
नक्कली नोट पहिचानका लागि सीमावर्ती जिल्ला कञ्चनपुरका बैंंक, वित्तीय तथा सहकारी संघसंस्थाका कर्मचारीहरूलाई अभिमुखीकरण गराइएको छ ।
राष्ट्र बैंक प्रादेशिक कार्यालय धनगढीले कञ्चनपुरका बैंक, वित्तीय तथा सहकारी संघसंस्थाका कर्मचारीहरूलाई अभिमुखीकरण गराएको हो । राष्ट्र बैंकले शुक्रबार महेन्द्रनगरमा जिल्लाका विभिन्न बैंक, वित्तीय संघ संस्था, सहकारीका कर्मचारीहरुलाई ‘शंकास्पद विदेशी मुद्दा पहिचान बैंक कारोबार सञ्चालन नोट सटिङ तथा जाली नोट पहिचानसम्बन्धी अभिमुखीकरण गराएको जनाएको छ ।
राष्ट्र बैंक प्रादेशिक कार्यालय धनगढीका सहायक निर्देशक अर्जुनबहादुर धामीले पछिल्ला वर्षहरूमा नक्कली नोटको बिगबिगी बढिरहेका वेला समयमै बैंक र वित्तीय संघसंस्थाहरूलाई सचेत गराउने उद्देश्यका साथ अभिमुखीकरण गराएको बताए । ‘अहिले वित्तीय क्षेत्रमा संवेदनशील चुनौती देखिएका छन्,’ उनले भने, ‘नोटको कारोबार हुने बैंक, वित्तीय संस्थाका कर्मचारीहरूले नक्कली नोट पहिचान गर्न सके वित्तीय अपराध रोकिन्छ ।’
कार्यक्रममा राष्ट्र बैंक केन्द्रीय कार्यालयका उपनिर्देशक माधवप्रसाद पोखरेलले वैदेशिक मुद्दा, डलरमा समेत जोखिम भएकाले त्यसको समयमै पहिचान गर्न सके नक्कली नोटको अवैध कारोबार रोक्न सकिने बताए । पोखरेलले यसका लागि सेवा प्रदायक संघसंस्था सरोकारवाला समयमै सचेत हुनुपर्ने बताए। ‘संसारभर सबैभन्दा बढी युएस डलरकोे कारोबार हुन्छ,’ उनले भने, ‘यसमा बैंकले डलर सटही गर्दासमेत सचेत हुनुपर्छ ।’
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका सहायक प्रबन्धक समुद्र सापकोटाले नक्कली–सक्कली नोट पहिचानसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै सेवाग्राहीले सक्कली नोटका फिचरबारे पर्याप्त जानकारी दिनुपर्ने बताए ।
‘हामीले वास्तविक नोटका सबै फिचरबारे पूर्वजानकारी पाए पनि नक्कली नोट पहिचानमा समस्या हुँदैन,’ उनले भने, ‘कथंकथाचित बैंकका नक्कली नोट आएपछि नियन्त्रणमा सहज हुन्छ, जोखिमबाट बच्न सकिन्छ ।’