देशभरिका पालिकाको शक्तिसन्तुलनको प्रारम्भिक रिपोर्टिङ लिएपछि सत्तागठबन्धन चुनावी तालमेलको मापदण्ड बनाउने प्रक्रियामा प्रवेश गरेको छ । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वमा रहेको गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको आइतबारको बैठकले शीर्ष नेतासहितको बैठकमार्फत तालमेलको मोडालिटी तय गर्ने निर्णय गरेको छ ।
तालमेलको मोडालिटी नटुंगिँदा गठबन्धनमा रहेका दलहरूबीच सिट बाँडफाँड र उम्मेदवार चयनका काम बाँकी छन् । स्थानीय निर्वाचनका लागि तालमेलको मापदण्डमा ठोस छलफलका लागि सोमबार शीर्ष नेतासहितको समितिको बैठक बस्दै छ । आइतबारको बैैठकमा दोस्रो तहका नेताहरूले आ–आफ्नो अनुकूलका प्रारम्भिक मोडालिटी प्रस्ताव गरे पनि सहमति हुन सकेको छैन ।
समिति सदस्य तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले शीर्ष नेतासहितको बैठकबाट ठोस निर्णय हुने बताए । ‘स्थानीय तहबाट धेरै प्रतिवेदन आएका छन्, यसबारे बैठकमा छलफल भयो । यी सबै विषयसहित सोमबार ९ बजे शीर्ष तहको बैठक बस्छौँ र एउटा निष्कर्षमा पुग्छौँ,’ उनले भने, ‘समितिलाई केही विषयमा छलफल गरेर सुझाव दिने जिम्मा हो । सुझावसहित शीर्ष नेताको बैठक बस्नेछ ।’
समिति सदस्य एवं एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले सबै जिल्लाको विवरण आइनसकेकाले बैठकमा सामान्य छलफल भएको र मोडालिटीलगायतका विषयमा आवश्यक निर्णय लिन सोमबार शीर्ष नेतासहितको बैठक बस्न लागेको बताए । ‘शीर्ष नेतासहितको बैठक बसेर थप छलफल गर्ने निर्णय भएको छ,’ उनले भने ।
महासचिव भुसालले समितिले २६ चैतभित्र जिल्लाहरूलाई रिपोर्ट पठाउन भने पनि सबै जिल्लाको विवरण आइनसकेको बताए । समितिलाई शीर्ष नेताहरूको निर्देशनअनुसार निर्वाचनको तयारी र अनुगमन गर्ने, टिकट वितरण गर्ने, उम्मेदवारको मापदण्ड र विवाद निरुपणलगायत विषयमा निर्णय गर्ने जिम्मेवारी छ । गठबन्धनमा रहेका दलहरूले सातै प्रदेश, ७७ वटै जिल्ला र सात सय ५३ वटै पालिकामा संयन्त्र गठन गर्ने र ती संयन्त्रले त्यहाँको शक्तिसन्तुलन, जितको आधार र गठबन्धनको महत्वबारे प्रतिवेदन मगाउने सहमति गरेका थिए । २३ चैतमा बसेको समिति बैठकले उम्मेदवारको मापदण्डबारे छलफल सुरु गरेको थियो ।
बैठकले २६ चैतभित्र गठबन्धनको शक्ति र अवस्थाबारे प्रतिवेदन पेस गर्न स्थानीय संयन्त्रलाई निर्देशन दिएको थियो । १७ चैतमा बसेको सत्तागठबन्धनको बैठकले स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय लिएको थियो भने २२ चैतको बैठकले कांग्रेस नेता पौडेल नेतृत्वमा दश सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति बनाएको थियो ।
पौडेल संयोजकत्वमा पाँचै दलका प्रतिनिधि रहेको दश सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र ज्ञानेन्द्र कार्की, माओवादीबाट वर्षमान पुन र देवप्रसाद गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपमहासचिव विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्यका रूपमा रहेका छन् ।
समितिले शीर्ष नेतालाई तीन विषयमा सिफारिस गर्ने निर्णय गरेको छ । जसअनुसार पहिलो–स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनवीचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दैै सहकार्य गरी अगाडि बढ्ने, दोस्रो–प्रदेश र जिल्लाले चैत्र मसान्तभित्र सहमति कायम गरि केन्द्रमा पठाउने र तेस्रो–पाँच गठबन्धनका शीर्ष नेतृत्वबाट स्थानीय तह निर्वाचन लगायत आबश्यक समसामयिक विषयमा संयुक्त अपिल जारी गर्ने ।
कुन प्रदेशमा के छ अवस्था ?
