मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ ११ बुधबार ०९:०२:००
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

लमजुङका पालिकाप्रमुख महिलाविहीन 

Read Time : > 1 मिनेट
२०७९ जेठ ११ बुधबार ०९:०२:००

लमजुङका आठ स्थानीय तहको प्रमुखमा सबै पुरुष नेतृत्व निर्वाचित भएका छन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा उपप्रमुख तथा उपाध्यक्षमा भने पाँचजना महिला निर्वाचित भएका छन् । जिल्लामा पालिकाप्रमुखका लागि राजनीतिक दलले एक मात्र महिला उम्मेदवार अघि सारेको थियो ।

जिल्ला सदरमुकाम रहेको बेँसीसहर नगरपालिका प्रमुखका लागि मंगोल नेसनल अर्गनाइजेसनले महिला उम्मेदवार अघि सारे पनि निर्वाचन नतिजाअनुसार ती उम्मेदवार पराजित भएसँगै पालिकाप्रमुखमा महिला सहभागिता शून्य भएको छ ।

जिल्लामा ठूला राजनीतिक दलले पालिकाप्रमुखमा महिलालाई उम्मेदवार नै बनाएनन् । उपप्रमुख तथा उपाध्यक्षमा समेत सत्तागठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीले महिलालाई उम्मेदवार बनाएनन् । नेकपा एमालेले भने आठवटै पालिका उपप्रमुख तथा उपाध्यक्षमा महिला उम्मेदवार बनाएको थियो । 

सदरमुकामसमेत रहेको बेँसीसहर नगरपालिका उपप्रमुखमा एमालेबाट पदमा गुरुङ निर्वाचित भएकी छिन् । यसैगरी जिल्लाको सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकाले पनि महिला उपप्रमुख पाएको छ भने गाउँपालिकातर्फ मर्स्याङ्दी  र क्व्होंलासोथरले उपाध्यक्षमा महिला नेतृत्व पाएको छ ।

सुन्दरबजार नगरपालिका उपप्रमुखमा एमालेबाट भवानी केसी निर्वाचित भएकी छिन् । सुन्दरबजार उपप्रमुखमा यसअघि पनि महिला नेतृत्व रहेको थियो । यसअघि पालिका उपप्रमुखमा पुरुष नेतृत्व रहेको मध्यनेपालमा भने यसपटक महिला उपप्रमुख चुनिएकी छिन् । मध्यनेपालको उपप्रमुखमा सीता गुरुङ निर्वाचित भएकी छिन् । मर्स्याङ्दी गाउँपालिकामा पनि ०७४ काे निर्वाचनमा पुरुष प्रतिनिधि चुनिएका थिए । यसपटक भने उपाध्यक्षमा महिला नेतृत्व आएको छ । मर्स्याङ्दी  गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट जुनामाया थापा निर्वाचित भएकी छिन् । 
 
जिल्लाको क्व्होंलासोथर गाउँपालिका उपाध्यक्षमा एमालेबाट गमिमाया गुरुङ निर्वाचित भएकी छिन् । ०७४ मा लमजुङमा एक पालिकाप्रमुख र चार उपप्रमुखमा महिला निर्वाचित भएका थिए । स्थानीय तह निर्वाचन ऐन, २०७३ को मर्म भए पनि दलहरूले तालमेलका नाममा महिलालाई प्रमुख वा उपप्रमुख पदमा स्थान नदिँदा यसपटक लमजुङमा स्थानीय तह प्रमुख महिला नेतृत्वविहीन हुन पुगेको छ ।