गति वातावरण शिक्षाले आधिकारिकता पाएपश्चात् मात्र लिएको इतिहास देखिन्छ । सन् १९९२ मा भएको विशाल सम्मेलन, जसले २१ बुँदे वातावरणका थुप्रै एजेन्डासँगै कार्ययोजना पास गर्दै संरक्षण इतिहासको कोसेढुंगा साबित गरेको थियो । विडम्बना चर्का नाराले बजार तताए पनि व्यवहार र चिन्तन परिवर्तन नहुँदा अहिले मानव समाज जैविक विविधता वा वनस्पतिसम्म मात्र होइन, सिंगो पृथ्वी नै आफ्नो अस्तित्व बचाउको लडाइँ लड्नुपर्ने अवस्थासम्म आइपुगेको छ ।

वातावरणको अभिन्न अंग मानव समुदाय नै हो, यसर्थ यसको सन्तुलन र बचाउ गर्ने दरिलो अभिभारा मानवकै हुन जान्छ । तर, मानिसले आफूलाई सर्वेसर्वा सोच्दै प्रकृति र अझ पृथ्वीभन्दा पनि विशाल छु भन्ने दम्भ अँगाल्दै आफ्नो वास्तविक दायित्वबाट टाढै रहेको अवस्था छ । एकातिर तीव्र आर्थिक विकासको चाह र अर्कातर्फ विकासका नाममा गरिने दोहन पृथ्वीका निम्ति दुर्भाग्यपूर्ण अवस्था हो । कुनै पनि विकासमा वातावरणका आयामलाई नजरअन्दाज गरिँदा कतिसम्म असर र प्रभाव पार्न सक्छ भन्ने कुरा हालको विषम परिस्थिति नियाल्दा सहजै अनुमान लगाउन सकिन्छ । पछिल्लो एक दशकदेखि प्रत्यक्ष रूपमै असन्तुलित अवस्थामा देखापर्ने असर असरल्ल देखिएको छ, जसमा मुख्यतः जलवायु परिवर्तन, अतिवृष्टि, अनावृष्टि, मरुभूमीकरण, हरित ग्यास उत्सर्जनमा वृद्धिजस्ता थुप्रै समस्या देखा पर्ने गर्छन् । यस्तो अवस्थामा समेत मौन देखिएका हामी कति निर्लज्ज रूपमा समस्यालाई निर्मूल गर्नतिर लाग्नुको साटो अझ समस्या बढाउने पक्षमा उभिएका छौँ भन्ने देख्न र महसुस गर्न सकिन्छ । 

आज संसारभर विश्व वातावरण दिवस मनाइरहँदा हामीले आफ्नो व्यवहारमाथि प्रश्न गर्न सकेनौँ भने सदाजस्तै यी नारा, यी जागरण सबै निरर्थक साबित हुनेछन् । मानव जातिको प्रकृतिमाथि भइरहेको अनधिकृत उपभोग शैली तथा सम्पन्नताको कथित चाहमा अल्झिएर आज वातावरणमा आएको ह्रासको नैतिक जिम्मेवारी मात्र होइन, परिवर्तन गर्नेसम्म मानिस पछि पर्नुहुँदैन । विद्यमान नाजुक अवस्थाको प्रमुख कारक मानव समाजको संकीर्ण सोच र प्रभुत्व लिने होडमा आएको हो भन्नेमा अब द्विविधा रहेन । यस्तो अवस्थामा आजसम्म हामीले सकारात्मक परिवर्तन र यथास्थितिमा लैजान के गरेका छौँ त भन्ने प्रश्न हामीमाथि आउनु जायज हो ।

करिब दुई साताअगाडिको कुरा हो, सार्वजनिक यातायातको यात्राका क्रममा एक वृद्ध व्यक्तिको संवादले मेरो ध्यानाकर्षण गरेको थियो । उहाँले आफ्नो नजिकै बसेका एक युवकलाई आफ्नो वेलाको वातावरणीय अवस्था र सोही समयमा अहिले आएको परिवर्तनबारे चर्चा गर्दै हुनुहुन्थ्यो । उसो त वातावरण विज्ञानको अध्येता भएकाले उक्त संवादले मलाई आकर्षित गर्नु नौलो थिएन । तर, निर्धक्क रही वातावरण संरक्षणको अपरिहार्यता र केवल एक पृथ्वी रहेकाले मानव अझ थप संवेदनशील रहनुपर्छ भन्ने उहाँका केही वाक्यांशले मलाई थप गम्भीर बनायो । हरेक दिनजसो वातावरण संरक्षणका नारा लिँदै विभिन्न ठाउँमा विभिन्न भूमिका खेल्दै आएका हामीमाथि उहाँले अप्रत्यक्ष रूपमा गरेको नैतिक प्रश्न नितान्त सही थियो । 

वातावरण संरक्षण भनेको विकास गर्न नदिनु हो भन्ने समाजमा रहेको भ्रम हटाई हरेक विकासमा वातावरणीय आयामको दिगोपनाबारे सोच्ने हो भने विकाससँगै स्वतः वातावरणले पनि आफ्नो वास्तविक स्वरूप पाउने थियो

