सिरहा नगरपालिकाका मेयर सहित ७० जना जनप्रतिनिधिले सामूहिक राजीनामा दिएका छन्। मेयर अशेश्वर प्रसाद यादव सहित वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु गरी ७० जना जनप्रतिनिधिले राजीनामा दिएका हुन्।
आसन्न निर्वाचनमा पुनः उम्मेदवारी दिने गरी मेयर यादवले प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई राजीनामा बुझाएका छन्। उनीसँगै वडा नम्बर १ का अध्यक्ष महेश कुमार यादव, वडा ४ का अध्यक्ष इजहारुल हक, वडा नम्बर १० का वडाअध्यक्ष जुगल किशोर कामती, ११ का अध्यक्ष विनोद कुमार कामती, कार्यपालिका सदस्य हृन्दकेश्वर लाल कर्ण, वडा सदस्य समुन्द्री पासमान लगायत ७० जनाले राजीनामा दिएका छन्।
२२ वडा रहेको सिरहा नगरपालिकामा १ सय १३ जना जनप्रतिनिधि निर्वाचित भएका थिए। उपमेयर डा नमिता यादव सहित ४३ जनाले राजीनामा दिएका छैनन्।
जनता समाजवादी पार्टीको तर्फबाट मेयरमा यादवको नाम सिफारिस भएको छ। राजीनामापछि मेयर यादवले आफू चड्ने बा २ झ ३६५१ नम्बरको सरकारी गाडी पनि फिर्ता गरेका छन्। गाडीको साँचो प्रमुख प्रशासकीय अधिकृत यादवलाई उनले बुझाएका छन्।