१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
पर्शुराम काफ्ले नयाँ दिल्ली
२o८१ बैशाख २३ आइतबार o६:१२:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज

फर्किए प्रधानमन्त्री, जानकार भन्छन्– भ्रमण राजनीतिक रूपमा सफल, आर्थिक एजेन्डा अस्पष्ट

Read Time : > 2 मिनेट
पर्शुराम काफ्ले, नयाँ दिल्ली
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:१२:oo

औपचारिक भारत भ्रमणको तेस्रो दिन आइतबार उत्तर प्रदेशको वाराणसी पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्केका छन् । समकक्षी नरेन्द्र मोदीसँग शनिबारको औपचारिक वार्तामा उठेका सीमा विवादका विषय, जलविद्युत् विकासका लागि साझा सहकार्यको प्रयास, सत्तारूढ भारतीय जनता पार्टीको मुख्यालय भ्रमणका विषयमा दिल्लीमा मिश्रित टिप्पणी छ । 

बदलिँदो भूराजनीतिक परिस्थितिमा नेपाल र भारतबीच साझा धारणा बनाउने प्रयासका रूपमा पनि विज्ञहरूले प्रधानमन्त्रीको भ्रमणलाई हेरेका छन् । 
परराष्ट्रमन्त्री डा नारायण खड्काले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा देउवाले कांग्रेस सभापतिको हैसियतमा भाजपा मुख्यालय भ्रमण गरेको टिप्पणि गरेका छन् । दिल्लीमा नेपाल भारत जानकारहरूले त्यसलाई देउवाको राजनीतिक मुभ भनेका छन् । 

नेपाल–भारत सम्बन्धका जानकार एवं समाजबादी चिन्तक सुधिन्द्र भदोरियाले प्रधानमन्त्रीको भ्रमण परिवर्तित भूराजनीतिक परिस्थितिमा अर्थपूर्ण रहेको बताए । ‘पछिल्लो वैश्विक परिस्थितिमा नेपाल र भारत एकैसाथ उभिनु आवश्यक छ । त्यसका लागि एक अर्काको समस्या र चासो बुझ्नु अनि सम्बोधन गर्नु आवश्यक छ । यो अर्थमा प्रधानमन्त्री देउवाको भ्रमण समयमै भएको छ । भ्रमणका क्रममा भएका समझदारी कार्यान्वयन गर्नुपर्छ’ उनले भने । 

भदोरियाले देउवाको भाजपा मुख्यालय भ्रमणलाई ‘राजनीतिक मुभ’का रूपमा अथ्र्याए । ‘नेपाललाई भारतीय सरकार र भाजपाको सहयोग आवश्यक छ । त्यस हिसाबले देउवाजीको राजनीतिक मुभका रूपमा मैले यसलाई लिएको छु’ भदोरियाले भने, ‘उहाँ भाजपा कार्यालय जानु हुन्थ्यो कि हुँदैनथ्यो भन्ने बहस दिल्लीमा पनि छ, तर सत्तारुढ पार्टीसँग नेपालको सत्तारुढ पार्टीका नेताका रूपमा उहाँ जानु भएको हुनाले यसलाई म अस्वभाविकरूपमा लिन्न ।’

नेपाल–भारत सम्बन्धका जानकार एवं जवाहरलाल नेहरू विश्वविद्यालयका अबकासप्राप्त प्रोफेसर एसडी मुनीले प्रधानमन्त्री देउवाको भ्रमण भारतको नेतृत्वसँग सम्वाद भएको हिसाबले सकारात्मक मान्न सकिने तर, उनको भाजपा मुख्यालय भ्रमण अस्वभाविक रहेको टिप्पणी गरे । ‘प्रधानमन्त्री देउवाजीको भाजपा मुख्यालय भ्रमण अस्वभाविक हो ।

भाजपा अध्यक्षले देउवाजीलाई गएर भेट्नुपथ्र्यो, देउवाजी भाजपा कार्यालय जानु शोभनीय र ठीक भएन’ मुनीले भने,‘देउवाजीले चुनाबको मुखमा भाजपा कार्यालय जानु र प्रधानमन्त्री मोदीको निर्वाचन क्षेत्र उत्तरप्रदेशको काशी विश्वनाथ मन्दिर दर्शन गर्नुको सन्देश नेपाली जनताले बुझेका छन्, मैले भनिरहनु पर्दैन ।’ देउवाले हिन्दु सेन्टिमेन्टलाई सम्बोधन गर्न खोजेको उनले संकेत गरे । ‘देउवाजी किन गुजरात जान चाहनुहुन्थ्यो र अहिले त्यहाँ भ्रमण नभएपछि काशी किन जानुभयो भन्ने कुरा स्पष्ट छैन र’ मुनीको कूटनीतिक जबाफ थियो । 

