१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
उपाधि विजेता हेसलमार्क (बीचमा) । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

हिमालयन एक्सट्राई ट्रायथलनको  उपाधि स्विडेनका हेसलमार्कलाई

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:१३:oo

विश्वमै कठिन मानिने ‘एक्सट्रिम वल्र्ड टुर ट्रायथलन’अन्तर्गत पोखरामा भएको ‘हिमालयन एक्सट्राई’ ट्रायथलनको उपाधि स्विडेनका योहान हेसलमार्कले उचालेका छन् । १६ देशका १७ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै निर्धारित ३.८ किमि पौडी, १८० किमि साइक्लिङ र ४० किमि दौड १६ घन्टा आठ मिनेट १२ सेकेन्डमा पूरा गर्दै हेसलमार्कले उपाधि हात पार्न सफल भएका हुन् ।

उनले पौडी ४८ मिनेट ६ सेकेन्ड, साइक्लिङ ६ घन्टा एक मिनेट ३१ सेकेन्ड दौड नौ घन्टा १२ मिनेट ४३ सेकेन्ड पूरा गरेका थिए । सहभागी १७ जनामध्ये १२ जनाले मात्र निर्धारित दूरी पार गरेका थिए ।चेक रिपब्लिकका फिलिप सोल्कले पौडी ४५ मिनेट ३८ सेकेन्ड, साइक्लिङ ६ घन्टा १९ मिनेट २८ सेकेन्ड र दौड नौ घन्टा १४ मिनेड १८ सेकेन्ड गरी १६ घन्टा २९ मिनेट २६ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भए । तेस्रो भएका चेक रिपब्लिकका पिटर भावरोसेकले पौडी ४६ मिनेट ६ सेकेन्ड, साइक्लिङ ६ घन्टा ४० मिनेट ४७ सेकेन्ड र दौड नौ घन्टा तीन मिनेट २० सेकेन्डमा गरी निर्धारित दूरी १६ घन्टा ४० मिनेट ५७ सेकेन्डमा पूरा गरेका थिए । 

प्रतियोगितामा नेपालबाट सहभागी सन्तोष राई १०औँ  स्थानमा रहँदा र सशस्त्र प्रहरीकी सोनी गुरुङले निर्धारित समयमा निर्धारित दूरी पूरा गर्न असफल भइन् । नेपालका राईले २० घन्टा ५८ मिनेट १० सेकेन्डमा दूरी पूरा गर्दै १०औँ स्थानमा रहन सफल भए । यसैगरी, नेपालकी अर्की खेलाडी गुरुङ केही मिनेट ढिला हुँदा दूरी पूरा गर्न असफल भइन् ।

नेपालकी सोनी प्रतियोगिताको ब्रान्ड एम्बासडरसँगै १३औँ दक्षिण एसियाली खेलकुद (साग) र आठौँ राष्ट्रिय खेलकुदकी स्वर्ण पदक विजेता हुन् । यसैगरी, पोखरेली मञ्चको आयोजनामा हुने नेपाल रन युके र धरान रनका संस्थापक सन्तोष प्रतियोगितामा सहभागी हुन युकेबाट पोखरा आएका हुन् । प्रतियोगितामा खेलाडीहरूसँगै उनीहरूका एक–एकजना सहयोगीसमेत रहेका थिए । प्रतियोगितामा नेपालसँगै चेक रिपब्लिक, स्विडेन, नर्वे, स्कटल्यान्ड, फ्रान्स, डेनमार्क, टर्की, पोल्यान्ड, अमेरिका, पोर्चुगल, रसिया, जर्मनी, इस्टेनिया, इटली, युके र स्पेनका खेलाडीहरू सहभागी रहेका आयोजक तथा कोरेस डाइरेक्टर रिक्की योञ्जनले जानकारी दिए । 
विजेताले एक टिसर्टसँगै नेपाली हस्तकलाबाट निर्मित मेडल पुरस्कारस्वरूप पाए । विजेताले पाएको टिसर्ट निकै महँगो र दुर्लभ मानिन्छ । जितपछि पाइने कालो छिरबिरे रंगमा प्रतियोगिताको लोगोले नै विश्वभर त्यो प्रतियोगीलाई चिनाउने योञ्जनले जानकारी दिए ।

७४२ मिटरदेखि चार हजार मिटरसम्मको यात्रा
प्रतियोगिहरूले सात सय ४२ मिटरको उचाइबाट सुरु गरेको प्रतिस्पर्धा चार हजार मिटरको उचाइमा पुगेर ल्वाङमा आएर सम्पन्न गरेका थिए । पोखराको प्रमुख पर्यटकीयस्थल फेवातालको ७४२ मिटर उचाइबाट सुरु भएको प्रतियोगिता चार हजार मिटर अग्लो मर्दी हिमालको हाइक्याम्प हुँदै कास्कीको ल्वाङमा पुगेर सम्पन्न गरेका थिए ।

प्रतिस्पर्धीहरूले शनिबार बिहान ४ बजे सुरुमा फेवातालमा पौडी, त्यसपछि साइक्लिङ र निर्धारित दौड पूरा गरेका थिए । फेवातालमा पौडीपछि साइकलबाट उनीहरू पोखरा हुँदै बाग्लुङ कालिकास्थान मन्दिर हुँदै फर्किएर पुनः पोखरा २५ स्थित हेमजाको मिलनचोक हुँदै कास्कीको माछापुच्छ्रे  गाउँपालिकास्थित लुम्रे पुगेका थिए । त्यसपछि लुम्रेबाट सुरु भएको दौड मर्दी हिमालको हाइक्याम्पको चार हजार मिटरलाई छुँदै कास्कीको माछापुच्छ्रे स्थित ल्वाङमा पुगेर आइतबार बिहान समापन भएको थियो । दुई वर्षअघि आयोजना हुने भनिएको प्रतियोगिता कोरोनाका कारण सरेको हो ।

यस्तो छ एक्सट्रिम वल्र्ड टुर ट्रायथलनको इतिहास
सन् २००३ मा क्यानडाबाट सुरु भएको ‘एक्सट्रिम वल्र्ड टुर ट्रायथलन’ हरेक वर्ष युरोपसहित अमेरिकाका १७ देशमा आयोजना हुँदै  आएको छ । प्रतियोगिहरूको सुरक्षाका लागि स्वयंसेवक टोलीसहित हेलिकोप्टरको व्यवस्था गरिएको थियो । योञ्जनका अनुसार प्रचार–प्रसारविनै ४७ भन्दा बढीले प्रतियोगितामा सहभागिता जनाउने इच्छा जाहेर गरे पनि १७ जनालाई मात्र सहभागी गराइएको थियो ।

ad
ad