मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस काठमाडौँ
२०७८ चैत २ बुधबार ११:३८:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘भिजिट भिसा’बाट सिर्जित समस्या समाधान गर्न नेपाल र युएईका श्रममन्त्री सहमत    

Read Time : > 1 मिनेट
रासस काठमाडौँ
२०७८ चैत २ बुधबार ११:३८:००

संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संसाधनमन्त्री डा अब्दुलरहमान अब्दुलमानन अल अवारबीच मंगलबार भेटवार्ता भएको छ ।  

युएईको राजधानी आबुधाबीस्थित मानव संसाधन मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच दुई देशको आपसी सम्बन्ध र युएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ ।  

श्रममन्त्री श्रेष्ठले युएई सरकारले हालै जारी गरेको श्रम कानुन आप्रवासी श्रमिकको पक्षमा रहेको भन्दै युएई सरकारको प्रशंसा गरेका थिए । भेटवार्ताका क्रममा उनीहरूबीच रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीको समस्या समाधान गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको छ ।

रोजगारीको प्रलोभन देखाई भिजिट भिसामा युएई ल्याउने व्यक्ति तथा संस्थालाई कारबाहीको दायरामा ल्याउन युएई सरकारले सहयोग गर्ने बताइएको छ । भेटमा मन्त्री अवारले युएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गरी दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।    

उनले नेपाल सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पताल निर्माणमा पनि युएई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । उनीहरूबीच युएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र बिमा, पारिश्रमिक वृद्धिलगायत विषयमा पनि छलफल भएको थियो । लामो समयदेखि कार्यरत घरेलु महिला श्रमिकलाई पुनः श्रम स्वीकृति खुला गर्ने नेपाल सरकारको निर्णयले युएईमा रहेका घरेलु महिला श्रमिक लाभान्वित हुने मन्त्री अवारको भनाइ थियो ।    

भेटवार्तामा मन्त्रालयका सचिव एकनारायण अर्याल, युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, सहसचिव राजीव पोखरेल, उपसचिव डा. थानेश्वर भुसालको सहभागिता रहेको थियो । युएईका तर्फबाट त्यहाँका मानव संसाधन मन्त्रालयका सचिव अब्दुल्लाह अलनायमी, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक अब्दल्लाह अल्सामीलगायत सहभागी थिए ।