मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख ३ शनिबार ०९:०२:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसिया कप छनोटमा नेपालले  कडा चुनौती दिने : अलमुताइरी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख ३ शनिबार ०९:०२:००
  • दशरथ रंगशालामा प्रशिक्षणको पहिलो दिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्नो समूहमा बलियो प्रतिद्वन्द्वी रहेका कारण नेपालले विपक्षीहरूलाई कडा चुनौती दिने
  • नेपाली फुटबलको स्तरोन्नति नहुनुको कारण तल्लो स्तरदेखि विकास नहुनु
  • एन्फाले काम गर्न थालेको ५० वर्ष पुग्दा पनि ग्रासरुट स्तरमा फुटबल विकास हुन नसक्नु दु:खद पक्ष

खेलाडीलाई आत्मविश्वास दिलाउने मुख्य काम नै मुख्य प्रशिक्षकको हो । एक प्रशिक्षकले जति धेरै आत्मविश्वास दिलाउँछन्, त्यति नै खेलाडी मैदानमा आत्मविश्वासी भएर प्रतिस्पर्धा गर्छन् । यसको नतिजा पनि सकारात्मक नै आउने गर्छ । अझ प्रतियोगिताअघि प्रशिक्षकबाट यस किसिमको मनोवैज्ञानिक प्रशिक्षण प्राप्त हुँदा खेलाडी झनै हौसिने गर्छन् । कहिलेकाहीँ उनै प्रशिक्षकले नकारात्मक टिप्पणी वा आलोचना गरेका वेला यसको असर सीधै खेलाडीमाथि हुन्छ । अझ प्रतियोगिताको मुखैनिर प्रशिक्षकले आफ्नो धारणा सार्वजनिक गर्दा खेलाडीको अवस्था कस्तो होला ?

सम्भवतः यति वेला नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षणमा रहेका खेलाडीले यस्तै भावना लिइरहेको हुनुपर्छ । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुक्रबारदेखि सुरु भएको छ । प्रशिक्षणको पहिलो दिन नै टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल एएफसी एसिया कपका लागि छनोट हुन नसक्ने प्रतिक्रिया दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एसिया कप छनोटको तेस्रो चरणको तयारीबारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरेको थियो । 

सो पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरीले सीधै नेपाल एसिया कपमा छनोट नहुने दाबी गरेका छन । एन्फाले खेलाडीलाई दशरथ रंगशालामा प्रशिक्षणको व्यवस्था मिलाएको थियो । प्रशिक्षणपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरीले भने, ‘नेपाल निकै बलियो समूहमा छ, हामी एसिया कपका लागि छनोट हुन सक्दैनौँ ।’ पत्रकार सम्मेलनमा अलमुताइरीले आलोचनात्मक अभिव्यक्तिबाट सुरु गरेका थिए, जुन अन्तिमसम्म पनि चल्यो । 

सधैँझैं नेपाली टोलीको खराब प्रदर्शनपछि खेलाडीलाई दोष नदिन आग्रह गर्ने प्रशिक्षक अलमुताइरीले नेपाल एसिया कपमा छनोट हुन नसक्दा त्यसमा खेलाडीलाई दोष नदिने जनाए । ‘नेपाल छनोट हुन नसक्दा यसको दोष खेलाडीलाई नदिनुहोला,’ सधैँ खेलाडीको बचाउनमा रहेका अलमुताइरीले भने । 

२५ सदस्यीय नेपाली फुटबल टोली
किरणकुमार लिम्बू (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनीष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरजज्यू ठकुरी, तेज तामाङ र विशाल राई ।

समूहमा बलियो जोर्डन
नेपाल एसिया कपको तेस्रो चरणको छनोटको समूह एमा छ । यस समूहमा एसियाकै शक्तिशाली देश जोर्डन, कुवेतसँगै इन्डोनेसिया छन् । समूहको शीर्ष टोली एसिया कपमा छनोट हुनेछ । समूहको उपविजेता टोली दोस्रो टोलीको सम्भावना छ । ‘वास्तविकता भन्न चाहन्छु, नेपालको एसिया कपमा छनोट हुने कुनै सम्भावना छैन,’ अलमुताइरीले भने, ‘हामी छनोट हुन्छौँ भनी अहिलेदेखि नै खेलाडीलाई दबाबमा राख्न चाहन्नँ ।’ 

नेपालको समूहमा जोर्डनले पछिल्लो समयमा उत्कृष्ट फुटबल खेलिरहेको र एसियाकै एक शक्तिशाली टोलीका रूपमा रहेको प्रशिक्षक अलमुताइरीको भनाइ छ । ‘जोर्डन एसियाकै बलियो फुटबल टोली हो,’ उनले भने, ‘छनोट चरणमा कुवेतलाई घरेलु मैदानको फाइदा हुनेछ, यसैगरी इन्डोनेसियाको पनि स्तर बढ्दै गइरहेको छ ।’ 

