मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १० मंगलबार
  • Sunday, 22 December, 2024
सेटा टुटुन्डजिया
२o७९ जेठ १० मंगलबार o७:४१:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भोकमरी संकटतर्फ उन्मुख विश्व

देश/परदेश

Read Time : > 2 मिनेट
सेटा टुटुन्डजिया
नयाँ पत्रिका
२o७९ जेठ १० मंगलबार o७:४१:oo

दीर्घकालीन खाद्य एवं पोषण सुरक्षा सुनिश्चित गर्न हामीले सीमान्तकृत मानिसका चिन्तालाई ध्यानमा राख्ने क्षेत्रीय र अन्तर्राष्ट्रिय समाधान खोज्न सकेनौँ भने भोकमरी, आप्रवासन र हिंसाको अस्थिर चक्र जारी रहनेछ 

विश्वभर खाद्यान्नको मूल्य आकासिएको छ । अत्यावश्यक खाद्यवस्तु क्रमशः अनाज, मासु, दुग्धपदार्थ, वनस्पति तेल र चिनीलाई समेट्ने राष्ट्र संघको खाद्य तथा कृषि संगठनको खाद्य मूल्य सूचकांक मार्चमा एक सय ४१ दशमलव एकबाट बढेर एक सय ५९ दशमलव सातको हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।

अप्रिलमा भने सूचकांक थोरैले घटे पनि युक्रेनमा रुसी युद्धलगायत घटनाक्रमले खाद्यान्नको मूल्य नयाँ उचाइमा पुग्ने आकलन गरिएको छ र विश्व भोकमरीमा भयावह परिणाम निम्तिने देखिन्छ । 

कोभिड–१९ महामारीले विश्वको खाद्य प्रणालीको कमजोरी र कार्यक्षमतालाई उजागर गर्‍यो र त्यसमा आवागमन प्रतिबन्ध र आपूर्ति–शृंखलाको अवरोधले मूल्य बढायो, जसले ग्रामीण जीविकालाई नष्ट गरिरहेको छ, विशेषतः विपन्नमाझ खाद्य असुरक्षा बढाएको छ । दुवै पक्ष खाद्यान्न, पेट्रोल र मलका ठूला निर्यातकर्ता भएकाले युक्रेन युद्धले खाद्यान्न समस्यालाई बढाइरहेको छ ।

अर्कातर्फ लु, बाढी र लामो समयसम्म चल्ने खडेरीजस्ता जलवायु परिवर्तनका मौसमसम्बन्धित घटनाक्रमले विश्वव्यापी खाद्य सुरक्षामा ठूलो धक्का पुर्‍याएको छ । तापक्रम बढ्दै जाँदा यी धक्का दोहारिरहनेछन् र शक्तिशाली बन्दै जानेछन् । यदि विश्व औसत तापमान एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा नाघ्छ भने नतिजा प्रलयकारी हुन सक्छ । हालैको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्चका अनुसार औसत तापमान वृद्धि रोक्न छिटो एवं कठोर कदम चाल्न आवश्यक हुन्छ ।

यसबाहेक जोखिममा रहेका समुदायलाई विद्यमान तापक्रम वृद्धिबाट जोगाउन ठूलो मात्रामा अनुकूलन प्रयास आवश्यक पर्ने देखिन्छ । सबैभन्दा सकँरात्मक प्रयास र पहलकदमीका बाबजुद विश्व तापमान वृद्धिले एक दशकमा एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा पार गर्ने अनुमान गरिएको छ । नतिजा जलवायु क्षेत्रहरू सर्नेछन्, समुद्रको सतह बढ्नेछ, र जलचक्र अवरुद्ध हुनेछ, त्यसैगरी प्रतिकूल मौसमको आवृत्ति र तीव्रता बढ्नेछ । आर्थिक र स्वास्थ्य जोखिममा वृद्धिबाहेक खाद्य र जल आपूर्तिमा हुने अवरोधले सामाजिक र राजनीतिक उथलपुथललाई निम्त्याउने सम्भावना छ । नतिजा गरिबी, भोकमरी, अस्थिरता र द्वन्द्वको दुष्चक्र दिनानुदिन बढिरहने र त्यसमा बसाइँसराइमा तीव्र वृद्धि हुने देखिन्छ ।

