मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ चैत २७ आइतबार १२:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लाइसेन्सको ट्रायल सेन्टरमा मन्त्री रोकायाको अनुगमन, बेथिति अन्त्य गर्न निर्देशन  

Read Time : < 1 मिनेट
२०७८ चैत २७ आइतबार १२:३७:००

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले जुम्लामा खुलेको सवारी लाइसेन्स वितरण प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले ट्रायल सेन्टरको छड्के अनुगमन गर्दै लाइसेन्स वितरणमा देखिएका सबै प्रकारका बेथिति अन्त्य गर्न निर्देशन दिएका हुन् ।
उनले भने, ‘सवारी लाइसेन्स वितरणमा अनियमितता भएको, दलालीसँग मिलेर महँगोमा लाइसेन्स बाँडेको, लिखित परीक्षामा भद्रगोल भएर पारदर्शी परीक्षा हुन नसकेको र कसै–कसैले ट्रायल पास नगरेर लाइसेन्स लिने गरेको जनगुनासो छ । यो राम्रो भएन ।’

मन्त्री रोकायाले लाइसेन्स वितरणको सुरुको प्रक्रियादेखि नै पारदर्शिता देखाउनसमेत यातायात व्यवस्था कार्यालय जुम्लाका कर्मचारीलाई निर्देशन दिएका छन् । उनले ट्रायल फेल भएका व्यक्तिलाई लाइसेन्स नदिन र निष्पक्ष र पारदर्शी तरिकाले ट्रायल गर्ने वातावरण मिलाउनसमेत सुझाए । एक्कासि भौतिकमन्त्री रोकाया ट्रायल सेन्टरमा पुग्दा कर्मचारी अलमलमा परेका थिए । उनले पहिलेको जस्तो गैरजिम्मेवार तरिकाले लाइसेन्स दिएको भेटिएमा तत्काल कारबाही प्रक्रियाअघि बढाउनेसमेत चेतावनी दिएका छन् । यस वर्ष एक सय २५ जना मात्र लाइसेन्स परीक्षामा उत्तीर्ण भएको भएको कार्यालयले जनाएको छ । 

निरोगिताको प्रमाणपत्र चिकित्सकको जाँचविनै दिने गरेको, दलालले एक लाइसेन्सको २० देखि २५ हजार रुपैयाँसम्म लिने गरेको, चिनजान र भनसुनका आधारमा सबै प्रक्रियामा सफल गराइदिने विकृति रहेको परीक्षार्थीको गुनासो छ । मन्त्री रोकायाले लाइसेन्स वितरणमा देखिएको विकृतिले जुम्लाको बदनाम हुने गरेको स्मरण गराउँदै आगामी दिन प्रक्रिया पुगेकाबाहेकले लाइसेन्स लिएको भेटिएमा राम्रो नहुने चेतावनीसमेत दिए ।