नेपालको अर्को प्रतिद्वन्द्वी इन्डोनेसियाको टोलीमा १६ जना खेलाडीले युरोपमा व्यावसायिक लिग खेल्ने उनले बताए । ‘इन्डोनेसियाका १६ खेलाडी युरोपमा खेल्छन्, यसले उनीहरू कति बलिया छन् भन्ने देखाउँछ,’ तुलना गर्दै उनले भने, ‘नेपालको टोलीमा दुईजना मात्र व्यावसायिक खेल खेल्छन् ।’ 

कडा चुनौती दिने
एकातिर नेपाल एसिया कपमा छनोट हुन नसक्ने बताए पनि प्रशिक्षक अलमुताइरीले विपक्षीविरुद्ध कडा चुनौती प्रस्तुत गर्ने दाबी गरेका छन् । ‘फेरि भन्छु– एसिया कपमा नेपाल छनोट हुन सक्दैन,’ उनले भने, ‘तर, कुवेतमा हुने छनोट खेलमा हामी कडा चुनौती प्रस्तुत गर्छौँ, यसकारण त्यहाँ हामीले धेरै अपेक्षा राख्नु उपयुक्त हुँदैन ।’ अलमुताइरीले जितका लागि मिहिनेत गर्ने जनाए । उनले राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा नियुक्त भएदेखि नेपाललाई साफ च्याम्पियनसिपको फाइनल पु¥याउने वाचा पूरा भएको बताए । ‘सुरुका दिनमा मैले नेपाललाई साफको फाइनलमा पुर्‍याउने वाचा गरेको थिएँ, जुन पूरा भइसकेको छ,’ उनले भने, ‘यसपटक म नेपाललाई एसिया कपमा छनोट गराउँछु भनी वाचा गर्दिनँ ।’

कतारमा बन्द प्रशिक्षण
पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरीले नेपाली टोलीको अन्तिम बन्द प्रशिक्षण कतारमा हुने जानकारी दिएका छन् । खेलाडीहरूले एक महिना नेपालमा तयारी गर्ने र त्यसपछि दोस्रो चरणको तयारीका लागि कतार जाने अलमुताइरीले बताए । कतारमा अभ्यास गर्दा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि तीन देशसँग वार्ता गरिरहेको छ । यमन, ओमान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेलका लागि कुराकानी भइरहेको अलमुताइरीले बताए । ‘तीन देशसँग मैत्रीपूर्ण खेलका लागि छलफल भइरहेको छ, तर पक्का भने भइसकेको छैन,’ उनले भने । 

कतारको प्रशिक्षणपछि नेपाली टोली प्रतिस्पर्धाका भाग लिन कुवेत जानेछ । नेपालले २५ जेठमा जोेर्डन, २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ । यसैबीच टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले कप्तान किरण चेम्जोङ र देवेन्द्र तामाङबाहेक सबै खेलाडी प्रशिक्षणमा आएको जानकारी दिएका छन् । यसैगरी, डिफेन्डर रोहित चन्द इन्डोनेसियाको क्लबबाट व्यावसायिक खेल खेलिरहेका छन् । ‘हामीले डाकेकामध्ये कप्तान किरण र देवेन्द्रबाहेक सबै प्रशिक्षणमा आएका छन्,’ उपाध्यायले भने । किरण माल्दिभ्समा व्यावसायिक फुटबल खेलिरहेका छन् । प्रशिक्षणमा बोलाएका खेलाडीमध्ये ११ जना एन्फा होस्टेलमै बस्नेछन् । बाँकी खेलाडी घरबाट आउने–जाने गर्ने उपाध्यायले बताए ।

फुटबलको स्तरोन्नति भएन
पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरीले नेपालको फुटबल विकास सोचेजस्तो नभएको जनाए । फुटबल विकास नहुनुको पछाडि तल्लो स्तर नै कमजोर भएको उनको भनाइ छ । ‘नेपाली फुटबलको स्तरोन्नति नहुनुको कारण तल्लो स्तरदेखि फुटबलको विकास हुन नसक्नु हो,’ उनले भने । एन्फाले काम गर्न थालेको ५० वर्ष पुग्दा पनि ग्रासरुट स्तरमा फुटबल विकास हुनु नसक्नु निकै दुःखद पक्ष भएको उनले टिप्पणी गरेका छन् । ‘यतिवेलासम्म नेपालमा ५० वटा एकेडेमी हुनुपर्ने हो, प्रत्येक सहरमा एकेडेमी हुनुपर्छ,’ एन्फामाथि इंगित हुँदै उनले भने, ‘अहिले केवल ५–६ वटा मात्र एकेडेमी छन्, यसरी फुटबलको स्तर बढ्दैन ।’