काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा भएको अवरोध महानगर एक्लैले हल गर्न नसक्ने महानगरले जनाएको छ। शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले सडक विभाग, सहरी विकास मन्त्रालय र निजी क्षेत्रसँग समन्वय हुन सके मात्रै फोहोरको सहज व्यवस्थापन हुने बताएकी हुन्।
उनले फोहोर व्यवस्थापनमा पाइलैपिच्छे अवरोध भएको बताइन्। ती अवरोध महानगर एक्लैले समाधान गर्न नसक्ने उनको भनाइ छ। ‘सडकदेखि ल्यान्डफिल्डसाइटसम्म अवरोधै–अवरोध छ, महानगरले फोहोर उठाएर ल्यान्डफिल्ड साइटसम्म पुर्याउँदा निकै वाधा खेप्नुपरेको छ,’ उनले भनिन्, ‘सडक विभाग र सहरी विकासले आवश्यक सहयोग नगरे महानगरले फोहोर व्यवस्थापन गर्न सक्दैन।’
उनले सहरी विकासले फोहोर फाल्ने संरचना निर्माण गरिदिने र सडक विभागले सडकको समस्या हल गरिदिए फोहोर व्यवस्थानमा देखिएको समस्या तत्काल समाधान हुने बताइन्। काठमाडौं उपत्यकाको फोहोर लैजाने मुख्य सडक पासाङल्हामु आसपासका स्थानीयले सडक कालोपत्रेको माग राख्दै फोहोरका गाडी प्रवेशमा रोक लगाउँदै आएका छन्।
तीन दिनयता महानगरले प्रहरी परिचालन गरी फोहोर व्यवस्थापन गर्दै आएको छ। तर पर्याप्त मात्रामा फोहोरका गाडी सिसडोलमा पुर्याउन नसकिएको महानगरले जनाएको छ। त्यस्तै, नयाँ ल्यान्डफिल्डसाइट बञ्चरेडाँडा आसपासका स्थानीयले जग्गा अधिग्रहणको माग राख्दै सडक अवरोधको चेतावनी दिँदै आएका छन्। निर्माणाधीन अवस्थामा रहेको बञ्चरेडाँडामा फोहोर फाल्दा निर्माण कार्यमा अवरोध पुग्ने भन्दै महानगरले सिसडोलमै फोहोर फाल्दै आएको छ।
वर्षातको समयमा सिसडोलतर्फको सडक भासिने भएकोले फोहोर व्यवस्थापन गर्न कठिन हुँदै आएको छ। यसपटकदेखि बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने भनिए तापनि निर्माण कार्य नसकिएकोले महानगरले सिसडोलमै फोहोर फाल्दै आएको छ। पछिल्लो समय १४ दिन उपत्यकाको फोहोर उठ्न सकेको थिएन। प्रहरी प्रशासनसँग समन्वय गरी तीन दिनदेखि महानगरले फोहोरका गाडी सिसडोल पुर्याउन थालेको छ। तर सडक कालोपत्रे नभएसम्म पासाङल्हामु सडकखण्डका स्थानीयले अवरोध गर्ने बताउँदै आएका छन्।
उपत्यकामा दैनिक एक हजार मेट्रिकटन फोहोर उत्पादन हुन्छ। उपत्यकाका सडक किनार र चोकचोकमा करिब ८ हजार मेट्रिक्टन फोहोर थुप्रिएको महानगरले जनाएको छ। अवरोध हटे तीन दिनभित्र फोहोर व्यवस्थापन भइसक्ने महानगरपालिकाले बताएको छ।