नेपाल दूरसञ्चार कम्पनीले सात अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्ष ०७७/७८ मा ४२ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको कम्पनीले जनाएको छ । कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा २० प्रतिशत नगद लाभांश वितरण गरी चुक्ता पुँजी १८ अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको चौधौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले गत आवमा भ्वाइस सेवाको ग्राहक आधार ५.५७ प्रतिशतले वृद्धि भई दुई करोड ११ लाख पुगेको जानकारी दिए । कम्पनीको राजस्वको प्रमुख स्रोतका रूपमा रहेको जिएसएम सेवाको ग्राहक १४.२४ प्रतिशतले वृद्धि भएको छ ।
साथै, कम्पनीको डेटा सेवाको ग्राहक ३५.३१ प्रतिशतले वृद्धि भई दुई करोड तीन लाख ९७ हजार पुगेको छ । बजारको मागअनुसार कम्पनीले डेटा सेवामा जोड दिई सोहीअनुरूप आफ्नो योजना कार्यान्वयन गर्दै सुविधा उपलब्ध गराउँदै आएको अध्यक्ष अर्यालले बताए । कम्पनीले डेटा सेवाको बजार हिस्सामा उल्लेख्य वृद्धि गरेको छ । कम्पनीको ब्रोडब्यान्ड डेटा सेवाको बजार हिस्सा ५.१४ प्रतिशतले वृद्धि भई ५३.८२ प्रतिशत पुगेको छ ।
गत आवमा कम्पनीले कर तथा गैरकरबापत आफ्नो कुल आयको ५० प्रतिशतभन्दा अधिक रकम अर्थात् २७ अर्ब ७३ करोड रुपैयाँ राजस्वमा दाखिला गरेको कम्पनीले जनाएको छ । इन्टरनेटको बहुउपयोगमार्फत सूचना प्रवाहलाई सजिलो र प्रभावकारी बनाउनुका साथै इन्टरनेट सेवाको विस्तारमा ध्यानकेन्द्रित गरिएको छ । स्याटेलाइट प्रविधिको समेत प्रयोगद्वारा विकट हिमाली जिल्लाहरूमा वायरलेस तथा वायरलाइन सेवा उपलब्ध गराइएको कम्पनीले बताएको छ ।
मुलुकभर अप्टिकल फाइबर विस्तार गर्नुका साथै बिटिएस तथा ट्रान्समिसन उपकरणहरू जडान गरी स्थानीय टेलिफोन सेवा, फोरजी एलटिई सेवा र एफटिटिएच सेवा विस्तार तथा वितरणमा तीव्रता दिइएको छ । नेपाल सरकारको सूचना महामार्ग निर्माणको लक्ष्यमा सहयोग पुर्याउन कम्पनीले ब्याकबोन नेटवर्क, मल्टिपल क्रसबोर्डर अप्टिकल फाइबर नेटवर्क र मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको अध्यक्ष अर्यालले बताए ।
मुलुकभर ७७ जिल्लाका सात सय २० भन्दा बढी स्थानीय निकायमा फोरजी सेवा उपलब्ध गराइसकेको छ र बाँकी स्थानमा छिट्टै यो सेवा विस्तार गर्ने गरी काम भइरहेको अध्यक्ष अर्यालले बताए । सोलुखुम्बुको तीन हजार एक सय ३० मिटर उचाइमा रहेका विकट ताक्सिन्दु एवं जुभु र ओखलढुंगाको विकट सेर्नाजस्ता अत्यन्त दुर्गम स्थानहरूमा मोबाइल सेवा आरम्भ गरिएको कम्पनीले जनाएको छ ।