प्रदेश १ : गठबन्धन गरेर जाने सैद्धान्तिक निर्णय गरेका छन् । वस्तुस्थितिमाथिको अध्ययन गरेका छन् । तर, प्रदेशमा तालमेलको ढाँचाबारे दलहरूबीच सहमति भएको छैन । आफ्नो पकड भएका पालिकामा दलहरूका दाबी छन् ।
मधेस प्रदेश : आसन्न स्थानीय तह निर्वाचनलाई लिएर मधेस प्रदेशमा अझै गठबन्धन छलफल गरी निष्कर्षमा पुग्न सकेको छैन । मधेस प्रदेशका गठबन्धनका मुख्य चार दलका प्रदेश अध्यक्ष र इन्चार्जहरूले अहिलेसम्म भएको छलफलको सम्बन्धमा आ–आफ्नो दाबी गरेका छन् ।
बागमती : स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ गठबन्धनका दलहरू छलफलमै सीमित छन् । एक सय १९ वटा स्थानीय तहमै गठबन्धन गर्ने गरी अघि बढेका पाँच दल निर्वाचनकेन्द्रित छलफलमा छन्, तर अझै ठोस निर्णय हुन सकेको छैन । दलहरूले धेरैभन्दा धेरै सिट दाबी गरिरहेका छन् ।
गण्डकी : प्रदेशका ११ जिल्लामध्ये ६ मा सत्तासाझेदार दलहरूले चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । बाँकी जिल्लामा पनि तालमेलबारे मिहीन छलफल चलिरहेको कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले जानकारी दिए । उनले गण्डकीका ८५ वटै स्थानीय तह र तिनका वडासम्म नै गठबन्धन गर्नेमा कुनै द्विविधा नरहेको प्रस्ट्याए । एकीकृत समाजवादीका केन्द्रीय सदस्य धनराज आचार्यले सबै जिल्लामा तालमेल गर्ने समझदारी बनिसके पनि कहाँ कसको उम्मेदवारी हुने भन्नेबारे टुंग्याउन बाँकी रहेको जानकारी दिए । नेकपा माओवादी केन्द्र कास्कीका अध्यक्ष बखानसिंह गुरुङले पनि तालमेलबारे छलफल चलिरहेको बताए । उनले ३० चैतभित्र सबै छलफल टुंग्याइने बताए ।
लुम्बिनी प्रदेश : प्रदेशमा गठबन्धन बलियो तथा मजबुत बनाउन नियमित बैठक बस्ने, मत विश्लेषण गर्ने र निर्वाचन योजना निर्माण गर्ने गरी छलफल भइरहेको गठबन्धनका नेताहरूले बताएका छन । प्रदेशका एक सय नौ स्थानीय तहको निर्वाचनमा मत विश्लेषणका आधारमा सम्मानजनक रूपमा सिट बाँडफाँड गरिने दलका नेताहरूले बताएका छन् ।
कर्णाली प्रदेश : कर्णालीका १० जिल्लामध्ये हालसम्म चार जिल्लामा गठबन्धन दलहरूले चुनावी तालमेल गर्ने सहमति गरेका छन् । कर्णालीमा दलहरू केन्द्रले स्पष्ट खाका नदिँदा अन्योलमा छन् । सुर्खेत, जाजरकोट, हुम्ला र दैलेखमा गठबन्धनमा रहेका दलहबीच स्थानीय तहको चुनावमा तालमेल गर्ने सहमति भइसकेको छ ।
