मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ चैत २६ शनिबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २६ शनिबार o८:१८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सगरमाथा चढ्न  दुई सयले लिए अनुमति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २६ शनिबार o८:१८:oo

पर्यटन विभागका अनुसार बिहीबारसम्म सगरमाथासहित १७ हिमाल चढ्न ५६ समूहका चार सय ८० आरोहीले अनुमति लिएका छन्

विश्वभरि फैलिएको कोभिड महामारी कम हुँदै गएपछि नेपालको पर्वतीय पर्यटन गुल्जार हुने संकेत देखिएको छ । वसन्त ऋतुमा हिमाल आरोहणका लागि बिहीबारसम्म नेपालसहित ५९ मुलुकका चार सय ८० आरोहीले अनुमति लिएका छन् । 

सबैभन्दा धेरै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ४१ देशका दुई सय आरोहीले अनुमति लिइसकेको पर्यटन विभागले जनाएको छ, जसमध्ये महिला आरोही ४६ र पुरुष आरोही एक सय ५४ रहेका छन् । सगरमाथा चढ्न अनुमति लिएकामध्ये सबैभन्दा धेरै अमेरिकाबाट ४९ जना आरोही रहेका छन् । युक्रेनसँग यद्ध गरिरहेको रसियाबाट पनि १४ आरोही सगरमाथा चढ्न आउने क्रम सुरु भइसकेको छ । यस्तै, युकेबाट २५, नेपालबाट १०, इन्डियाबाट १५, क्यानडाबाट ११, अस्ट्रेलियाबाट १०, चीनबाट नौ, अस्ट्रियाबाट चार, आयरल्यान्डबाट चार आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिइसकेका छन् ।

सगरमाथासहित १७ वटा हिमाल चढ्न ५६ समूहबाट अनुमति लिएका चार सय ८० आरोहीमध्ये पुरुष आरोही तीन सय ६८ र महिला आरोही एक सय १२ रहेका छन् । यस्तै, अहिलेसम्म लोत्से हिमाल चढ्न ५२ जनाले अनुमति लिएका छन् भने आमादब्लम हिमाल चढ्न ३९, कञ्चनजंघा चढ्न ३२, अन्नपूर्ण–१ चढ्न २६, धौलागिरि चढ्न २१, नुप्त्से २३, हिमलुङ चढ्न १६, मकालु चढ्न १५ जनाले अनुमति लिएको विभागले जनाएको छ । बिहीबारको तथ्यांकअनुसार नेपालका हिमाल चढ्न ५८ देशका आरोही आउने पक्कापक्की भइसकेको छ । उनीहरू आरोहणका लागि काठमाडौं हुँदै सम्बन्धित क्षेत्रमा जाने क्रम सुरु भइसकेको छ ।

अहिले विदेशी आरोहीहरू आउन थालेपछि होटेलमा पनि अकुपेन्सी बढेको छ । पर्वतारोहण मात्र होइन, ट्रेकिङमा जाने पर्यटक पनि आउन थालेका छन् । कोभिड महामारी कम हुँदै गएपछि पर्यटक आगमनमा पनि सुधार हुँदै गइरहेको छ । मार्च महिनामा मात्रै ४२ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या कोभिडयताकै सबैभन्दा धेरै हो । सन् २०२१ मार्चको तुलनामा अहिले पर्यटक आगमन १८०.४७ प्रतिशतले वृद्धि भएको पर्यटन बोर्डले जनाएको छ । सन् २०२१ मार्च महिनामा विभिन्न मुलुकबाट १४ हजार नौ सय ७७ पर्यटक आएका थिए ।

नेपालमा पहिलोपटक सफल हिमाल आरोहण सन् १९५० मा भएको थियो । त्यतिवेला फ्रेन्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरेका थिए । आठ हजार मिटरभन्दा बढी उचाइमा मानव पाइला परेको त्यो पहिलोपटक थियो । यस्तै, सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि नेपाल संसारभरि नै हिमालयको देश भनेर चिनिएको थियो ।