मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ९ शुक्रबार
  • Thursday, 26 December, 2024
नवीन अर्याल काठमाडाैं
२o७९ बैशाख ९ शुक्रबार १o:४३:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

दोस्रो अन्तर्राष्ट्रिय  विमानस्थल सञ्चालनमा 

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख ९ शुक्रबार १o:४३:oo

बिहीबारदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्गमा आन्तरिक उडान सुरु, २ जेठदेखि अन्तर्राष्ट्रिय उडान हुँदै

२००६ सालमा काठमाडौंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) सञ्चालनमा आएको करिब ७२ वर्षपछि पहिलोपटक भैरहवामा दोस्रो नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । बहुप्रतीक्षित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए) निर्माण सम्पन्न भई ८ वैशाखदेखि विधिवत् सञ्चालनमा आएको हो । 

गौतम बुद्ध विमानस्थलमा निर्माण गरिएको तीन हजार मिटर लामो र ४५ मिटर चौडा नयाँ धावनमार्गमा आन्तरिक उडान–अवतरण सुरु भइसकेको छ । नयाँ धावनमार्गबाट बिहीबार बिहान सवा सात बजे यती एयरलाइन्सको ९एन एएनजी कलसाइनको एटिआर–७२ जहाजले पहिलो उडान गरेको थियो । त्यसलगत्तै बुद्ध एयरको जहाज नयाँ धावनमार्गमा अवतरण गरेको थियो । नयाँ धावनमार्ग खुला भएसँगै १५ सय मिटरको पुरानो धावनमार्गमा उडान–अवतरण बन्द गरी ट्याक्सी वेमा परिणत गरेको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए । नयाँ धावनमार्गमा अवतरण गरेका जहाजलाई पुरानो धावनमार्ग (ट्याक्सी वे) हुँदै पुरानै टर्मिनल भवनअगाडि लगिएको उनको भनाइ छ । 

त्रिभुवन विमानस्थलको विकल्पका रूपमा हेरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान भने बुद्ध पूर्णिमाको दिन २ जेठदेखि सुरु हुनेछ । तर, अहिले नै अन्तर्राष्ट्रिय कार्गो, चार्टर र डाइभर्ट फ्लाइटहरू गौतम बुद्ध विमानस्थलमा हुन सक्ने विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले बताए । 

एरो थाईको विशेष विमानबाट यान्त्रिक परीक्षण उडान भइसकेको हुँदा परीक्षण उडान आवश्यक नरहेको उनको भनाइ छ । क्यानले १ वैशाखमा नेपाल वायुसेवा निगमको वाइडबडी ए३३० जहाजबाट परीक्षण उडान गर्ने तयारी गरेको थियो । तर, धावनमार्ग ८ वैशाखदेखि मात्र खुला हुने, यही समय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को अडिट टिम आएको र यान्त्रिक परीक्षण उडान भइसकेपछि नयाँ रनवे खुला गर्न अर्को परीक्षण उडान आवश्यक नपर्ने ठहर गरेर क्यानले अप्रेसनल परीक्षण उडानलाई पछि सारेको छ । 

सात दशकपछि सञ्चालनमा आएको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पर्यटनका लागि पनि कोसेढुंगा भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले बताए । देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब स्याचुरेसनमा पुगिसकेको छ । 

नेपालमा उडान भर्न चाहने विदेशी वायुसेवालाई उडान अनुमति दिन नसक्ने अवस्था थियो, जसले गर्दा पर्यटन आगमनमा पनि धक्का पुग्न सक्ने अवस्था थियो । ‘भैरहवा विमानस्थल सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय उडानहरू दुईतिर बाँडिनेछन्, जसले टिआइएमा नयाँ उडान थप्नका लागि स्पेस पनि उपलब्ध हुनेछ,’ जिबिआइएका प्रवक्ता शाहले भने, ‘नेपालको अन्तर्राष्ट्रिय उड्डयन सेवा नयाँ युगमा प्रवेश गरेको छ ।’

