चालू आर्थिक वर्षको नौ महिनामा नेपालमा सात खर्ब २४ अर्ब ७४ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । तर, भुक्तानी सन्तुलन कायम राख्ने तथा विदेशी विनिमय सञ्चिति बढाउने सरकारी प्रयास भने प्रभावकारी हुनसकेको छैन । सरकारको नीति र प्रयासका बाबजुद सोधनान्तर घाटा अझै बढेको छ भने विदेशी विनिमय सञ्चिति घटेको छ ।
साउनदेखि नै भुक्तानी सन्तुलन निरन्तर ऋणात्मक हुनु तथा विदेशी विनिमयसमेत घट्दै गएपछि सरकारले स्थिति सुधार्न गत पुसदेखि विभिन्न उपाय अवलम्बन गर्दै आएको छ । तर, पनि बाह्य क्षेत्रको चाप अझै निरन्तर देखिएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनामा मुलुकको सोधनान्तर दुई खर्ब ६८ अर्ब २६ करोडले ऋणात्मक भएको छ । जुन हालसम्मकै सबैभन्दा बढी हो । गएको फागुनको तुलनामा सोधनान्तर घाटा नौ अर्ब ६२ करोड रुपैयाँले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा रहेको थियो । समीक्षा अवधिमा चालू खाता पाँच खर्ब १२ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता दुई खर्ब १० अर्ब ५१ करोडले घाटामा रहेको थियो ।
त्यस्तै, चैत मसान्तसम्मा विदेशी विनिमय सञ्चिति ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँबराबर पुगेको छ जुन यो हालसम्मकै सबैभन्दा न्यून हो । फागुन महिनाको तुलनामा सञ्चिति तीन अर्ब नौ करोडले कमी हो । गएको असार महिनाको तुलनामा चैतसम्मको सञ्चिति १६.५ प्रतिशतले कमी हो । गत असार मसान्तमा विदेशी विनिमय सञ्चिति १३ खर्ब ९९ अर्ब तीन करोडबराबर रहेको थियो ।
सरकारले आयातको उच्च वृद्धिलाई निरुत्साहित गर्न सुन आयातको कोटा घटाउने, कतिपय वस्तुको आयातमा परिमाणात्मक बन्देज लगाउने, एलसी खोलेर मात्रै आयात गर्नुपर्ने, आयातमा शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्नेलगायत व्यवस्था गर्दै आएको छ । हालै मात्र सरकारले कुरकुरे, कुरमुरे लेजलगायत, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य तयारी वस्तु, हीरा, ६ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रंगीन टिभी, जिी, कार र भ्यान, दुई सय ५० सिसीभन्दा बढीका मोटरसाइकल, सबै प्रकारका खेलौना र तासको आयातमा प्रतिबन्ध लगाएको छ । तर, पनि आयात वृद्धि उच्च नै रहेको देखिन्छ भने त्यसको चाप सोधनान्तर अवस्था र विदेशी विनिमय सञ्चितिमा रहेको छ ।
यद्यपि, राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले भने सोधनान्तर घाटा उच्च देखिएको भए पनि त्यसको वृद्धिदर घट्दै गएको बताए । त्यस्तै, सञ्चिति घट्ने दर पनि कम भएको उनले बताए । ‘सरकार तथा राष्ट्र बैंकले लिएका विभिन्न नीतिगत व्यवस्था तथा प्रयासले अहिले सोधनान्तर घाटा स्थिर नियन्त्रणमै छ, मासिक ५० अर्बले बढी रहेको अवस्थाबाट मासिक १० अर्बको वृद्धिमा झरेको छ’ उनले भने, ‘सरकारले लिएका पछिल्ला नीतिले वैशाख महिनाको तथ्यांक आउँदा अझ सुधार हुने देखिन्छ ।’
वस्तु व्यापारमा १३ खर्बको घाटा
आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु व्यापार घाटा २८.५ प्रतिशतले वृद्धि भई १३ खर्ब ६ अर्ब नौ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले बढेको थियो । यस अवधिमा कुल वस्तु आयात ३२.० प्रतिशतले वृद्धि भई १४ खर्ब ६६ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले बढेको थियो । त्यस्तै, कुल वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भई एक खर्ब ६० अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २०.२ प्रतिशतले वृद्धि भएको थियो ।
सेवामा पनि ८० अर्बको नोक्सान
राष्ट्र बैंकका अनुसार चालू आवको नौ महिनामा नेपालले वस्तु र सेवा दुवैको कारोबारमा नोक्सान व्यहोरेको छ । समीक्षा अवधिमा खुद सेवा आय ८० अर्ब ३५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५३ अर्ब २६ करोडले घाटामा रहेको थियो ।सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय २३२.३ प्रतिशतले वृद्धि भई १८ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय पाँच अर्ब ५६ करोड रहेको थियो । त्यस्तै, सेवा खाताअन्तर्गत भ्रमण व्यय १३०.५ प्रतिशतले वृद्धि भई ६१ अर्ब ८९ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ४३ अर्ब ६७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २६ अर्ब ८५ करोड रहेकोमा शिक्षातर्फको व्यय २१ अर्ब १७ करोड रहेको थियो ।
दुई लाख ५६ हजारले लिए श्रम स्वीकृति
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या वृद्धि भई दुई लाख ५६ हजार ३१ जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७४.९ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई दुई लाख ६ हजार ६ सय २९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो । विदेशी कामदारले पठाउने रकम नौ महिनामा सात खर्ब २४ अर्ब ७४ करोड पुगेको राष्ट्र बैंकको तथ्यांक छ । जुन गत वर्षको सोही अवधिको भन्दा ०.६ प्रतिशतले कमी हो ।
वैदेशिक लगानी ३३.७ प्रतिशतले बढ्यो
बाह्य क्षेत्रका अधिकांश सूचक ऋणात्मक हुँदा प्रत्यक्ष वैदेशिक लगानी भने उच्चदरमा बढेको छ । राष्ट्र बैंकका अनुसार नौ महिनामा वैदेशिक लगानी आप्रवाह १६ अर्ब ५१ करोड पुगेको छ । जुन गएको वर्षको सोही अवधिको तुनलामा ३३.७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह १२ अर्ब ३५ करोड रहेको थियो । तर, यस अवधिमा पुँजीगत ट्रान्सफर भने ३९.५ प्रतिशतले घटेर सात अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ ।
मूल्य वृद्धि ७.२८ प्रतिशत, खाद्यान्नमा महँगी बढी
चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ । समीक्षा अवधिको औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको छ ।
२०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य वृद्धि २८.३६ प्रतिशत रहेको छ । त्यस्तै, दुग्ध पदार्थ तथा अन्डाको ११.५६ प्रतिशत, दाल तथा गेडागुडीको १०.५३ प्रतिशत र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि ८.९१ प्रतिशत रहेको बैंकको तथ्यांक छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायातको मूल्य वृृद्धि २०.१६ प्रतिशत रहेको छ । त्यस्तै, शिक्षाको ८.७९ प्रतिशत र विविध वस्तु तथा सेवा उपसमूहको मूल्य वृद्धि ८.१७ प्रतिशत रहेको बैंकको तथ्यांक छ ।