१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १९ बिहीबार
  • Wednesday, 03 July, 2024
२o७९ जेठ १९ बिहीबार o८:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

चर्को गर्मीमा विद्युत् अनियमित  हुँदा सर्वसाधारणलाई सास्ती

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १९ बिहीबार o८:२५:oo

चर्को गर्मीमा विद्युत् अनियमित हुन थालेपछि यहाँ सर्वसाधारण मारमा परेका छन् । केही दिनयता कैलालीमा गर्मी अत्यधिक बढेको छ । यही वेला विद्युत् पटकपटक जाने–आउने भइरहँदा नागरिकले सास्ती भोग्नुपरिरहेको छ ।

प्रदेश राजधानी धनगढीमा मंगलबार रातभर विद्युत् थिएन । बेलुकी साढे आठ बजेतिर गएको विद्युत् बिहान तीन बजे आएको थियो । चर्को गर्मीमा सुत्न नसकेपछि आक्रोशित स्थानीय राति ११ बजे विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र घेराउ गर्न पुगेका थिए । विद्युत् नहुँदा गर्मी असैह्य भएपछि स्थानीय राति कार्यालय घेराउ गर्न पुगे । दिउँसोको समयमा पनि यहाँ बारम्बार विद्युत् अवरुद्ध हुने गरेको छ ।

परीक्षाको समयमा राति विद्युत् अवरुद्ध हुन थालेपछि विद्यार्थीहरू मारमा परेका छन् । छिनछिनमा विद्युत् आउने–जाने गर्नाले सर्वसाधारणले सास्ती भोग्नेसँगै विद्युतीय उपकरण बिग्रने जोखिम बढेको छ । उद्योग, प्रतिष्ठानहरूको उत्पादन प्रभावित बनेको छ । 

अघोषित लोडसेडिङले सास्ती खेप्नु परिरहेको धनगढीका स्थानीय देवीलाल जोशीले बताए । ‘यस्तो गर्मीमा पंखा नलगाई बस्न सकिँदैन । तर, विद्युत् आउने जाने भइरहन्छ,’ उनले भने, ‘बालबालिका, बिरामीलाई झन् बढी समस्या छ ।’ अघोषित रूपमा लोडसेडिङ भइरहे पनि विद्युत् प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक नगरेको उनले बताए । ‘बत्ती आउने–जाने भइरहँदा गर्मीले राति सुत्न नसक्ने अवस्था हुन्छ,’ उनले भने । पावर घटबढ हुँदा फ्रिज, टिभी बिग्रने जोखिम रहेको जोशीले बताए ।

धनगढीका अर्की स्थानीय यशोदा अवस्थीले चर्को गर्मीमा विद्युत् अनियमित हुँदा पनि विद्युत् प्राधिकरणले समस्या समाधानमा ध्यान नदिएको गुनासो गरिन् । फोनमार्फत पटकपटक गुनासो गरे पनि कार्यालयले सुनुवाइ नगरेको उनले बताइन् । ‘पंखा नचलाई बस्न सकिन्न । हुनेखानेहरू इन्भर्टर राख्लान्, हामीजस्ता सर्वसाधारण मारमा परेका छौँ,’ उनले भनिन्, ‘गर्मीका वेला विद्युत् नियमित गरिदिनुप¥यो । विद्युत् प्राधिरणले जनताको समस्या बुझ्नुपर्छ ।’ गर्मीबाट बालबालिकालाई जोगाउन मुस्किल भएको उनले बताइन् ।

बारम्बार विद्युत् अवरुद्ध हुनाले व्यावसायिक क्षेत्र पनि प्रभावित बनेको छ । विद्युत् अनियमित हुँदा उद्योगहरूमा क्षमताअनुसार उत्पादन हुन नसकेको व्यवसायीले बताएका छन् । कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले अघोषित लोडसेडिङको मारमा यहाँका उद्योगहरू पनि परेका बताए । यसले उद्योगहरूको उत्पादन क्षमता घटेको उनले बताए ।

‘उद्योगका उपकरणहरू बिग्रने जोखिम पनि छ । विद्युत् सेवा नियमित गर्न विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराएका छौँ,’ उनले भने । विद्युत् प्राधिकरणले पुराना ट्रान्सफर्मर बदल्न नसक्दा ‘पावर लो’ हुने समस्या पनि छ । दैनिक लोडसेडिङ भइरहेको भए पनि विद्युत् प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरेको छैन । विद्युत् सेवा नियमित गर्न माग गर्दै विभिन्न संघसंगठनले प्राधिकरणको ध्यानाकर्षण गराएका छन् ।

‘खपत बढ्दा पुरानो तारले धान्न सकेन’
खपत बढेर धान्न नसक्दा विद्युत् आउने–जाने भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ओभरलोड भएर गेटामा प्रसारण लाइनको तार जलेपछि मंगलबार रातभर धनगढीमा विद्युत् अवरुद्ध भएको हो । विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जंगबहादुर चन्दले विद्युत्को खपत बढी हुँदा फिडरले धान्न नसकेर विद्युत् अवरुद्ध हुने समस्या देखिएको बताए । 

‘गर्मीमा विद्युत्को खपत बढ्यो, पुराना तारले धान्न सकेनन् । कुनै वेला ओभरलोड भएर पनि विद्युत् जान थाल्यो,’ उनले भने, ‘ट्रान्समिटरको क्षमता बढायौँ, तर तारको क्षमता बढेन । वर्षौँ पुरानो तार अपग्रेड हुन सकेन । यसले विद्युत् अनियमित भएको हो ।’ यही कारण कतिपय ठाउँमा लो भोल्टेजको समस्या देखिएको चन्दले बताए । केही ठाउँमा सुधार गरेर विद्युत् नियमित गर्ने प्रयास भइरहेको बताए । १३२ केभी प्रसारण लाइनमा ओभरलोड हुँदा पनि विद्युत् आउने–जाने भइरहेको उनले बताए । ‘ओभरलोड हुँदा एमसिपी अफ हुन्छ । कहिलेकाहीँ सिस्टमबाटै पनि विद्युत् गइरहेको हुन्छ,’ चन्दले भने ।

सुदूरपश्चिममा अहिले चमेलिया जलविद्युत् आयोजनाबाट ३० मेगावाट तथा नौगाड र अपी जलविद्युत् आयोजनाबाट १६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । प्राधिकरणको प्रादेशिक कार्यालयका अनुसार टनकपुर नाका भएर अहिले भारतबाट दैनिक ५० मेगावाट विद्युत् आयात भइरहेको छ । 

ad
ad
ad
ad