काभ्रेको धुलिखेलमा अवस्थित काठमाडौं विश्वविद्यालयको २७औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न संकायका गरी एक हजार सात सय १२ जना विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित भएका हुन् ।
कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पिएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएका हुन्। उक्त दीक्षान्त समारोहमा पुरुष एक हजार ३२ तथा ६०.२८ प्रतिशत र महिलाको ६ सय ८० जना अर्थात् ३९.७२ प्रतिशत दीक्षित भएका हुन् । दीक्षित हुने विदेशी विद्यार्थी भारत, श्रीलंका, माल्दिभ्स, अमेरिका, अस्ट्रेलिया, चीन, बंगलादेश, नेदरल्यान्ड र जर्मनी गरी नौ देशका एक सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षता र आइआइटी हैदेराबादका निर्देशक बिएस्. मूर्तिको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कुलपति देउवाले खनिज पदार्थको पहिचान गरी विशेषज्ञता हासिल गरी देश विकासमा टेवा पुर्याएकामा धन्यवाद व्यक्त गरे ।
‘खनिज पदार्थको पहिचान गरी ग्रिन हाइड्रोजन उत्पादन व्यवस्थापन गर्नु आजको आवश्यकता हो त्यसमा विश्वविद्यालयले दक्ष प्राविधिकको उत्पादन गरेकोमा खुसी व्यक्त गर्दछु ।’ देउवाले भने, ‘जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न र जैविक विविधताको अनुसन्धानमा दक्ष जनशक्ति उत्पादन गरी मुलुकको विकासमा थप टेवा पुर्याउँछ भन्ने विश्वास लिएको छु ।’
स्वदेशभित्रै युगअनुसारको शिक्षा प्रदान गर्ने विश्वविद्यालयको उद्देश्य उनले बताए । विश्वविद्यालयले विभिन्न देशका विश्वविद्यालयहरूसँग सहकार्य गर्दै अगाडि बढेको पनि उनले बताए । विश्वविद्यालयमा हालसम्म ३८ हजार तीन सय ३६ उत्तीर्ण तथा दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलसहित विभिन्न शिक्षासेवीहरूको उपस्थिति रहेको थियो ।