मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ९ सोमबार
  • Friday, 11 July, 2025
२o७९ जेठ ९ सोमबार १७:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडाकी मेयर लामाले अघि बढाइन् चुनावी प्रतिबद्धता, मासिक १५ हजार लिटर खानेपानी र २५ युनिट विद्युत् निःशुल्क

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ९ सोमबार १७:oo:oo

हेटौँडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मीनाकुमारी लामाले आफ्नो प्रतिबद्धतालाई कार्यान्वयनको तहमा अघि बढाएकी छिन्। शपथग्रहणलगत्तै पदभार सम्हालेकी लामाले चुनावी प्रचारप्रसारको क्रममा गठबन्धनबाट संयुक्त समेटिएको प्रतिबद्धतालाई पहिलो निर्णयमार्फत अघि बढाएकी हुन्।

लामाले पहिलो निर्णय गर्दै प्रतिबद्धतामा सार्वजनिक गरिएका पाँच विषय अघि बढाएकी छिन्। हेटौँडा उपमहानगरभित्रका अतिविपन्न घर परिवारलाई मासिक १५ हजार लिटर खानेपानी, २५ युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने, हाल पहिचान गरिएकामध्ये एक हजार ५४१ गरिब परिवारलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्ने निर्णय गरिएको छ। 

यसैगरी, मेयर लामाले आर्थिक अवस्थाका कारण शिक्षा हासिल गर्नबाट वञ्चित विद्यार्थीहरूलाई अध्ययनमा प्रोत्साहन र सहुलियत दिन मेयर छात्रबृत्ति कार्यक्रम संचालन गर्ने, बाटो विस्तारको क्रममा बीच भागमा छोडिएका विद्युतका पोलहरू हटाउने र महिला जागरण समूहमार्फत लैँगिक हिंसाविरुद्धका अभियानहरू संचालन गर्दै पीडित\प्रभावित महिला तथा बालबालिकाको लागि अल्पकालीन आश्रयस्थलका रूपमा सेफ हाउस पुनर्स्थापनाका कार्यहरू संचालन गर्ने निर्णय गरेकी छिन्।

मेयर लामासँगै उपमेयर राजेश बानियाँले पनि सोमबार नै शपथ लिएपछि पदभार ग्रहण गरेका छन्। हेटौँडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी लामा मेयर र नेपाली कांग्रेसका बानियाँ उपमेयर निर्वाचित भएका हुन्। हेटौँडाको १९ वटा वडामध्ये ९ वडामा एमाले, ८ मा कांग्रेस तथा एक–एक वडामा एकीकृत समाजवादी र माओवादी केन्द्रले जितेका छन्।