बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलकुदका गतिविधि भइरहने ठाउँमा खेलकुद पूर्वाधारको विकासका लागि आफूले सक्दो ध्यान दिने बताएका छन् ।
छैटाैँ संस्करणको बकैया कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुद गतिविधि भइरहने ठाउँमा पूर्वाधारको व्यवस्थापन गर्नु आफ्नो कर्तव्य भएको बताए ।
‘म मन्त्री भएर आएदेखि नै बकैयामा विभिन्न खेलकुद प्रतियोगिता भइरहेको देखेको छु । यहाँ पूर्वाधारको आवश्यकता छ । म आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा बकैयालाई विशेष ध्यान पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछु,’ मन्त्री महर्जनले भने ।
उनले बकैया रंगशालाको निर्माण र पूर्णता दिने विषयलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने दाबी गरे । आफू मन्त्री बन्दा बजेट बनिसकेको र यसअघि खेलकुद बुझेको व्यक्ति मन्त्री नबन्दा बजेट प्राथमिकतामा नपरेकाले तत्काल सहयोग गर्न सक्ने अवस्था नरहेको उनको भनाइ थियो ।
मन्त्री महर्जनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा बकैया रंगशालालाई विशेष प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । बकैयामा नियमित खेलकुद गतिविधि भइरहेकाले यहाँको पूर्वाधार विकासमा ध्यान दिनु आफ्नो दायित्व भएको मन्त्री महर्जनको भनाइ थियो ।
बकैया– ३ स्थित बकैया रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सिनियरतर्फको वडा नम्बर ३ र ७ बिच प्रतिस्पर्धा भएको छ । बुधबार दुई टिमले निर्धारित खेल समयको पहिलो हाफ खेलेका छन् । प्रतिकूल मौसमका कारण दुई टिमबिचको बाँकी समयको खेल आज बिहीबार बिहान खेलाइने आयोजकले जनाएको छ । हिजो खेल स्थगित हुँदासम्म ३ नम्बर वडा १–० गोल अन्तरले अघि छ । वडा नम्बर ३ का लागि छेवाङ लामाले पहिलो हाफको तेस्रो मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो खेलमा वडा नम्बर ४ र १० बिच हुनेछ भने दोस्रो खेलमा दिउँसो ३ बजे वडा नम्बर ६ र ८ बिच हुनेछ ।
माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले एक लाख रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैैयाँ प्राप्त गर्नेछन् ।