सुदूरपश्चिम : सत्तासाझेदार दलहरू आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिमका नौवटै जिल्लामा तालमेल गरेर जान सहमत छन् । अछाम, कञ्चनपुरलगायत केही जिल्लामा वडा तहसम्मै तालमेल गरेर जाने औपचारिक निर्णय नै भएका छन् । कतिपय ठाउँमा स्थानीय तहका कमिटीले गठबन्धन नगरी उम्मेदवारी दिने निर्णय गर्न थालेकाले नेतृत्व बाँडफाँडको विषय पेचिलो बन्ने देखिएको छ ।
आज गठबन्धनको संयुक्त अपिल आउन सक्ने
कतिपय जिल्लामा खटपट देखिएपछि पाँचदलीय सत्तागठबन्धनले स्थानीय तह निर्वाचनमा देशव्यापी तालमेलका लागि आह्वान गर्ने निर्णय गरिसकेको छ । शीर्ष नेताको बैठकले अपिल जारी गर्ने जिम्मा कांग्रेस नेता रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धनको निर्वाचन तयारी र अनुगमन समितिलाई दिएको थियो । स्थानीय तह निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा गठबन्धनका लागि आह्वान हुने नेताहरूले बताएका छन् । समितिका एक सदस्यका अनुसार सोमबार शीर्ष नेतासहितको बैठकपछि यस्तो अपिल जारी हुने सम्भावना छ । संयुक्त आह्वानले गठबन्धनको पक्षमा थप सकारात्मक वातावरण बनाउने विश्वास नेताहरूले लिएका छन् ।
पौडेल समितिले शीर्ष नेतालाई गरेका तीन सिफारिस
नेता रामचन्द्र पौडेल नेतृत्वको समितिले शीर्ष नेतालाई तीन विषयमा सिफारिस गरेको छ । पहिलो– स्थानीय तह निर्वाचनमा पाँचदलीय गठबन्धनबीचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दैै सहकार्य गरी अगाडि बढ्ने । दोस्रो– प्रदेश र जिल्लाले चैत मसान्तभित्र सहमति कायम गरी केन्द्रमा पठाउने । तेस्रो– पाँचदलीय गठबन्धनका शीर्ष नेतृत्वबाट स्थानीय तह निर्वाचनलगायत आवश्यक समसामयिक विषयमा संयुक्त अपिल जारी गर्ने ।
आज गठबन्धनको संयुक्त अपिल आउन सक्ने
चुनावी तालमेललाई लिएर कतिपय जिल्लामा खटपट देखिएपछि पाँचदलीय सत्तागठबन्धनले स्थानीय तह निर्वाचनमा देशव्यापी तालमेलका लागि आह्वान गर्ने निर्णय गरिसकेको छ । शीर्ष नेताको बैठकले अपिल जारी गर्ने जिम्मा कांग्रेस नेता रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धनको निर्वाचन तयारी र अनुगमन समितिलाई दिएको थियो । स्थानीय तह निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा गठबन्धनका लागि आह्वान हुने नेताहरूले बताएका छन् । समितिका एक सदस्यका अनुसार सोमबार शीर्ष नेतासहितको बैठकपछि यस्तो अपिल जारी हुने सम्भावना छ । संयुक्त आह्वानले गठबन्धनको पक्षमा थप सकारात्मक वातावरण बनाउने विश्वास नेताहरूले लिएका छन् ।
हर्कबहादुर नेम्वाङ : माओवादी केन्द्र प्रदेश १ अध्यक्ष
