नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले अन्य पार्टीलाई ढक भनेकोमा आपत्ति जनाएका छन्। ओलीले केही दिनअघि आफ्नो पार्टीलाई क्विन्टल र अन्य पार्टीलाई ढक भनेको उल्लेख गर्दै खनालले आफ्नो पार्टी दशाैँ टनको बनिरहेको दाबीसमेत गरे।
शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा खनालले आफ्नो पार्टी दशौँ टनको बन्दै गएको हेर्न जिल्ला-जिल्लामा जान ओलीलाई चुनौती दिएका छन्। उनले सत्तारुढ पाँचदलीय गठबन्धनलाई कायमै राखेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी जाने पनि स्पष्ट पारेका छन्।
‘केपी ओलीले के भनेछन् भने उनको पार्टीलाई चाहिँ क्विन्टल हामीहरूलाई चाहिँ ढक। म यही मञ्चबाट भन्न चाहन्छु– केपी ओलीजी तपाईंको पार्टी ढक हो कि तपाईंको पार्टी क्विन्टल हो कि अथवा एकीकृत समाजवादी चाहिँ टन हो, यहाँ आएर हेर्नाेस्। प्रत्येक जिल्लामा गएर हेर्नाेस्। अब नेकपा एकीकृत समाजवादी टन मात्रै होइन, दशौँ टनको पार्टी बन्दै छ। यो कुरा केपी ओलीले बुझ्न जरुरी छ कमरेडहरू,’ उनले भने।