गुल्मीको तम्घासमा थ्रिडी पार्क उद्घाटन भएको छ । रेसुंगा नगरपालिका र प्रदेश सरकारको ५०/५० प्रतिशत साझेदारीमा ५८ लाख ८८ हजारको लागतमा थ्रिडी पार्क निर्माण गरिएको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए।
आर्थिक वर्ष ०७५/७६ बाट पार्क निर्माण कार्य अगाडि बढेको थियो । विभिन्न प्राविधिक समस्याका कारण सञ्चालन गर्न नसकिएको मरासिनीले बताए । शुक्रबार साँझ पार्कको रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरे । हामीले पार्कको संरक्षण गरे मात्रै पार्कले बजारलाई सौन्दर्य दिने बताए ।
समयमै हस्तान्तरण नभएका कारण पार्कले क्षतिसमेत व्यहोर्नुपरेको सन्दर्भ उल्लेख गर्दै सबै जिम्मेवार बन्नुपर्नेमा भुसालले जोड दिए। लाँकुरीमञ्च तम्घासको मुटु हो। लाँकुरीको चौतारीमा बसेर थुप्रै व्यवस्थाका विरुद्ध खबरदारी हुन्थे। त्यही मञ्चले थुप्रै नेता जन्मायो। मञ्चको बेग्लै पहिचान र इतिहास थियो ।
अहिले आधुनिक सहरको नाममा लाँकुरी मञ्च भत्काएर थ्रिडी पार्क निर्माण गरिएको छ । तर सञ्चालन र व्यावस्थापन प्रक्रिया अन्याेल भएका कारण पार्क लामो समय अलपत्र थियो । प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले नागरिकले आफ्नो सरह सरकारी सम्पत्तिको संरक्षणको दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए ।
रेसुंगा नगरपालिका वडा नं ८ का वडाध्यक्ष भरत भलामीले आज पार्कको उद्घाटन गरेर भोलि फेरि लथालिंग हुने अवस्थाप्रति जिम्मेवार बन्न सबैलाई अनुरोध गरे ।