मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ चैत ५ शनिबार ११:५२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पोखरामा जापान बिर्साउँदै ‘होटेल शारा’

Read Time : > 1 मिनेट
२०७८ चैत ५ शनिबार ११:५२:००

कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र र होटेल व्यवसाय अहिले बिस्तारै जुर्मुराउन थालेका छन्। कोरोना महामारीपछि पोखरा लेकसाइड १४ नम्बर स्ट्रिटमा जापानिज हस्पिटालिटीको झल्को दिने गरी ‘होटेल शारा’ सञ्चालनमा आएको छ।

नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी सञ्चालनको तयारी गरिएको होटेल कोरोना संक्रमणको दर कम भएसँगै सञ्चालनमा आएको हो । जापानिज होटेलको सेवा–सुविधाको झल्को दिने गरी एक अर्ब रुपैयाँभन्दा बढीको लगानीमा होटेल शारा सञ्चालनमा आएको हो। यस होटेलको सञ्चालनसँगै हस्पिटालिटी क्षेत्रमा अर्को आयाम थपिएको दाबी गर्छन् होटेलका सञ्चालक सिपी चक्र सुवेदी। शारामार्फत समग्र मुलुकको पर्यटन क्षेत्रलाई टेवा पुर्‍याउने उद्देश्यले हस्पिटालिटी क्षेत्रमा लगानी गरेको उनी बताउँछन्।

जापानमा करिब तीन दशक बिताएका सुवेदीले विदेशमा रहँदा हस्पिटालिटी क्षेत्रमा आफूले देखेका अधिकांश सामग्री जापानबाटै ल्याएका छन्। ‘होटेलमा आउने पाहुनाहरूले जापानकै कुनै होटेलको आभास गर्न पाउनेछन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘नेपालमा रहँदा होटेल र ट्राभल एजेन्सीमा काम गरेको अनुभव पनि छ। सुरुवातदेखि पर्यटन क्षेत्रमा सक्रिय रहेकाले हस्पिटालिटी क्षेत्रलाई नै निरन्तरता दिएको हुँ।’ सुवेदी होटेल शारा लेकसाइडकै अग्लो होटेल भएको दाबी गर्छन्। डेढ रोपनी जग्गामा फैलिएको होटेलमा सुविधासम्पन्न पार्किङसहितको व्यवस्था रहेको छ। उनका अनुसार होटेलमा सानाठूला गरी दुई सय सवारीसाधन पार्किङको क्षमतासमेत छ।

पोखराको आकर्षण मानिने लेकसाइडमा सबैभन्दा अग्लो भवनको यस होटेलमा ६२ वटा कोठा छन्। प्रत्येक कोठाको बाथरुममा जापानिज प्रविधिको वासलेटसहितको सिस्टम छन्। होटेलबाट फेवाताल, हिमाल र आसपासको आकर्षक तथा मनमोहक प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ।

होटेलको आठौँ फ्लोरमा स्पा, ब्युटिकेयर, ड्राइ र स्टिम साउना, अर्थोपेडिक ट्रिटमेन्ट (हाड जोर्नी, रक्तसञ्चालन तथा नशाको प्राकृतिक उपचार)को लागि जापानिज ओन्सेन (हटटब/ज्यागुजी)को पनि व्यवस्था छ। त्यस्तै, नवौँ फ्लोरमा स्वीमिङ पुलसमेतको सुविधा छ। स्काई बार र फ्री योगा हबको सुविधा रहेको होटेलमा ३६० डिग्रीको भ्यु–टावरसमेत रहेको छ। जसबाट पोखरा उपत्यका, रानीवन, विश्वशान्ति स्तुपा, शिव महामूर्ति, फेवाताल, हिमालसहित वरिपरिका दृश्यावलोकन गर्न सकिन्छ। त्यस्तै, नवौँ फ्लोरमा स्वीमिङ पुलसमेतको सुविधा छ।

सर्वसाधारणदेखि विदेशी राष्ट्र प्रमुखसम्मलाई टार्गेट
होटेलमा राष्ट्र प्रमुख, सरकार प्रमुख तथा मन्त्रीहरू आउँदा अन्तर्राष्ट्रियस्तरको सुविधासहितको बसोवासको व्यवस्था रहेको छ। होटेल शारामा अत्याधुनिक सेवा–सुविधासहितको प्रेसिडेन्सियल स्विट, पियम स्विट र मिनिस्टेरियल स्विटको समेत व्यवस्था गरिएको छ। महामारीले थलिएको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन शारा हस्पिटालिटीले सहयोग गर्ने उनले विश्वास व्यक्त गरे। ‘हामीले सर्वसाधारणदेखि विदेशी राष्ट्र प्रमुखसम्मलाई टार्गेट गरेर सेवा उपलब्ध गराउछौँ। शाराले पोखरा घुम्न आउने विदेशी पर्यटकले होटेलमा आफूले चाहेजस्तो कोठामा बस्न सक्छन्,’ उनले भने, ‘५५ सय रुपैयाँदेखि ८१ हजारसम्मको सुविधासम्पन्न कोठा पाइन्छ। काेराेना महामारीकाे समयमा अहिले विशेष छुट दिइरहेका छौँ।’

विश्वभर संक्रमण घट्दै गएकाले र खोपले सुरक्षा बढाएकाले विस्तारै पर्यटकको संख्या बढेर हस्पिटालिटी क्षेत्रमा टेवा पुग्ने उनको विश्वास छ। उनी सरकारले पर्यटकीय क्षेत्रलाई उत्थान गर्न नीतिमा परिवर्तन गरेर व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिन्छन्। ‘महामारीपश्चात् दक्ष कामदार पलायन हुँदै गएका छन्। बैंकले ठुल्ठूला व्यवसायीलाई लगानी गर्न सहजै मानिरहेको अवस्था छैन। राज्यले स्पष्ट नीति बनाएर काम गर्नेलाई हौसला प्रदान गर्नुपर्छ। वैदेशिक लगानीकर्तालाई मुलुकमा भित्र्याउन सहज वातावरण बनाउनुपर्छ,’सुवेदी भन्छन्। होटेलमा कन्फ्रेन्स हल, म्युजिक भिडियो तथा चलचित्र सुटिङको व्यवस्था, विवाह, इंगेजमेन्टजस्ता शुभ कार्यसमेत गर्न सकिने चारतारे गुणस्तरको  सुविधा उपलब्ध रहेको छ।