मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २८ सोमबार ०६:३९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

परराष्ट्रमन्त्री खड्का दिल्ली जाँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २८ सोमबार ०६:३९:००

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भएको एक महिनाभित्रै परराष्ट्रमन्त्री डा. नारायण  खड्का भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्रमन्त्री खड्का औपचारिक भ्रमणमा नभएर अन्तर्राष्ट्रिय सम्बन्धबारे आयोजित एउटा प्रवचन शृंखलामा सम्बोधन गर्न जान लागेका हुन् । परराष्ट्रमन्त्री खड्का ११ वैशाखमा जाने गरी परराष्ट्र मन्त्रालयले भारतीय विदेश मन्त्रालयसँग समन्वय गरिरहेको छ । 

भारतको चिन्तन संस्था अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ)द्वारा आयोजना हुने रायसिना डायलग नामक बहस शृंखलामा सहभागी हुन जाने कार्यक्रम छ । खड्कालाई तीन साताअघि भारतीय विदेश मन्त्रालयका तर्पmबाट रायसिना डायलगमा सहभागी हुने निमन्त्रणा आइसकेको छ । रायसिना डायलग वैशाख १२ देखि १४ सम्म नयाँदिल्लीमा आयोजना हुँदै छ । 

‘हामी परराष्ट्रमन्त्रीज्यूको भ्रमणको तयारीमा छौँ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘उहाँ जाने तय भएको छ । बाँकी प्रक्रिया मिलाउँदै छौँ ।’ परराष्ट्रमन्त्री खड्काले त्यसक्रममा भारतीय समकक्षी डा. एस जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । यद्यपि, परराष्ट्र मन्त्रालयले यसबारे औपचारिक जानकारी दिएको छैन ।पछिल्लोपटक नेपालबाट तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २६ पुस ०७५ मा रायसिना डायलगलाई सम्बोधन गरेका थिए । ०७६ मा तत्कालीन उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई निमन्त्रणा आए पनि उनीहरू सहभागी भएनन् । विदेश मामिलाका विभिन्न विषयमा रायसिना डायलगमा छलफल हुने गरेको छ । भारतीय विदेश मन्त्रालय पनि कार्यक्रमको साझेदार हो ।

यसपटक रायसिना डायलगमा विभिन्न विषयमा छलफल हुनेछ । ओआरएफका अनुसार लोकतन्त्रमा पुनर्चिन्तन, व्यापार, प्रविधि र सिद्धान्त, बहुपक्षीयताको अन्त्य, वैश्विक व्यवस्थाको एउटा नेटवर्क, हिन्द प्रशान्त क्षेत्रको अवस्था, स्वास्थ्य विकास तथा पृथ्वी, हरित संक्रमणको प्राप्ति, साझा प्रयास–विविध यथार्थ, प्रविधि र युद्धका विभिन्न पक्षबारे छलफल हुनेछ । 

परराष्ट्रमन्त्री खड्कालाई कार्यक्रमको उद्घाटनसत्रलाई सम्बोधन गर्ने गरी निमन्त्रणा गरिएको परराष्ट्र अधिकारीले बताए । ‘रायसिना डायलगमा सहभागी हुने हाम्रो नियमित अभ्यासजस्तै भएको छ, त्यस क्रममा परराष्ट्रमन्त्रीले समकक्षीसँग भेटवार्ता गर्नुहुन्छ । प्रधानमन्त्रीको भ्रमणमा भएका विषयहरूमा थप छलफल हुन्छ, नयाँ सम्झौता वा सहमति हुँदैन,’ परराष्ट्रका अधिकारीले भने ।