Skip This
के अग्रपंक्तिका श्रमिकले क्षतिपूर्ति पाए ? 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
ब्रेंको मार्चेटिच
२o८१ बैशाख २६ बुधबार o७:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

के अग्रपंक्तिका श्रमिकले क्षतिपूर्ति पाए ? 

महामारीको समयमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गरी कम्पनीलाई उच्च नाफा दिलाउने श्रमिकमाथि ठूलो घात भएको छ, उनीहरूले कुनै क्षतिपूर्ति पाएका छैनन् 

Read Time : > 2 मिनेट
ब्रेंको मार्चेटिच
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:५४:oo

तपाईं अग्रपंक्तिका श्रमिकलाई अझै सम्झिनुहुन्छ ? कर्पोरेट अमेरिकाले भने सम्झिँदैन । घरमा आरामसँग बसिरहेका वेला कार्यस्थलमा घातक एवं ज्यानमारा भाइरस फैलिरहेको अवस्थामा अत्यन्त गाह्रो तथा असहज काम गरिरहेका श्रमिकलाई हामीले नायक मानेका थियौँ । महामारीको प्रकोप अन्त्य हुँदा यी श्रमिकको त्यागलाई बिर्सनेछैनौँ भनेका थियौँ र तिनलाई आवश्यक क्षतिपूर्तिको प्रत्याभूति हुनेछ भन्ने आशा गरेका थियौँ । 

यो आशामा तुसारापात भएको छ । ब्रुकिङ्स इन्स्टिट्युसनले महामारीका वेला सिञ्चित भएको अथाह नाफा कहाँ पुग्यो भनेर जाँच गरेको थियो । उसको प्रतिवेदनअनुसार श्रमिकलाई न्यायसंगत ढंगले पारिश्रमिक दिने वाचाका बाबजुद २२ प्रमुख कम्पनीमध्ये कसैले पनि आफ्ना श्रमिकलाई आवश्यक पारिश्रमिक दिनेबारे ध्यान दिएकै छैनन् । यी कम्पनीले आर्जित अकुत नाफालाई आफ्नै कम्पनीको सेयर खरिद गर्न (स्टक बाई ब्याक) र कार्यकारी अधिकारीका तलब–सुविधामा लगानी गर्न प्रयोग गरे र श्रमिकले गम्भीर आर्थिक कठिनाइ भोगिरहँदा पनि वास्ता गरेनन् । सन् २०१९ मा एक व्यापारिक गोलमेच बैठकमा एमेजन, चिपटोल, म्याकडोनाल्ड र टार्गेट कम्पनीले ७० लाखभन्दा अधिक अग्रपंक्तिका श्रमिकलाई उचित पारिश्रमिक र ‘महŒवपूर्ण लाभ’ दिने वाचा गरेका थिए । यी कम्पनीका नाफा महामारीको पहिलो त्रैमासिकमा १८ प्रतिशतले बढेको थियो अर्थात् दुई खर्ब १३ अर्ब डलर पुगेको थियो र यीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने १२ कम्पनीले ४५ प्रतिशतको कीर्तिमानी नाफा हासिल गरेका थिए । 

यसबीच स्टक बजारले आकाश छोएको थियो । अर्थात् सेयरधनीको सम्पत्तिमा १५ खर्ब डलरको लाभ देखियो । तैपनि, थोरै आम्दानी मात्र औसत श्रमिकको भागमा पर्‍यो । कम्तीमा दुईतिहाइ फर्म–कम्पनीले करिब आधा जनशक्तिलाई न्यूनतम ज्यालासम्म दिँदैनन्, जुन जीवनका आधारभूत लागत पूरा गर्न पनि कम हुन्छ अर्थात् अक्टोबर २०२१ का अनुसार न्यूनतम पारिश्रमिक १७ दशमलव सात डलर पनि दिइन्न । एक मात्र कम्पनी कस्टकोले मात्र न्यूनतम पारिश्रमिकनजिकको ज्याला अर्थात् १७ डलर दिने गरेको छ । 

