मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १३ मंगलबार
  • Tuesday, 17 December, 2024
२o७९ बैशाख १३ मंगलबार १८:५८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विप्लव नेतृत्वको नेकपा विभाजन नजिक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १३ मंगलबार १८:५८:oo

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्वतन्त्र रूपमा स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएपछि पार्टी फुट नजिक पुगेको छ।  निर्वाचन बहिष्कारको पक्षमा रहेको नेकपाको अर्को समूहले स्वतन्त्र उम्मेदवारी दिएका नेता कार्यकर्ताहरुलाई उम्मेदवारी फिर्ता लिन विज्ञप्ति जारी गरेरै निर्देशन दिएपछि पार्टीमा विवाद चुलिएको हो। 

गत चैत्रमा कपिलवस्तुको शिवनगरमा बसेको नेकपाको केन्द्रीय समिति बैठक पनि निर्वाचनमा भाग लिने वा नलिने विषयमा केन्द्रित भएको थियो। महासचिव चन्दले निर्वाचनलाई उपयोग गरेर जाने राजनीतिक प्रस्ताव बैठकमा पेस गरेका थिए। तर उनको प्रस्ताव केन्द्रीय समितिमा अल्पमतमा परेको थियो।

भूमिगत राजनीति छाडेर एक वर्षअगाडि शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका चन्दले पार्टीलाई चुनावतिर मोड्ने कसरत गरे पनि सचिवालय सदस्य हेमन्तप्रकाश वली, धर्मेन्द्र बाँस्तोलालगायतका नेताहरू त्यसको विपक्षमा उभिँदै आएका छन्। 

मंगलबार सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले विज्ञप्ति जारी गर्दै पार्टीका नेता कार्यकर्ताले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नु केन्द्रीय समितिको १२ औँ बैठकको निर्णयविपरीत हुने बताएका छन्। 

नेकपाको केन्द्रीय समिति बैठकले निर्वाचनका लागि पार्टी दर्ता नगर्ने र चुनावमा भाग नलिने निर्णय गरेको थियो। नेकपाले देशभक्त, जनवादी, एमसिसी विरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने निर्णय गरेको थियो।

पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति केन्द्रीय समितिले पारित गरे पनि केन्द्रीय समितिका सदस्य र जिल्लाका पदाधिकारी उम्मेदवारमा नउठ्ने नीति रहेको भन्दै बाँस्तोलाले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन्। 

महसचिव चन्द पक्षका नेता अनिल शर्मा विरहीले बाँस्तोलाको विज्ञप्ति अराजकता भएको टिप्पणी गरे। ‘उहाँहरूले आफ्ना कुरा केन्द्रीय समितिमा राख्नुपर्थ्यो,’ शर्माले भने, ‘यसअघिको केन्द्रीय समितिले नै स्वतन्त्र उम्मेदवारी दिन सक्ने भनिसकेको अवस्थामा विज्ञप्ति आउनु अराजकता हो।’

पार्टीको नीति महासचिव वा प्रवक्तामार्फत बाहिर आउने प्रावधान रहेको बताउँदै उनले कुन हैसियतमा बाँस्तोलाले विज्ञप्ति जारी गरे भन्दै प्रश्न गरे। अर्को समूहले पार्टीलाई विभाजनतर्फ लैजान खोजेको शर्माको आरोप छ। ‘हामी अधिकतम रोक्ने प्रयास गर्छौं, शर्माले भने, ‘जान खोज्नेहरू स्वतन्त्र छन्।’

नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश वलीले केन्द्रीय समितिको निर्णय उल्लंघन गर्दै महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्माको निर्देशनमा उम्मेदवारी दिइएको आरोप लगाए। 

पार्टी केन्द्रीय समितिको निर्णयको उल्लंघन गरेर महासचिवले विभाजनको रेखा कोर्न खोजेको उनको आरोप छ।

‘गत चैत्र १८ गते चितवनमा भएको प्रशिक्षण र प्रवक्ता निर्वाचन आयोगमा जानु नै केन्द्रीय समितिको निर्णयको उल्लंघन थियो’, वलीले भने, ‘हामी छलफलमै छौँ, उचित निर्णय लिन्छौँ।’

नेकपाका केन्द्रीय सदस्यहरूले नै स्थानीय तहको नेतृत्वका लागि उम्मेदवारी दिएका छन्। महासचिव चन्द पक्षले रोल्पाका १० पालिकामध्ये ९ पालिकामा उम्मेदवारी दिएको छ। नेकपामा केन्द्रीय सदस्य चूडामणि वलीले रोल्पाको गंगादेव गाउँपालिकाको अध्यक्षमा नै उम्मेदवारी दिएका छन्। विप्लव समूहले स्थानीयस्तरमा अन्य पार्टीसँग तालमेलसमेत गरेर स्वतन्त्र उम्मेदवारी दिएको छ। कालीकोटको नरहरिनाथ गाउँपालिको  अध्यक्षमा केन्द्रीय सदस्य एटम बिसीले उम्मेदवारी दिएका छन्। 

केन्द्रीय सदस्य भेषराज भुसालले कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् भने अर्का केन्द्रीय सदस्य योगेन्द्र कुमार गोरखाको गोरखा नगरपालिकाको प्रमुखका उम्मेदवार हुन्। 

२१ फागुन ०७७ मा तत्काली केपी ओली सरकारसँग तीनबुँदे सहमति गरेर विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिको अध्यायमा आएको थियो। एनसेल कार्यालयमा बम विस्फोटपछि ओली सरकारले २८ फागुन ०७५ मा नेकपामाथि प्रतिबन्ध लगाएको थियो। 

सहमतिसँगै दुई वर्षको प्रतिबन्ध पनि फुकुवा भएको थियो। दश वर्ष लामो माओवादी जनयुद्धमा सँगै रहेका विप्लव ०६९ को असारमा प्रचण्ड नेतृत्वको तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट अलग भएर मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादी गठन प्रक्रियामा सहभागी भएका थिए।

तर, वैद्य नेतृत्वको नेकपा–माओवादीभित्रको ‘ढुलमुले शैलीले क्रान्ति सम्पन्न गर्न नसकिने’ भन्दै उनले ०७१ मंसिरमा आफ्नै नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए। त्यसपछि उनले पार्टीलाई भूमिगत बनाएका थिए। दुई वर्षसम्मको प्रतिबन्धका क्रममा नेकपाका दुई हजार तीन कार्यकर्तालाई सरकारले पक्राउ गरेको थियो।

त्यसमध्ये हाल एक सय २३ जना विभिन्न मुद्दामा जेलमा र १८ जना प्रहरी हिरासतमा थिए। यसबीचमा नेकपाका १६ कार्यकर्ताको ज्यान गएको छ भने विप्लव पक्षबाट तीनजना मारिएका थिए । जेल र प्रहरी हिरासतमा रहेका केही कार्यकर्ता छुट्न अझै बाँकी छन्।