रातको दुई बजेसम्म खुला
गौतम बुद्ध विमानस्थल राति दुई–तीन बजेसम्म खुला हुनेछ । ‘टिआइएको अल्टरनेटिभ विमानस्थल भएकाले पनि रातिसम्म खुला राख्नुपर्ने हुन्छ,’ विमानस्थलका महाप्रबन्धक दाहालले भने, ‘अब आन्तरिक वायुसेवा कम्पनीहरूले भैरहवा–काठमाडौं उडान रातिमा पनि गर्न सक्नेछन् ।’ त्यसो त अहिले पनि भैरहवा–काठमाडौं रुटमा राति १०–११ बजेसम्म उडान हुँदै आइरहेको छ । अहिले भैरहवामा काठमाडौंबाट बुद्ध, यती, सौर्य, श्री, गुण एयरलाइन्सले उडान गर्दै आइरहेका छन् । यस्तै, बुद्ध एयरले पोखरा–भैरहवा प्रादेशिक उडान पनि गरिरहेको छ । 

अन्तर्राष्ट्रिय उडान गर्न जजिराको प्रस्ताव
जिबिआइएमा एरो थाईले ६ फागुनदेखि १५ फागुनसम्म यान्त्रिक परीक्षण (क्यालिब्रेसन) फ्लाइट गरेको थियो । त्यसपछि क्यानले जिबिआइएको एरोनेटिकल इन्फर्मेसन पब्लिकेसन्स (एआइपी)मा प्रकाशित गरेको थियो । २ जेठदेखि भैरहवा उडानका लागि अहिलेसम्म कुवेतको जजिरा एयरवेजले मात्र आवेदन दिएको छ । नेपाल एयरलाइन्स, श्रीलंकन, सलाम एयर, थाई स्माइल, कतार एयरवेज, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बिज, ओमान एयरलगायतले पनि भैरहवामा अन्तर्राष्ट्रिय उडानका लागि चासो देखाएको महाप्रबन्धक दाहालको भनाइ छ ।  

क्यानले गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न छुट सुविधा दिने भएको छ । लुम्बिनी भ्रमणमा आउने बौद्धमार्गी पर्यटक र खाडी मुलुकका उडानहरू भएमा गौतम बुद्ध विमानस्थल राम्रोसँग सञ्चालन हुने क्यानको विश्वास छ । भैरहवामा बौद्धमार्गी देशहरू चीन, जापान, कोरिया, भियतनाम, श्रीलंकालगायत मुलुकबाट सीधा उडान हुने विश्वास गरिएको छ । 

यो विमानस्थल ०७१ माघमा तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले शिलान्यास गरेका थिए । सन् १९५८ जुलाई ८ तारिखबाट सञ्चालनमा आएको गौतम बुद्ध विमानस्थलको धावनमार्ग यसअगाडि १५ सय मिटर लामो रहेको थियो । ६४ वर्षपछि विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलमा परिणत भएको छ । चिनियाँ कम्पनी ‘नर्थ–वेस्ट सिभिल एभिएसन’ले सन् २०१५ को जनवरीदेखि निर्माण सुरु गरेको यो विमानस्थल सन् २०१७ को डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

तर, विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, बर्सातपछिको डुबान, मधेसकेन्द्रित बन्द–हडताल, कोभिड महामारी, निर्माण कम्पनी र निर्माण सामग्री उपलब्ध गराउने ठेकेदारको लापरबाही, निर्माण सामग्रीको अभावलगायत कारणले चार वर्ष ढिलो विमानस्थल सञ्चालनमा आएको हो । 

एडिबीको ऋण सहयोग, ३० अर्ब खर्च
एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण सहयोगमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो । अहिलेसम्म विमानस्थलको भौतिक संरचना निर्माणमा ६ अर्ब ८० करोड, सञ्चार उपकरण जडानमा ५० करोड र जग्गा मुआब्जामा २३ अर्ब गरी करिब ३० अर्ब रुपैयाँ खर्च भइसकेको क्यानका महानिर्देशक अधिकारीले बताए । अझै विमानस्थलमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउन करिब १८ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । यस्तै, एरोब्रिज, थप पार्किङ स्थललगायत निर्माणमा गरी कुल २५ अर्बको काम बाँकी रहेको उनको भनाइ छ ।