१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
लक्ष्मण खनाल युएई
२०७८ चैत ८ मंगलबार ०६:२७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

श्रम–सम्झौता नवीकरण गर्न नेपाल र कतार सहमत

Read Time : < 1 मिनेट
लक्ष्मण खनाल युएई
२०७८ चैत ८ मंगलबार ०६:२७:००

नेपाल र कतारबीच श्रम–सम्झौता नवीकरण गर्न नेपाल र कतारका श्रममन्त्री सहमत भएका छन् । कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा. अल विन समिख अल मारीबीच यस्तो सहमति भएको हो । छलफलमा   मन्त्री श्रेष्ठले नेपाल र कतारबीच श्रम–सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे मारीलाई जानकारी गराएका थिए । सो क्रममा कार्यदलस्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रूप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजना गर्ने सहमति भएको छ ।

मन्त्री श्रेष्ठले समकक्षी मारीलाई हस्ताक्षर समारोहमा उपस्थितिका लागि नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । गत मंसिरमा काठमाडौंमा भएको नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा भएका निर्णय कार्यान्वयनबारे पनि छलफल भएको थियो । नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम–सम्झौता पुनरावलोकन गर्ने सहमति भएको थियो ।

कतारमा काम गरेर फर्केका नेपालीको आर्थिक, सामाजिक पुनः एकीकरणमा सघाउन नेपालले प्रस्ताव गरेको छ । नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले नेपालका सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न सहयोग गर्ने जनाएको थियो । भेटवार्तामा श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र बिमाको व्यवस्था, सामाजिक सुरक्षामा सहभागितालगायतका विषयमा पनि छलफल भएको छ । मन्त्री मारीले कतारमा आयोजना हुने विश्वकपमा नेपाली श्रमिक ल्याउन इच्छुक रहेको पनि बताएका थिए । नेपाल र कतारबीच दौत्य सम्बन्ध स्थापना भएको करिब तीन दशक भइसकेको छ ।