नेपालका लागि पूर्व राजदूत रणजीत रायले प्रधानमन्त्री देउवाको भ्रमण राजनीतिक रूपमा सफल रहेको बताए । ‘जलविद्युत सहकार्य सम्बन्धी ज्वाइन्ट भिजन स्टेटमेन्ट निकै विस्तृत छ र यसले यो उपक्षेत्रलाई जोड्दछ’ उनले भने, ‘पञ्चेश्वरका बारेमा पनि प्रधानमन्त्रीहरूले भनिरहेका छन् । यसलाई अघि बढाउन घच्घच्याइरहनु पर्दछ । ’

नेपाल–भारत सम्बन्धका जानकार डा. निहार नायकले प्रधानमन्त्री देउवाको भ्रमणका सफलता वा बिफलता भविश्यमा देखिँदै जाने तर अहिले सीमा समस्या लगायत सबै बिषयमा उच्चस्तरमा छलफल हुनु महत्वपूर्ण रहेको टिप्पणि गरे । ‘सीमा समस्याको सन्दर्भमा नेपाल सरकारको हातमा बल छ । भारतले संवादका लागि तयार रहेको प्रष्ट पारिसकेको छ, नेपालले पहिले जारी भएको नक्सा भविश्यमा संशोधन गर्न सक्छ कि सक्दैन भन्ने प्रश्नले सीमा समस्या समाधान हुन्छ कि हुँदैन भन्ने तय गर्नेछ’ नायकले भने, ‘यो पृष्ठभूमिमा निकट भविश्यमै सीमा समस्या समाधान हुने सम्भावना देख्दिन तर भारत सरकारले संवाद गर्ने कुरालाई सकारात्मकरूपमा रेस्पोन्स गरेको छ ।’ 

दिल्लीमा रहेका भूराजनीतिक मामिला विश्लेषक अरुणकुमार सुबेदीले प्रधानमन्त्री देउवाले बिबादमा नआउने गरि होसियारीपूर्वक समकक्षी मोदीसँग सीमा बिबाद समाधानको बिषय उठाउनु महत्वपूर्ण रहेको प्रतिक्रिया दिए । तर, अपेक्षाकृतरुमपा यो भ्रमणमा आर्थिक एजेन्डामा प्रगति नभएको उनको भनाई थियो । पञ्चेश्वर र सीमा बिषयमा उठेका बिषयहरूको प्रगति परिणामले देखाउने उनले बताए । 

दिल्लीमा रहेका नेपाल–भारत चेम्बर अफ कमर्स (निक्की)का उपाध्यक्ष सुनिल केसीले राजनीतिकरूपमा प्रधानमन्त्रीको भ्रमण सफल रहेको तर आर्थिक एजेन्डाका बिषयमा परिणाम आउन समय लाग्ने बताए । ‘अहिले भारतको प्राथमिकतामा प्रधानमन्त्री देउवालाई बोलाइएको थियो’ उनले भने, ‘भारतले नेपालसँग परिवर्तित परिस्थितिमा राजनीतिक सम्बन्ध थप सुदृढ गर्न खोजेको हिसाबले पनि यो भ्रमण महत्वपूर्ण छ । उत्तरप्रदेशमा उहाँको भव्य स्वागत पनि अर्थपूर्ण छ । ’

प्रधानमन्त्री देउवाले आइतवार काशी विश्वनाथ मन्दिरको दर्शन, कालभैरभ मन्दिरको दर्शन गरेका थिए । प्रधानमन्त्री देउवाको सम्मानमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिवाभोज आयोजना गरेका थिए । देउवा वाराणसी गएदेखि दिल्ली नफर्केसम्म मुख्यमन्त्री योगी साथमै थिए । 

मोदीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । ‘मोदीले सन् २०१४ र २०१८ मा नेपालको भ्रमण गरेको स्मरण गर्दै सुन्दर देश नेपालको भ्रमणलाई ठूलो महत्व दिएको र उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ’ परराष्ट्रमन्त्र खड्काले भने । 

कांग्रेस सभापतिको हैसियतमा देउवा भाजपा मुख्यालय गएको परराष्ट्रमन्त्रीको प्रस्टीकरण भारत भ्रमणमा प्रधानमन्त्री देउवा सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालय गएको विषयमा परराष्ट्रमन्त्री नारायण खड्काले प्रस्टीकरण दिएका छन् । उनले देउवा कांग्रेस सभापतिको हैसियतमा भाजपाको मुख्यालयमा गएको र यसलाई कूटनीतिक मर्यादाविपरीत भन्न नमिल्ने बताए ।

‘नेपाली कांग्रेसले अन्य विभिन्न देशका पार्टीहरूसँग पनि मैत्रीपूर्ण सम्बन्ध राख्दै आएको छ । चीनको कम्युनिस्ट पार्टीसँग पनि राम्रो सम्बन्ध छ । त्यसैगरी भारतको कंग्रेस पार्टीसँग पनि छ । अहिले भारतीय जनता पार्टी कार्यालयमा उहाँ प्रधानमन्त्रीका हैसियतमा जानुभएको होइन,’ उनले भने, ‘उहाँ नेपाली कांग्रेसको सभापतिको नाताले पार्टी–पार्टीबीचको सम्बन्ध स्थापित गर्नका लागि भाजपा हेडक्वार्टर जानुभएको हो ।’ 

ad
ad