समस्यासँगै समाधानसमेत लुकेर बसेको हुन्छ । अहिले देखापरेका वातावणीय असन्तुलन र त्यसका घटनाक्रम रोक्न सम्पूर्ण मानव समाज र विश्व नै नलाग्ने हो भने अबको केही दशकमा पृथ्वीको अन्त्य तय जस्तै हो । समस्या न्यूनीकरण भन्दै आर्थिक पाटाहरू जोडिँदै गर्दा वास्तविक समस्यामा खर्च नभई व्यक्तिगत प्रलोभनमा खर्च हुँदा अलिअलि हुन सक्ने परिवर्तनसमेत रोकिएको विडम्बना अब लुक्नु हुँदैन । वातावरण एक जटिल प्रणालीसमेत हो । आजको आज परिवर्तन सम्भव नहुन सक्छ, तर जोखिम न्यूनीकरण गर्दै पहलकदमी लिने हो भने ढिला गर्नु हुँदैन । वातावरण र वातावरण संरक्षणका सबै आयामका निम्ति व्यक्तिगत तवरबाटै कार्यहरू गर्ने हो भने पनि धेरै समस्या हल हुन सक्छन् । नेपालजस्ता प्राकृतिक छटाहरूले सुशोभित राष्ट्रको यस किसिमको पहलमा मुख्य भूमिका रहन सक्छ । वातावरण संरक्षण भनेको विकास गर्न नदिनु हो भन्ने समाजमा रहेको ठूलो भ्रम हटाई हरेक विकासमा वातावरणीय आयामको दिगोपनाबारे सोच्ने हो भने विकाससँगै स्वतः वातावरणले पनि आफ्नो वास्तविक स्वरूप पाउने थियो । दीर्घकालीन विकासजस्ता अवधारणा आइरहँदा यसको कसिलो कार्यान्वयन हुने हो भने धेरै समस्या न्यून हुँदै जानेछन् । 

पक्कै पनि प्रकृतिको नियम मानव समुदायभन्दा धेरै विशाल र भीमकाय छ, तैपनि हामी एकोहोरो थलिएको प्रकृतिमाथि दमन गर्दा वेलावेला आउने विपत्ति नै कति खतरापूर्ण रहन सक्छ भन्ने सूचकले हामीलाई झस्काइरहेको छ । आखिर हामीले चाहेको के हो ? दीर्घकालीन विकास, जहाँ सुन्दर वातावरण होस्, हरेक जीवजन्तु खुलेर बाँच्न पाऊन् र सुन्दर, सरल क्रीडास्थल अनि त्यसका निमित्त हामीले ढिलासुस्ती गर्दै गए पृथ्वी दीर्घजीवी होला त ? कोभिड–१९ जस्ता विभिन्न वेला आउने महामारीसमेत प्रकृतिमाथिको दमनले सिर्जना भएको हो भन्ने तथ्य आइरहँदा मानव सभ्यता यस धर्तीमा रहला त ? यी प्रश्नको उत्तर खोज्न अबेला गर्नु हुँदैन ।

वातावरणका हरेक आयामको आफ्नै महत्व‍पूर्ण भूमिका रहेको हुन्छ, सबैको सन्तुलित चक्र नै दिगोपनाको स्वरूप हो । नीति–निर्मातादेखि लिएर हामी सबैले जवाफदेहिता देखाउन सके मात्र यो समस्या हामीले जरैदेखि निर्मूल गर्न सकिन्छ । पृथ्वीबाहिर जीवन खोज्ने होइन, यहाँ भएको जीवन बचाउन सके मात्र बल्ल सबैको भलाइ हुनेछ । प्रकृतिसँग खेल्ने होइन, प्रकृतिलाई सुसज्जित गर्दै दिगोपना खोज्नु आजको आवश्यकता हो । बढ्दो अव्यवस्थित सहरीकरण र औद्योगिकीकरण मात्र वातावरणमैत्री बनाउँदै परिमार्जन गर्दा धेरै समस्या हल हुँदै जान सक्छ । इन्धनको खपत घटाई विभिन्न ग्यासको उत्सर्जन कम गराउनु, जीवाश्म इन्धनको कम खपत गर्दै नवीकरणीय ऊर्जालाई प्रोत्साहन गर्ने हो भने छोटो समयमै ठूलो उपलब्धि हासिल हुन सक्छ । 

विश्व वातावरण दिवस मनाइरहँदा नारामा मात्र नभई व्यवहारमा सबै उतार्न सक्ने हो भने अवश्य पनि फेरि हामी सबैले पृथ्वीको नवीन सूर्योदय महसुस गर्न सक्नेछौँ । जनमानसमा यो अवस्थाको गाम्भीर्य बुझाउँदै चेतना छर्न सके पृथ्वीको सकिन लागेको आयुले पक्कै सञ्जीवनी बुटी पाउने थियो ।

ad
ad