१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २३ शुक्रबार
  • Friday, 05 July, 2024
२o७९ बैशाख २३ शुक्रबार १२:o३:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

स्थानीय साख जोगाउन गुल्मीका केन्द्रीय नेता चुनावी दौडमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २३ शुक्रबार १२:o३:oo

गुल्मीका केन्द्रीय नेता स्थानीय तहको निर्वाचनमा आफ्नो साख जोगाउन चुनावी दौडमा रहेका छन्। एमालेका उपमहासचिव प्रदीप ज्ञवाली केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्रका चुनावी सभामा व्यस्त छन्। ०७४ को स्थानीय तह निर्वाचनमा ज्ञवालीको निर्वाचन क्षेत्रअन्तर्गत रेसुंगा नगरपालिका, छत्रकोट गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकामा एमाले विजयी भएको थियो। त्यस्तै, सत्यवती र चन्द्रकोटमा उपप्रमुखसहित बहुमत वडामा पनि एमालेले जित निकालेको थियो।

एमाले सचिव गोकर्ण विष्ट पनि लामो समयदेखि आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतका चुनावी सभामा व्यस्त छन्। गत स्थानीय तहको निर्वाचनमा विष्टको निर्वाचन क्षेत्रको रेसुंगा र मुसिकोट नगरपालिका तथा इस्मा, मालिका र मदाने गाउँपालिकामा एमाले विजयी भएको थियो। दुवै निर्वाचन क्षेत्रमा गठबन्धनविरुद्ध आफूहरूको साख जोगाउन पार्टी कमिटीसँगै एमाले उपमहासचिव ज्ञवाली, सचिव विष्ट र केन्द्रीय सदस्य दिनेश पन्थी तथा जंग नेपालीको कसरत निरन्तर जारी छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र केसी र पूर्वकेन्द्रीय सदस्य चन्द्र भण्डारी पनि आफ्नो निर्वाचन क्षेत्रमा पार्टी र गठबन्धनलाई विजयी बनाउन निरन्तर लागिरहेका छन्। गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले गुल्मी दरबारको प्रमुख र उपप्रमुखसहित बहुमत वडा तथा सत्यवती, चन्द्रकोट र कालीगण्डकीमा प्रमुखसहित केही वडामा विजय प्राप्त गरेको थियो। गत चुनावमा विजय प्राप्त गरेको पालिकामा सत्ता जोगाउन र अन्य पालिकामा सत्ता स्थापित गर्न गठबन्धनको चुनावी दौड पेचिलो बन्दै गएको छ।

सहरी विकासमन्त्रीसमेत रहेकी एकीकृत समाजवादीकी केन्द्रीय सचिव रामकुमारी झाँक्री चार दिनदेखि मुसिकोट नगरपालिकाको चुनावी सभाहरूमा व्यस्त छिन्। आफ्नो पार्टीले उपमेयर पाएको मुसिकोटको चुनावी सभामा सहभागी हुन झाँक्री हेलिकाेप्टरमार्फत मुसिकोट आएकी थिइन्। माओवादी केन्द्र पनि गठबन्धन भएका पालिकाहरूमा कस्सिएर लागेको छ। माओवादी केन्द्र गत स्थानीय तहको निर्वाचनमा गठबन्धन गरी धुर्कोटमा विजयी भएको थियो।

दुई नगरको चुनावी रस्साकस्सी
जिल्लामा रेसुंगा र मुसिकोट दुई नगरपालिका छन्। मुसिकोटमा संयुक्त गठबन्धन छ भने रेसुंगामा गठबन्धन छैन। एक्लाएक्लै चुनावी प्रतिस्पर्धा भइरहेको रेसुंगा नगरपालिकामा एमालेको तर्फबाट मेयरमा इन्जिनियर राजेन्द्र पाण्डेय र उपमेयरमा रिता बराल पाण्डेयले उम्मेदवारी दिएका छन्। इन्जिनियर पाण्डेय यसअघिदेखिको साख जोगाउन पूर्वाधार विज्ञको रूपमा फरक पहिचानका साथ चुनावी दौडमा छन्। उपमेयरकी प्रतिस्पर्धी  बराल लामो समय वित्तीय क्षेत्रको काम र राजनीतिमा सक्रिय थिइन्।

कांग्रेसको तर्फबाट मेयरमा गुल्मी कांग्रेस सभापति खिलध्वज पन्थी र उपमेयरमा अमृतादेवी कुँवर प्रतिस्पर्धामा छन्। गुल्मी कांग्रेसको साख  जोगाउन पन्थीले कसरत गरिरहेका छन् भने लामो समय कांग्रेस राजनीतिमा सक्रिय कुँवर पनि उपमेयरमा दोस्रोपटक कस्सिएकी हुन्। मुसिकोटमा संयुक्त गठबन्धनसँग एमालेले प्रतिस्पर्धा गर्दै छ। एमालेको तर्फबाट मेयर पदमा पुराना नेता जीवन खरेल र उममेयरमा गंगा श्रेष्ठले उम्मेदवारी दिएका छन्।

