१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र लिने/दिने गरे कडा कारबाही : श्रममन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:३१:oo

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिमलाई कडाइ गरिने बताएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयले आइतबार आयोजना गरेको परिमार्जित पूर्वप्रस्थान अभिमुखीकरण तालिम कार्यान्वयनको अवस्थाबारे सरोकारवालाहरूसँगको अन्तर्क्रिया कार्यक्रममा श्रेष्ठले अनिवार्य रूपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने र दिने गरिएको पाइए कडा कारबाही गरिने बताए । 

श्रेष्ठले सेवाग्राहीहरूलाई प्रदान गरेको सूचना र जानकारीले वैदेशिक रोजगारी सुरक्षित र उपलब्धिमूलक हुने भएकोले पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई प्रभावकारी र समयानुकूल बनाइने बताए । अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई मर्ज गरेर स्तरीय सेवा प्रवाहको सुनिश्चितता गरिने पनि श्रेष्ठको भनाइ छ ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले पूर्वप्रस्थान अभिमुखीकरण तालिमको अभावले वैदेशिक रोजगारीका क्रममा जोखिम बढाउने भन्दै यसलाई औपचारिकतामा मात्र सीमित गर्न नहुनेमा जोड दिए । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको वैदेशिक रोजगारको यात्रालाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन विषयगत तालिमलाई पनि प्रभावकारी बनाउनुपर्ने अर्यालले बताए । 
मन्त्रालयका सल्लाहकार डा.केशव बस्यालले पूर्वप्रस्थान अभिमुखीकरण तालिममा गन्तव्य मुलुकसम्बन्धी जानकारी, वैदेशिक रोजगारसम्बन्धी कानुन, सुरक्षित रोजगारी तथा अन्य हक अधिकारका विषयमा जानकारी दिनुपर्नेमा जोड दिए । 

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई गन्तव्य मुलुकसँग सम्बन्धित महत्वपूर्ण जानकारी, विद्यमान कानुन, धर्म, संस्कृति, रीतिरिवाज साथै केही समस्या परेमा कानुनी उपचारका लागि उपलब्ध सेवा तथा प्रक्रियाहरूको बारेमा जानकारी दिनुपर्ने बताए । 

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २७ र वैदेशिक रोजगार नियमावली, २०६४ को उपनियम २० मा वैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य रूपमा वैदेशिक रोजगारमा जानुपूर्व तोकिएबमोजिमको अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ ।

ad
ad