मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हावाहुरीले ढालेको सिनर्जी एफएमको टावर
२०७९ जेठ ७ शनिबार ०६:०४:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भीषण हावाहुरीमा परेर चितवनमा तीनको मृत्यु

Read Time : > 1 मिनेट
२०७९ जेठ ७ शनिबार ०६:०४:००
  • ठाउँ–ठाउँमा फुसका घर भत्किए, बिजुलीका पोल र ट्रान्सफर्मर ढल्दा विद्युत् अवरुद्ध
  • पोल र रूख ढल्दा विभिन्न ठाउँमा सडक अवरुद्ध, नारायणी पुलका सबै बिजुलीका पोल भाँचिए
  • गुडिरहेको ट्रक नारायणी पुलमै पल्टियो, सिनर्जी एफएमको टावर भाँचियो, प्रसारण अवरुद्ध
  • भरतपुर अस्पतालको पार्किङमा रूख ढल्दा मोटरसाइकल च्यापिए

भीषण हावाहुरीले ढलाएको रूखले च्याप्दा शुक्रबार साँझ चितवनमा तीनजनाको मृत्यु भएको छ । भरतपुर– ११ भोजाडमा अटोरिक्सामा यात्रारत दुई र बसेनीमा म्याजिक गाडीमा रहेका एकजनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि घिमिरेका अनुसार पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना.२ह २२४७ नम्बरको अटोलाई भोजाड जंगलमा रूखले किच्दा चालक र यात्रुको मृत्यु भएको हो । मृत्यु हुने चालक भरतपुर– ११ लामाटोल बस्ने करिब ५१ वर्षका प्रदीपकुमार लामा हुन् भने यात्रु गोरखा गण्डकी गाउँपालिका– ६ घर भई भरतपुर– ७ कटहरचोक बस्ने २८ वर्षीया माया गुरुङ हुन् । सोही अटोमा यात्रारत भरतपुर– ११ लामाटोल बस्ने २० वर्षीया अबिता गुरुङ र ५० वर्षीया तुलमाया गुरुङ घाइते भएका छन् । उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 

त्यस्तै, भरतपुर– ११ कै बसेनी चोकमा ना.१ज ६१४० नम्बरको म्याजिकमाथि रूख बज्रिँदा स्थानीय ४८ वर्षीय लोकनाथ न्यौपानेको घटनास्थलमै मृत्यु भएको छ । म्याजिक विशाल चोकबाट जाँदै थियो । 

रातिसम्म यकिन तथ्यांक नआए पनि जिल्लाका ठाउँ–ठाउँबाट प्राप्त विवरणअनुसार ठूलो परिमाणमा भौतिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हावाहुरीले फुसका घरहरू भत्काएको छ भने बिजुलीका पोल र ट्रान्सफर्मरहरू ढालेको छ । यसले विद्युत् आपूर्ति नै ठप्प भएको छ । नारायणगढ–गैँडाकोट जोड्ने नारायणी पुलमाथि रहेका सबै पोल भाँचिएका छन् । गुडिरहेको ट्रक पुलमै लडेको छ ।

भरतपुर अस्पतालको पार्किङमा रूख ढलेर स्कुटर र मोटरसाइकल च्यापेको छ । ढलेका पोल र रूखका कारण ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । भरतपुरस्थित रेडियो सिनर्जी एफएमको टावर नै भाँचिएको छ, जसकारण प्रसारण अवरुद्ध भएको छ ।