गोरखामा नेपाली कांग्रेसतर्फबाट मेयरका उम्मेदवार विश्वदेव श्रेष्ठलाई आफ्नै कार्यकर्ताले कुटपिट गरेका छन्। गोरखा सदरमुकामस्थित शक्तिचोकमा फोटो खिच्न स्टुडियोभित्र पसेको वेला आफ्नै कार्यकर्ताले कुटपिट गरेको उनले बताए। ‘यहीँ बसिरहेको थिए। एक हुल भित्र छिरेर फोटो खिच्न थाल्दा एक्कासि कुटपिट गर्न थाले,’ उनले भने।
उम्मेदवारी दर्ताका लागि फोटो खिच्न स्टुडियोभित्र बसेको वेला श्रेष्ठमाथि कुटपिट भएको हो। त्यस्तै, नगरपालिकाको मेयर छनाेटप्रति असन्तुष्ट जनाउँदै कांग्रेसकै कार्यकर्ताले बिहानदेखि पार्टी कार्यालय तालाबन्दी गरेका छन्।
त्यसलगत्तै नगर कार्यसमितिको कार्यालय पनि तालाबन्दी भएको छ। युवाहरूको मर्म र भावनाविपरीत हार्ने व्यक्तिलाई टिकट दिएको भन्दै तालाबन्दी र धर्ना गरेको असन्तुष्टहरूले बताएका छन्। उनीहरूले प्रदेशको निर्णयलाई सच्याउनुपर्ने बताएका छन्।
मेयर पदका लागि यसअघि राजनराज पन्त, जिल्ला कार्यसमितिका सचिव किशोरजंग थापा र प्रदेश समितिका सदस्य शोभा अधिकारीले पनि आकांक्षीको निवेदन पेस गरेका थिए।