मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ ३ मंगलबार ०९:१७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक सय ३९ यात्रु लिएर फर्कियो जजिरा एयर

Read Time : > 1 मिनेट
२०७९ जेठ ३ मंगलबार ०९:१७:००

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक उडान

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । विमानस्थलनको सुरुवातमा कुवेतको जजिरा एयरवेजले पहिलो अवतरण गरेको हो । सोमबार बिहान विमानस्थल आइपुगेको जजिराको जहाजलाई नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरू, पर्यटन व्यवसायीलगायतले स्वागत गरेका थिए । नियमित रूपमा अन्तर्राष्ट्रिय उडानका लागि जजिराले यसअगावै उडान अनुमति लिइसकेको थियो । 

जजिराले काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ । नेपाली समयअनुसार सोमबार बिहान दुई बजेर ३० मिनेटमा कुवेतबाट उडान गरेको थियो । उक्त जहाज सोमबार बिहान सात बजेर सात मिनेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो उडानसँगै जजिराले नियमित रूपमा कुवेत–भैरहवा–कुवेत उडान गर्नेछ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा जजिराको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान हो ।  

जजिरा एयरले अहिलेका लागि हप्ताको तीन दिन उडान गर्ने अनुमति लिएको छ । भैरहवाबाट सोमबार, बुधबार र शुक्रबार बिहान २:३० बजे उडान हुनेछ भने कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ५ः१५ बजे अवतरण हुनेछ । त्यसैगरी कुवेतबाट मंगलबार, बिहीबार र शुक्रबार साँझ ६:३० बजे उडान हुनेछ भने भैरहवामा बिहान १:४५ बजे अवतरण हुनेछ । सोमबार पहिलो उडानमा ५० यात्रु बोकेर आएको जहाजले फर्किंदा एक सय ३९ यात्रु लिएर गएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विश्व समुदायलाई प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आउन विश्व समुदायलाई आह्वान गरेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार भैरहवामा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अब लुम्बिनी सीधै विश्व समुदायसँग जोडिएको भन्दै लुम्बिनी भ्रमणका लागि आउन आह्वान गरे । 

‘लुम्बिनी अब विश्व समुदायसँग सीधा हवाई मार्गमार्फत जोडिएको छ, यसले लुम्बिनीमा पर्यटक आवागमनमा सहज हुनेछ,’ देउवाले भने । यसले मुलुककोे आर्थिक विकासमा समेत टेवा पुर्‍याउने उनको भनाइ थियो । नेपालले हवाई उड्डयन क्षेत्रमा फड्को मारेको बताउँदै विमानस्थल सञ्चालनले मुलुकको आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र लुम्बिनी क्षेत्रको पर्यटनमा समेत परिवर्तन ल्याउने उनले बताए । प्रधानमन्त्री देउवाले बौद्धमार्गी पर्यटक भिœयाउन विमानस्थलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । यसले नेपालको आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा महŒवपूर्ण योगदान दिने उनको भनाइ थियो । सबैको साथ–सहयोग र मिहिनेतले आज विमानस्थल तयार भएको देउवाले बताए । 

गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी र सिंगो मुलुकका लागि विमानस्थल ऐतिहासिक सफलता भएको बताए । आर्थिक तथा पर्यटन क्षेत्रको विकासमा मुलुकले थप सफलता पाएको उनको भनाइ थियो । यसले बौद्धमार्गीको लुम्बिनी आगमन बढाउने अपेक्षा राखिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अथक प्रयासपछि विमानस्थल उद्घाटन र सञ्चालनको अवस्थामा आएको जनाए । उनले नेपालको हवाई इतिहासमा आजको दिन स्वर्णिम रहेको बताए । नेपालको पर्यटन क्षेत्रको विकासमा गौतम बुद्ध विमानस्थलले सबैभन्दा बढी फाइदा दिने विश्वास व्यक्त गरे । आलेले त्रिभुवन र गौतम बुद्ध विमानस्थल चौबिसै घन्टा सञ्चालन गर्ने बताए  ।

आधा दर्जन अन्तर्राष्ट्रिय एयरलाइन्सद्वारा उडानमा चासो
विमानस्थल सञ्चालनमा आएसँगै आधा दर्जन अन्तर्राष्ट्रिय एयरलाइन्सले व्यावसायिक उडानमा चासो देखाएका छन् । जजिरा एयरलाइन्सपछि एयर अरेबिया र फ्लाई दुबईले पनि विमानस्थलबाट उडानको तयारी गरिरहेको छ । साथै, अन्य अन्तर्राष्ट्रिय विमानस्थल कम्पनीका प्रतिनिधिहरूले पनि विमानस्थलको सेवा–सुविधाबारे स्थलगत अवलोकन गरेका छन् । यो विमानस्थल सञ्चालन आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प बनेको नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले बताए । कुनै कारण त्रिभुवन विमानस्थलमा विमान उडान–अवतरण हुन नसक्ने अवस्था आएमा छिमेकी मुलुकमा पुर्‍याएर अवतरण गराउनुपर्ने बाध्यता अन्त्य भएको अधिकारीको भनाइ थियो ।