१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २९ शुक्रबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ चैत २९ शुक्रबार १६:४o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चैत १५ गतेको घटना आपराधिक : गृहमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ चैत २९ शुक्रबार १६:४o:oo

गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंमा भएको घटना आपराधिक र विध्वंसात्मक कार्य भएको दोहोर्‍याएका छन्।

शुक्रवार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा मन्त्री लेखकले तीनकुनेमा भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आइन्दा यस्ता घटना हुन नदिन चनाखो रहेको उल्लेख गरे।

लेखकले तीनकुने घटना आपराधिक र विध्वंसकारी भएकाले फौजदारी कानुनी प्रक्रियाबाट नै छानबिन हुने जिकिर गरे। सांसदहरूले घटनाको सत्यतथ्य छानबिन गर्न गर्न आयोग गठन हुनुपर्ने माग गरे पनि उनले त्यसलाई अस्वीकार गरे।

लेखकले सरकारको रेगुलर क्रिमिनल जस्टिस सिस्टमले घटनाबारे कुनै आग्रह र पूर्वाग्रह नराखी निष्पक्ष छानबिन गर्ने बताए। सार्वजनिक सम्पत्ति लुटपाट, आगजनी र अराजकता गर्ने कार्यमा संलग्नहरूलाई पक्राउ गर्ने कार्य अझै नरोकिएको उनले समितिलाई जानकारी गराए।

तीनकुने प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं प्रक्राउ परेको पनि जानकारी दिए। घटनाको अनुसन्धान जारी रहेकाले भूमिकअनुसार कसैलाई पनि नछोडिने गृहमन्त्री लेखकले दाेहोर्‍याए।

‘जब मुलुकको फौजदारी कानुनी प्रक्रिया प्रारम्भ भइसकेको छ, त्यसबारे छानबिन अगाडि बढिसकेको छ । आयोजक थाहा छ, त्यहाँ भाषण गरेर कसले के बोल्यो त्यो पनि थाहा छ । क–कसले के–के उद्दण्डता गरे थाहा छ । यो त आपराधिक गतिविधि हो । यसमा सरकारले राज्यका प्रचलित कानुनअनुसार कारबाही अगाडि बढाएको छ । सरकारको रेगुलर क्रिमिनल जस्टिस सिस्टमले यसमा काम गर्छ । छानबिन निष्पक्ष हुन्छ, स्वतन्त्र हुन्छ । कुनै पनि आग्रह र पूर्वाग्रप्रेरित हुँदैन । एक–एकजना मानिसले गरेका कामहरूमा गम्भीरतापूर्वक अनुसन्धान गरेर निष्कर्षमा पुग्छौँ,’ उनले भने ।

उनले लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरंकुशताको खोजी गर्नु कुनै पनि हिसाबले उचित नहुने उल्लेख गरे। गृहमन्त्री लेखकले भने, ‘लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरंकुशताको खोजीलाई हामीले जुनसुकै भाषा, जुनसुकै शब्दले पनि अगाडि बढाउने कुरा उचित हुन्छ भन्ने मलाई लाग्दैन । जनतामा जाउँ आफ्नो कुरा राखौँ । हामी त पाँच–पाँच वर्षमा जनतामा गइराखेका छौँ । हामी त जनताबाट निर्वाचित भएर आएका मानिसहरू हौँ । फेरि ०८४ मा जानु छ । जनताले पठाएको वेला आउने हो । नपठाएको वेला आउने होइन नि।’ उनले घटनामा मृत्यु भएकाका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने काम अघि बढिसकेको जानकारी गराए।