मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १८ बुधबार १६:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसलाई पनि एमालेलाई जसरी ठेगान लगाउने दिन नआओस् : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ १८ बुधबार १६:३४:००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई नेकपा एमालेले जस्तो अहंकार र दम्भ नदेखाउन आग्रह गरेका छन्। माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई राजधानीमा सम्बोधन गर्दै उनले माओवादीलाई कमजोर नसोच्न आग्रह गरेका हुन्।

‘हिजो एमालेमा धेरै अहंकार देखिँदा हामी त्यसको विरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा पुग्याैँ । अहिले कांग्रेसको फेरि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ,’ उनले भने, ‘हामीले प्रधानमन्त्री बनायौँ । तर, हामी चिन्तित छौँ यतिवेला,’ अध्यक्ष प्रचण्डले भने, ‘फेरि कांग्रेस पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही नि होइन, स्थानीयमा पनि धेरैजसो ठाउँमा ठेगान लगाइयो । अब प्रदेश र संघमा पनि ठेगान लाउने भन्यो भने हामीले फेरि एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई लगाउने दिन नआओस्।’

त्यस्तै, उनले आफूहरू गठबन्धन कायमै राखेर प्रदेश र संघको निर्वाचनसम्म जाने पनि बताए ।  ‘हामी गठबन्धन कायमै राखेर जान चाहन्छौँ । यो द्विविधामा कोही पनि नपर्नुहोला । मेरो भनाइबाट अर्को अर्थ नलगाउनुहोला,’ उनले भने। 

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादीको जस्ता कुरा गरेर  स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन जितेको दाबी पनि गरे । उनले स्वतन्त्रले देश चलाउँछन् भन्ने भ्रममा नपर्नसमेत आग्रह गरे। ‘काठमाडौं र धरानचाहिँ अलि भिन्न छन् । उनीहरूले माओवादीको जस्तो कुरा गरेका छन् । त्यसो भएर जनताले मत दिएको हो,’ उनले भने, ‘हामीले राम्रोसँग नगरेको देखेपछि जनताले सबक सिकाएजस्तो लाग्छ, त्यसलाई नकारात्मक रूपमा लिने कुराको केही अर्थ हुँदैन। अहिले यो देशमा पार्टी सिस्टम कमजोर बन्ने, स्वतन्त्रको राज्य चल्ने भन्ने यो बिलकुल हुन सक्ने कुरा होइन।’