मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख ७ बुधबार ०७:४२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

न्यादीको परीक्षण उत्पादन सुरु

Read Time : > 1 मिनेट
२०७९ बैशाख ७ बुधबार ०७:४२:००

लमजुङको ङादी खोलामा निर्माण सम्पन्न भएको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाबाट विद्युत्को परीक्षण उत्पादन सुरु गरिएको छ । केही दिनभित्रै व्यावसायिक उत्पादन गर्ने योजनासहित नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले परीक्षण सुरु गरेका हुन् । चिनियाँ लगानीमा निर्माण भएको माथिल्लो मस्र्याङ्दी ‘ए’ले असहयोग गरेपछि आयोजनाको विद्युत् साढे दुई महिनादेखि खेर गएको थियो । हाल आयोजनाको बिजुली दुई सय २० केभी मस्र्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सबस्टेसनबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो । 

न्यादी जलविद्युत् आयोजनाका कार्यकारी अधिकृत उत्तम अमात्यले अहिले हिउँ पग्लेर खोलामा पानीको वहाब बढिरहेको हुँदा १८ मेगावाटसम्म विद्युत् उत्पादन गर्न पुग्ने पानी रहेको बताए ।  आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणको भुलभुले–मध्यमस्र्याङ्दी एक सय ३२ केभी प्रसारण लाइनमा जोडिनेछ । ६ अर्ब चार करोड २८ लाख रुपैयाँ लागतमा पूरा भएको आयोजनाबाट वार्षिक १६ करोड ८५ लाख ५० हजार युनिट विद्युत् उत्पादन हुनेछ । ०७३ चैतबाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाइचेमाथि ङादी नदीमा बनाइएको छ । तीन हजार आठ सय ४० मिटर सुरुङबाट पानी ल्याएर ठुलीबेँसीबाट ताराचोक जाने बाटो ङादी नदी–तीरमा बनाइएको विद्युत्गृहबाट विद्युत् उत्पादन गरिनेछ । 

आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको हो । बुटवल पावर कम्पनी (बिपिसी)को ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को)को २ दशमलव ७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भएको हो । 

नदीको वहाबमा आधारित यो आयोजनाबाट वार्षिक एक सय ६८ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । आयोजनाले विद्युत् प्राधिकरणसँग प्रचलित ‘पोस्टेड’ दरअनुसार वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । आयोजनामा एभरेस्ट बैंकको नेतृत्वमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सन्राइज बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीको लगानी रहेको छ । सुरुमा २० मेगावाट पहिचान भएको आयोजना क्षमता विस्तार गरी ३० मेगावाट पुर्‍याइएको थियो ।