मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १६ सोमबार
  • Tuesday, 17 December, 2024
मुना कुँवर काठमाडाैं
२o७९ जेठ १६ सोमबार o८:४५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय गौरव आयोजनाका मुख्य सडक प्राथमिकतामा

मुख्य पाँच सडक आयोजनालाई दुई खर्ब ६० अर्ब रुपैयाँ बजेट विनियोजन

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ १६ सोमबार o८:४५:oo

आगामी आर्थिक वर्ष ०७९/८० का लागि सरकारले राष्ट्रिय गौरवका मुख्य पाँच सडक आयोजनालाई दुई खर्ब ६० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दै राष्ट्रिय गौरव आयोजनाअन्तर्गतको मुख्य सडक आयोजनालाई प्राथमिकता दिएको हो । 

 पूर्व–पश्चिम राजमार्ग 
सरकारले पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिका लागि ३० अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई कम्तीमा चार लेनको एसियन हाइवेको स्तरमा स्तरोन्नति गर्ने नीतिअनुरूप बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डको निर्माण कार्यलाई तीव्रता दिने सरकारको योजना छ । साथै, काँकडभिट्टा–लौकही, पथलैयाँ–कमला तथा पथलैया–नारायणगढ खण्डको निर्माण कार्य सुरु गर्ने बजेटमा उल्लेख छ ।

 फास्ट ट्र्याक
सरकारले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणका लागि ३० अर्ब सात करोड विनियोजन गरेको छ । कुल ७२.५ किलोमिटर लम्बाइ रहेको फास्ट ट्र्याक निर्माणका लागि एक खर्ब ७५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । आयोजनालाई हाल ११ प्याकेजमा विभाजन गरी काम भइरहेको छ । चालू आवमा भने सो आयोजनाका लागि आठ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

 हुलाकी राजमार्ग
हुलाकी राजमार्ग निर्माणका लागि सरकारले ६ अर्ब सात करोड रुपैयाँ बजेट छुट्याएको छ । तीन सय किलोमिटर सडक कालोपत्रे र २४ वटा पुलका लागि उक्त बजेट विनियोजन भएको हो । साथै, ६७ वटा पुल निर्माणको कार्य सुरु गरिनेछ । चालू आवमा सो आयोजनाका लागि ६ अर्ब ३९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

 पुष्पलाल (मध्यपहाडी) राजमार्ग
पुष्पलाल राजमार्ग निर्माणका लागि सरकारले आगामी आर्थिक वर्षलाई  नौ अर्ब  ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मध्य पहाडका २६ जिल्लाहरूलाई सडक सञ्जालमा आबद्ध गर्न निर्माणाधीन पुष्पलाल मध्य पहाडी राजमार्गको दुई सय ३५ किलोमिटर कालोपत्रे र १६ वटा पुल निर्माण गर्न सो रकम विनियोजन गरिएको हो । सो आयोजनाका लागि चालू आवमा आठ अर्ब १३ करोड रुपयाँ बजेट विनियोजन गरिएको थियो ।

 मदन भण्डारी राजमार्ग
सरकारले मदन भण्डारी राजमार्ग निर्माणका लागि दुई अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो आयोजनाका लागि चालू आवमा तीन अर्ब २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सरकारको योजना अनुसार झापाको बाहुनडाँगीदेखि डडेल्धुराको रुपालसम्म भित्री मधेस क्षेत्रमा अवस्थित ठूला उपत्यका जोड्न निर्माणाधीन मदन भण्डारी राजमार्गको गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, सल्यान, सुर्खेत खण्ड स्तरोन्नति गरिनेछ । 

त्यस्तै, आगामी आवका लागि राष्ट्रिय गौरवका आयोजना कालीगण्डकी, कोसी र कर्णाली करिडोरको निर्माण एवं स्तरोन्नति कार्यलाई निरन्तरता दिँदै लैजाने सरकारको योजना रहेको छ । यस आयोजनाका लागि चार अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । कर्णाली करिडोरमा बाँकी ट्र्याक खोल्ने कार्य सम्पन्न गरी आगामी वर्ष हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारको योजना रहेको छ ।