जुनसुकै जलवायु न्यूनीकरण वा अनुकूलन रणनीतिले बलियो, दिगो र समतामूलक खाद्य प्रणालीलाई समावेश गर्नैपर्छ । यस्तो प्रणाली स्थापना गर्दा विशेषतः कमजोर माटो, न्यून कृषि मूल्य भएको जमिन, त्यसैगरी पानीजस्ता प्राकृतिक स्रोत दुर्लभ वा दूषित भएको र सामाजिक–आर्थिक अवस्था गम्भीर रहेका मुलुकका अप्ठ्यारालाई बेवास्ता गर्नुहुँदैन । यी क्षेत्रले स्थानीय जनताको पोषणको माग पूरा गर्न दिगो रूपमा पर्याप्त खाद्य उत्पादन गर्न सक्दैनन् । जब कि यी क्षेत्र विश्वको जनसंख्याको पुगनपुग २५ प्रतिशत मानिसको घर हो, अर्थात् अनुमानित एक अर्ब ७० करोड मानिसको घर हो । र, यो तप्काको जनसंख्याले विश्वकै गरिब र कुपोषितको बहुमत अर्थात् ७० प्रतिशत हिस्सा ओगट्छ । 

गरिबी र भोकमरीले किसानलाई अल्पकालीन समाधानका लागि नाजुक वातावरणीय स्रोतहरूको अत्यधिक प्रयोग गर्न प्रेरित गर्न सक्छ । उसो त अल्पकालीन समाधान रोज्नु भनेको खेत नष्ट गर्नु र आफ्नै परिवार र समुदायलाई दीर्घकालीन रूपमा गरिब बनाउनु हो । यद्यपि अपर्याप्त पूर्वाधार, वैकल्पिक आर्थिक सम्भावना र बजारको पहुँचबाट टाढाका ठाउँमा बस्ने मानिसले यस्ता निर्णय गर्ने सम्भावना बढी हुन्छ । फलस्वरूप न्यून उर्वरता भएका मुलुक खाद्य आयातमा धेरै निर्भर हुन्छन्, जहाँ केही परिस्थितिमा ८० प्रतिशतसम्म खाद्य आयात गर्नुपर्ने हुन्छ । र, महामारी एवं युद्धका कारण हुने अवरोध र त्यसमाथि मुलुकभित्रै बढ्दो मूल्यवृद्धिले यस्ता मुलुक थप कमजोर हुनेछन् ।

खाद्य तथा कृषि संगठनको सन् २०२१ को खाद्य तथा कृषि प्रतिवेदनअनुसार सन् २०२० मा थप १६ करोड १० लाख मानिस भोकमरीबाट प्रभावित भएका थिए । विश्व खाद्य कार्यक्रमका अनुसार द्वन्द्व, कोभिड, जलवायु प्रकोप र बढ्दो मूल्यले ३८ देशका ४४ करोड मानिस भोकमरीको दलदलमा धकेलिएका छन् । धेरै मुलुकले आफ्नो खाद्य निर्भरताको पुनः मूल्यांकन गर्दै छन् र स्थानीय उत्पादन विस्तार गर्न प्रयासरत छन् भने केही मुलुक आफ्ना जनताको पोषणको आवश्यकता पूरा गर्न पर्याप्त खाद्यान्न आपूर्ति गर्न संघर्ष गरिरहेका छन् । यद्यपि, दिगोपनमा ध्यान नदिएसम्म आपूर्ति शृंखला छोट्याएर छोटो अवधिको लचिलोपन बढाउने प्रयासले कृषि स्रोतहरू घटाएर मध्यम एवं दीर्घकालीन लचिलोपनलाई खतरामा पार्न सक्छ ।

दिगोपन सस्तो छैन । ‘बायोफिजिकल’ र जलवायु अवरोधको सामना गर्दै प्रभावकारी उत्पादनका लागि महँगो प्रविधिमा लगानी आवश्यक छ । यद्यपि, धेरै मुलुकले कमजोर शासन संस्था, वृद्धिको सीमित सम्भावना र उच्च ऋण स्तरका कारण ठूलो चुनौती सामना गरिरहेका छन् । महामारीले सरकारी बजेटमा ठूलो दबाब निम्त्याएको छ र धेरै सरकार ऋण संकटको सामना गरिरहेका छन् । यिनले महामारीको सामना गर्न ऋण लिएका थिए ।  

गरिब एवं कमजोर मुलुकले प्रदूषण र जैविक विविधताको क्षतिदेखि भोक र गरिबीसम्मका धेरै अन्तरसम्बन्धित कठिनाइको सामना गरून् भन्ने अपेक्षा गर्न सकिँदैन । दीर्घकालीन खाद्य एवं पोषण सुरक्षा सुनिश्चित गर्न हामीले सीमान्तकृत मानिसका चिन्तालाई ध्यानमा राख्ने क्षेत्रीय र अन्तर्राष्ट्रिय समाधानतर्फ जानुपर्छ । अन्यथा, भोकमरी, आप्रवासन र हिंसाको अस्थिर चक्र जारी रहनेछ ।

(टुटुन्डजिया खाद्य व्यवस्थापनसम्बन्धी संस्था थ्राइभिङ सोलुसन्सकी प्रमुख कार्यकारी अधिकृत हुन्) 

प्रोजेक्ट सिन्डिकेटबाट