धेरैजसो कम्पनीबाट बोनस र जोखिम भुक्तानीका अस्थायी, महामारी विशेष नीतिमार्फत उच्च ज्याला प्रस्ताव गरिएका त हुन्, तर यो खासै ठूलो उपलब्धि रहेन । र, अन्ततः मुद्रास्फीतिको परिणामस्वरूप अक्टोबर २०२१ सम्ममा बढेको ज्यालालाई दुईदेखि पाँच प्रतिशतमा झारियो र सम्भवतः त्यसपछिका महिनामा बढेको बढ्दो मुद्रास्फीतिका कारण बढाइएको ज्याला पूर्ण रूपमा हटाइयो । ‘जब हामीले कोभिड भुक्तानीमा कम्पनीका सन् २०२० को खर्चको गणना गर्यौं, हामीले अधिकांश कम्पनीसँग तिनले बढाएको पारिश्रमिकभन्दा बढी ज्याला तय गर्ने स्रोत रहेको पायौँ,’ ब्रुकिङ्स इन्स्टिट्युसनको प्रतिवेदनमा उल्लेख छ । यी कम्पनीका श्रमिकले महामारीमा कुल २७ अर्ब डलरले आफ्नो ज्याला वृद्धि देखे पनि १२ उत्कृष्ट प्रदर्शन गर्ने कम्पनीले सो अवधिमा लाभांश र स्टक बाई ब्याकमा एक खर्ब डलर खर्च गरेका छन् । समग्रमा यस अवधिमा श्रमिकका लागि थपिएको पारिश्रमिक, खर्चको पाँचको एक भाग रह्यो र प्रतिवेदन लेखकका अनुमानअनुसार १६ कम्पनीले ५० अर्ब डलरबराबरको आफ्नै सेयर खरिद (स्टक बाई ब्याक) गरेका छन्, यो रकमले औसत श्रमिकको पारिश्रमिक ४० प्रतिशतले बढाउन सकिन्थ्यो । 

स्टक बाई ब्याकले यी कम्पनीको सेयर मूल्य बढ्दै गयो र प्रतिवेदनले ६० लाख धनी घरपरिवारले महामारीमा प्रतिपरिवार एक लाख ४० हजार डलरको आम्दानी गरेका थिए भने औसत श्रमिकले तीन हजार सात सय डलर मात्र आम्दानी गरेका थिए । जम्मा पाँच कम्पनीको वास्तविक नाफा ४१ प्रतिशतले बढेको छ भने वास्तविक पारिश्रमिक पाँच प्रतिशतले मात्र बढेको छ । र, सबै २२ कम्पनी–फर्मका प्रमुख कार्यकारी अधिकृतले दुई करोड २० लाखको औसत तलबबाट लाभ उठाए, जुन औसत श्रमिकको औसत तलब अर्थात् २५ हजार डलर रकमको तुलनामा धेरै बढी हो । अर्थात् अनुपातकै हिसाब गर्ने हो भने यो अन्तर नौ सय चारको एक भाग हुन पुग्छ । विडम्बना, यी प्रमुख कार्यकारी अधिकृत सुविधाजनक जहाज वा स्पेससिपमा सयर गरिरहेका थिए भने श्रमिक रोग र मृत्युसँग जुझिरहेका थिए ।   

यद्यपि यी २२ कम्पनीले अप्ठ्यारो समयमा सम्पूर्ण जिम्मेवारी श्रमिकको काँधमा हाल्न कुनै ढिलाइ गरेनन् । ‘हाम्रो अध्ययनको २२ महिनाको अवधिमा ठूलो आर्थिक घाटा भोगेका र दसौँ हजार श्रमिकले रोजगारी गुमाएका कम्पनीले समेत आफ्ना सेयरधनीका लागि थप सम्पत्ति सिर्जना गरेका छन्,’ प्रतिवेदनमा उल्लेख छ । उदाहरण डिज्नी कम्पनीले सेयर मूल्यलाई महामारीपूर्वको अवस्थामा ल्याउन थप चार हजार श्रमिकलाई रोजगारीबाट निकालेको थियो । बेस्ट बाईको सेयर मूल्य महामारीको केही महिनामै पुरानो स्थितिमा फर्केको थियो, जसका लागि २५ हजार श्रमिकलाई बिदामा राखिएको थियो । प्रतिवेदनको निष्कर्षले महामारीमा अग्रपंक्तिका श्रमिकमाथि ठूलो घात भएको देखाउँछ, जहाँ यी कम्पनीले ठूलो मात्राको नाफा सुनिश्चित मात्रै नगरी सबैभन्दा धनीलाई नै अत्यधिक धन पोसेका थिए । यो प्रतिवेदनले डेमोक्रेटिकको सरकारअन्तर्गत जनताको रायमा निरन्तर रूपमा बढ्दो उग्र असन्तोष झल्काउँछ । मुद्रास्फीतिले श्रमिकको आम्दानीको ठूलो हिस्सा नष्ट गरिदिएको छ भने माथिल्ला तहका केही मानिसले धनमाथि धन थुपारिरहेका छन् । केही परिवर्तन नभएसम्म यो नांगो असमानतालाई अघिल्लो सरकारले झैँ अहिलेको सरकारले पनि अर्थतन्त्र पुनर्बहाल भयो भनेर बेवास्ता गर्नेछ । ज्याकोबिनबाट

ad
ad