शुक्रबारदेखि प्रदर्शनमा आएको ‘कबड्डी–४’ ले पहिलो दिनमा सर्वाधिक व्यापार गर्ने नेपाली सिनेमाको रेकर्ड बनाएको छ । वितरक गोविन्द शाहीका अनुसार पहिलो दिन शुक्रबार तीन करोड पाँच लाख संकलन गरेको फिल्मले दोस्रो दिन तीन करोड ९५ लाख संकलन गरेको थियो ।
यस्तै तेस्रो दिन दुई करोड ९५ लाख कमाइ गरेको उनले बताए । फिल्मको प्रदर्शनमा आएको तीन दिनमै नौ करोड १५ लाख व्यापार गरेको वितरक शाहीको दाबी छ । सोमबार र मंगलबारको सो र अकुपेन्सी व्यापारले आगमी शनिबारसम्म १४–१५ करोड व्यापार गर्ने उनको अनुमान छ । आइतबार र सोमबार देशभरका मल्टिप्लेक्स र सिंगल थिएटरमा सिनेमा हाउसफुल रहेको उनले बताए । उनी भन्छन्, ‘सोमबार पनि उपत्यका र उपत्यकाबाहिरका मल्टिप्लेक्स र सिंगल थिएटरमा फिल्म हाउसफुल थियो ।’
करिब तीन करोड लगानीमा बनेको फिल्मले सार्वजनिक प्रदर्शनअघि नै विदेश र डिजिटल अधिकार बिक्रीबाट लगानी सुनिश्चित गरेको थियो । कबड्डी–४ नेपाली सिनेमा इतिहासमै एकैदिन सर्वाधिक व्यापार गर्ने फिल्म बनेको वितरक मनोज राठीको दाबी छ । उनका अनुसार यो फिल्म उपत्यका र उपत्यकाबाहिर गरी क्युएफएक्सका सबै सो र अन्य हलमा पनि प्रदर्शन भइरहेको छ ।
रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायत कलाकारको अभिनय छ ।