उत्तरी गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकाका मतदान केन्द्रका लागि मतदान सामग्री पाँच दिन बोकेर लैजानुपर्ने भएको छ । निर्वाचन आयोगले हेलिकोप्टर उपलब्ध नगराएपछि बोकाएर निर्वाचन सामग्री ढुवानी गर्नुपरेको हो ।
२१ मतदान केन्द्र रहेको चुमनुब्री गाउँपालिकाको ३ नम्बर वडाबाहेक अन्यमा पाँच दिनसम्म बोकाएर निर्वाचन सामग्री पुर्याउनुपर्ने अवस्था रहेको सहायक निर्वाचन अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए । ‘मतदानस्थलमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले बोकेर लैजानुुपरेको छ,’ श्रेष्ठले भने, ‘आवश्यक सामग्रीसहित म्यादी प्रहरी, नेपाल प्रहरी, निर्वाचनमा खटिने कर्मचारीसहितको टोली शुक्रबार गोरखा सदरमुकामबाट मतदान केन्द्रतर्फ पठाइएको छ ।’ सदरमुकामबाट हिँडेको टोली धार्चे गाउँपालिका केन्द्र माछाखोलासम्म तीनवटा बसमा गएको थियो । शनिबारदेखि भने निर्वाचन सामग्री बोकेर टोली अघि बढेको छ ।
चुमनुब्री गाउँपालिकाको सबैभन्दा टाढा वडा नम्बर १ को सामागाउँ र साम्दो पर्छन् । पानी पर्न थालेकाले त्यहाँसम्म पुग्न निकै कठिनाइ भइरहेको टोलीका सदस्यहरूले जनाएका छन् । भौगोलिक विकटताका कारण असहज हुने देखेरै निर्वाचन आयोगलाई ढुवानीको व्यवस्थाका लागि आग्रह गरिएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले बताए ।
‘भौगोलिक कठिनाइ र बर्खा सुरु भएकाले ढुवानीको सहज व्यवस्थाका लागि निर्वाचन आयोगलाई हामीले धेरै आग्रह गर्यौँ । अन्तिमसम्म बाटो हेर्यौँ,’ निर्वाचन अधिकारी कोइरालाले नयाँ पत्रिकासँग भने, ‘आयोगले हेलिकोप्टर नपठाएपछि निर्वाचन सामग्री बोकाएरै पठायौँ ।’कोइरालाका अनुसार मतदान अधिकृतलाई मतपेटिका, मतदान परिचयपत्र, नमुना फारामलगायतका सामग्रीको जिम्मा लगाइएको छ । २७ वैशाखभित्र जिल्लाका सबै स्थानमा निर्वाचनसम्बन्धी सामग्री पुर्याइसक्नुपर्छ ।