गठबन्धन देशको आवश्यकता भएकाले यो कार्यान्वयन हुन्छ र गराउनुपर्छ । सुरुमा छलफल गर्दा अलिअलि भिन्नता आउनु स्वाभाविक हो । तर, केन्द्रको निर्णयअनुसार नै कार्यान्वयन हुनेमा विश्वस्त छाैँ । तर, कांग्रेसले गडबड गरेमा हामी खुट्टा कमाउँदैनौँ विकल्पसहित गठबन्धनमा जान्छौँ । जित सुनिश्चित गराउने योजनामा माओवादी तयार छ ।
इन्द्र बानियाँ, कांग्रेस बागमती प्रदेश अध्यक्ष
३० चैतभित्र उम्मेदवारको टुंगो लगाउने गरी निरन्तर छलफल भइरहेको छ । प्रदेशका सबै स्थानीय तहमा गठबन्धन गर्नेबारे निर्णय गरेर अब उम्मेदवार टुंगो लगाउने कसरतमा जुटिरहेका छौँ । एक सय १९ वटै स्थानीय तहमा कसरी भागबन्डा गर्नेबारे छलफल भइरहेको छ । ०७४ को निर्वाचनमा प्रमुख–उपप्रमुख जितेका क्षेत्रमा सोही कायम रहने गरी अघि बढ्नेबारे प्रारम्भिक छलफल भइसकेको छ, अब सहमति जुटाउनेतर्फ केन्द्रित छौँ । तीन महानगरको सवालमा केन्द्रमा सुझाव पठाउने, उपमहानगरबारे जिल्ला सभापति, अध्यक्षसँग छलफल गर्ने र नगरपालिका–गाउँपालिकाबारे सिफारिसका आधारमा अघि बढ्नेछौँ ।
सरल सहयात्री पौडेल, माओवादी बागमती प्रदेश अध्यक्ष
सैद्धान्तिक प्रारम्भिक छलफलबाहेक केही अघि बढ्न सकेको छैन । मत बदर घटाउन चुनाव चिह्नबारे कस्तो निर्णय गर्ने र मत सर्वेक्षणका लागि जिल्ला–जिल्लाबाट रिपोर्ट बुझ्ने सन्दर्भमा छलफल भइरहेको छ । माओवादी केन्द्रले सिट लिने सवालमा ५० वटा स्थानीय तह जित्ने लक्ष्य राखिएको र ४० वटा जित्ने दाबीका साथ सिट मागिएको छ । छलफलले निर्णय लिने सन्दर्भमा हामी अडिग नै रहन्छौँ भन्ने होइन, केही लचकता अपनाउन सकिन्छ ।
सोनामसिंह स्याङ्तान, जसपा बागमती प्रदेश अध्यक्ष
पहिलो बैठकमा सबै दलका केन्द्रको निर्देशनबारे प्रारम्भिक छलफल र दोस्रो बैठकमा स्थानीय तह र जिल्लालाई उम्मेदवार छनोटका लागि कति अधिकार दिन सकिने भन्नेबारे छलफल भएको छ । तेस्रो बैठक ४ दिनभित्र बस्नेछ । कार्यदलमा २० वटा स्थानीय तहमा जसपाले दाबी प्रस्तुत गरेको छ । गठबन्धनको सहमतिबाटै अघि बढ्न अपिल गरेको छ ।
गरिमा शाह, एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज
संयन्त्रको बैठक अनौपचारिक रूपमा बसिरहेको छ, तर औपचारिक ढंगले बसेको छैन । जिल्लामा पनि छलफल भइरहेको छ । पार्टीले गरेको निर्णय सबैले मान्ने भन्ने छ । मेयर–उपमेयरमा लड्न खोजेको कार्यकर्ताको बोली फरक भए पनि पार्टीको निर्णय मान्नेमा सबै सहमत हुनुहुन्छ । आन्तरिक रूपमा कसको उपस्थिति कस्तो छ भनेर सबै पार्टीले मूल्यांकन गरिरहनुभएको छ, तर ठोस रूपमा केही पनि आएको छैन ।