मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २८ बुधबार ०७:४५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर बजारमा उच्च अंकको सुधार

सबै समूहका सूचक सकारात्मक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २८ बुधबार ०७:४५:००

मंगलबार नेप्से परिसूचक ४४ दशमलव १६ अंकले बढेर दुई हजार तीन सय १३ बिन्दुमा पुगेको छ । आइतबार नेप्से सूचक दुई हजार दुई सय चार दशमलव ३७ को न्यूनतम बिन्दुबाट फर्किएपछि निरन्तर उकालो लागिरहेको छ । आइतबारदेखि बजार बढिरहेको छ । मंगलबार बजार न्यूनतम दुई हजार दुई सय ६८ दशमलव ७६ बिन्दु र अधिकतम दुई हजार तीन सय १४ दशमलव ६३ को बिन्दुमा रहेको छ ।

बजार बढेसँगै खरिदकर्ता हाबी भएका छन् । तैपनि, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा झिनो अंकले घटेको छ । आउँदै गरेको स्थानीय चुनावको माहोल र बैंकको ब्याजदर तत्काल नबढ्ने हल्लाले पनि लगानीकर्ता मनोवैज्ञानिक रूपमा बलियो बन्न पुगेका छन् । आर्थिक वर्षको अन्त्य आएसँगै पुँजीगत खर्च बढ्ने र बैंकमा देखिएको तरलता समस्या समाधान हुने अनुमान लगानीकर्ताको छ ।

कारोबारमा आएका १३ वटै समूहका सूचक बढेका छन् । फाइनान्स समूहको सूचक तीन दशमलव २७ प्रतिशत र जलविद्युत् समूहको सूचक तीन दशमलव ८० प्रतिशतले बढेका छन् । विकास बैंक समूह, लगानीगत समूह, ‘अन्य’ समूहको सूचक २ प्रतिशतभन्दा बढीले बढेका छन् । निर्जीवन बिमा समूह, वाणिज्य बैंक समूह, माइक्रो फाइनान्स समूह, उत्पादनमूलक समूहको सूचक १ प्रतिशतभन्दा बढीले बढेका छन् ।

यस दिन एक सय ८१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने नौवटा कम्पनीको सेयर मूल्य घटेको छ । चारवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ । वरुण हाइड्रोपावर, ङादी ग्रुपपावर, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, युनिभर्सल पावर कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो । दिव्यश्वरी हाइड्रोपावर, नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । 

मंगलबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २६ कम्पनीको ३३ लाख ३० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर, नेपाल दूरसञ्चार कम्पनी, वरुण हाइड्रोपावर कम्पनीको तीन करोड रुपैयाँदेखि करिब १० करोड रुपैयाँसम्मको कारोबार भएको छ । यस दिन एनआइबिएल समृद्धि फन्ड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र नबिल बैंक ऋणपत्रको सेयर मूल्य २ प्रतिशतदेखि चार दशमलव ८२ प्रतिशतले घटेको छ ।