गत स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयरसहित आठ वडामा विजयी एमाले उम्मेदवारलाई गठबन्धनसँगको प्रतिस्पर्धामा सत्ता जोगाउन सजिलो भने छैन। चुनौतीका बीच कांग्रेस र माओवादी केन्द्रका असन्तुष्ट मत बटुल्दै एमाले चुनावी मैदानमा होमिएको छ। कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवार हरिनारायण सापकोटा र उपमेयर पदका उम्मेदवार एकीकृत समाजवादीका श्रीराम महत पनि गठबन्धनको तर्फबाट गाउँगाउँ कुदिरहेका छन्। एमालेले मेयर र उपमेयरसहित बहुमत पाएको साख भत्काउन गठबन्धनलाई पनि सजिलो छैन।

जिल्लाका १० गाउँपालिकाका यस्ताे हुनेछ प्रतिस्पर्धा
गुल्मीका १० गाउँपालिकामध्येको इस्मामा अध्यक्ष पदको उम्मेदवार एमालेको तर्फबाट हिरा एसी र कांग्रेसबाट भगतसिंह खड्का छन्। उपाध्यक्षमा एमालेबाट विमला खत्री र कांग्रेसबाट पार्वती कुँवर छन्। मालिका गाउँपालिका अध्यक्षमा एमालेको तर्फबाट रितबहादुर थापा र गठबन्धनबाट माओवादी केन्द्रका देवीराम अर्याल छन् भने उपाध्यक्षमा एमालेबाट नरमाया पुन र गठबन्धनबाट कांग्रेसका उपेन्द्र अर्याल छन्।

मदानेको अध्यक्षमा एमालेबाट प्रेम केसी र उपाध्यक्षमा सरिता खड्का छन् भने गठबन्धनबाट कांग्रेसका महेन्द्रबहादुर कुँवर अध्यक्ष तथा उपाध्यक्षमा माओवादी केन्द्रबाट बेगम चन्द छन्। धुर्कोटमा एमाले र माओवादी तथा कांग्रेस र एकीकृत समाजवादीको दुई गठबन्धन रहेको छ। एमाले–माओवादी केन्द्र गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका भूपाल पोख्रेल र उपाध्यक्षमा एमालेबाट सीता गिरी छन्। कांग्रेस–एकीकृत समाजवादी गठबन्धनबाट अध्यक्षमा कांग्रेसका महेन्द्रप्रसाद भण्डारी र उपाध्यक्षमा एकीकृत समाजवादीका चन्द्र सुनार रहेका छन्। गुल्मी दरबारको अध्यक्षमा एमालेबाट कमल भुसाल र उपाध्यक्षमा सुशीला पुन छन्। कांग्रेसबाट सरोजकुमार थापा अध्यक्ष र तारा थापा ढेगा उपाध्यक्षको उम्मेदवार छन्।

यता, छत्रकोटमा एमालेबाट रामप्रसाद पाण्डेय अध्यक्ष र सावित्रा ज्ञवाली उपाध्यक्षको उम्मेदवार छन्। कांग्रेस र जनमोर्चा गठबन्धनबाट अध्यक्षमा अनन्तराम पौडेल र उपाध्यक्षमा जनमोर्चाका गुमानसिंह पुन छन्। रुरु क्षेत्रमा एमालेबाट अध्यक्षमा हिमाल श्रेष्ठ र उपाध्यक्षमा मीनादेवी ज्ञवाली तथा कांग्रेस–माओवादी गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका यदु ज्ञवाली र उपाध्यक्षमा कांग्रेसबाट दुर्गा ज्ञवाली छन्। सत्यवतीको अध्यक्षमा एमालेबाट टीकाराम पाण्डे, कांग्रेस–जनमोर्चा गठबन्धनबाट कांग्रेसका पारिश्वर ढकाल तथा उपाध्यक्षमा एमालेबाट निरमाया तरामु र जनमोर्चाबाट तेजकुमारी थापा रहेका छन्।

चन्द्रकोटमा एमालेबाट अध्यक्षमा चेतन बस्नेत र उपाध्यक्षमा राधिका अर्याल छन् भने कांग्रेस–माओवादी गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका युवराज केसी र उपाध्यक्षमा विष्णुप्रसाद भण्डारी छन्। कालीगण्डकीमा एमाले र माओवादी गठबन्धनबाट अध्यक्षमा एमालेका रामजी ढकाल र उपाध्यक्षमा माओवादी केन्द्रकी मञ्जुकुमारी दलार्मी छन्। कांग्रेस–जनमोर्चा गठबन्धनबाट अध्यक्षमा कांग्रेसका वेदबहादुर थापा र उपाध्यक्षमा जनमोर्चाकी तारा थापा रहेकी छिन्।

ad
ad
ad
ad