१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १८ शुक्रबार
  • Friday, 05 July, 2024
भवानीश्वर गौतम काठमाडाैं
२o७८ चैत १८ शुक्रबार o७:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सामुदायिक विद्यालयमा डेढ लाख कक्षाकोठा अभाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १८ शुक्रबार o७:३३:oo

देशभर प्रारम्भिक बाल विकाससहित ३० हजार पाँच सय ८७ सामुदायिक विद्यालय छन् । सरकारी तथ्यांकअनुसार यी विद्यालयमा करिब डेढ लाख कक्षाकोठा अभाव छन् । 

देशभरका सामुदायिक विद्यालयमा डेढ लाख कक्षाकोठा आवश्यक रहेको शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले बताए । शिक्षा मन्त्रालय र केन्द्रमा सामुदायिक विद्यालयले सबैभन्दा बढी कक्षाकोठा निर्माणको माग गर्दै आएका छन् ।

केन्द्रले राष्ट्रपति शैक्षिक कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयलाई आवेदन माग गर्दा सबैभन्दा धेरै विद्यालयले कक्षाकोठा निर्माणको माग गरेका थिए । चालू आर्थिक वर्षका लागि माग गरेको सो कार्यक्रममा कक्षाकोठा निर्माणका लागि सात हजार नौ सय ८६ विद्यालयले आवेदन दिएका थिए । शैक्षिक सुधारका लागि १३ हजार चार सय ७३ आवेदन परेकामा आधाभन्दा बढी भवन निर्माणको माग भएको महानिर्देशक पौडेलले बताए । उनले भवनको मागलाई क्रमशः पूरा गर्दै जाने बताए । 

कर्णाली र सुदूरपश्चिमका विद्यालयमा धेरै कक्षाकोठाको माग भएको छ । केन्द्रले चालू आर्थिक वर्षमा झन्डै दुई हजार विद्यालयमा कक्षाकोठा निर्माणका लागि अनुदान दिएको छ । जसमध्ये नौ सय ७६ विद्यालय चारकोठे र नौ सय ६६ विद्यालय दुईकोठे भवन निर्माणका लागि छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुईकोठे भवन निर्माणका लागि १८ लाख रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ । यसले पनि देशभरमा भवन निर्माणको आवश्यकता देखिएको छ । 

भवनपछि बढी आवश्यकता आइसिटीमा देखिएको छ । आइसिटीका लागि चार हजार दुई सय आवेदन परेकामा आइसिटी ल्याब व्यवस्थापनमा दुई हजार एक सय ६ छनोट भएका छन् । 

देशभर प्रारम्भिकदेखि कक्षा १२ सम्म पढाइ हुने विद्यालयको संख्या ३५ हजार ६ सय ७४ छ । यसमध्ये ३० हजार पाँच सय ८७ सामुदायिक विद्यालय छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको फ्लास रिपोर्ट, २०२० अनुसार प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म निजी र सामुदायिकमा गरी ८२ लाख १४ हजार पाँच सय १३ बालबालिका छन् । रिपोर्टअनुसार कक्षा १ देखि १२ सम्म सामुदायिक विद्यालयमा ५३ लाख ३५ हजार आठ सय ४३ विद्यार्थी भर्ना भएका थिए । 

भूकम्प प्रभावित जिल्लामा पनि थप कोठा आवश्यक
०७२ को भूकम्पले ३१ जिल्लाका विद्यालय प्रभावित भएका थिए । तीमध्ये सात हजार पाँच सय ८३ विद्यालय पुनर्निर्माण गर्नुपर्नेमा अधिकांश निर्माण सम्पन्न भएका छन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का अनुसार विद्यालय पुनर्निर्माणमा अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ । अहिलेसम्म ६ हजार ६ सय ४७ विद्यालय पुनर्निर्माण भइसकेका छन् । नौ सय ३६ निर्माणाधीन छन् । जम्मा बनाउनुपर्ने विद्यालय संख्या सात हजार पाँच सय ८३ हो ।

इकाइका अनुसार भूकम्पबाट ३१ जिल्लामा सात हजार नौ सय २३ विद्यालयमा क्षति पुगेको थियो । ती विद्यालयको २१ हजार एक सय ६९ कक्षाकोठा पूर्ण रूपमा, १२ हजार पाँच सय २२ कक्षाकोठा अधिक र १५ हजार नौ सय ९० कक्षाकोठा आंशिक क्षति पुगेको थियो ।

ad
ad
ad
ad