मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण ३० सोमबार ०८:५०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय उडान बढाउँदै वायुसेवा निगम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण ३० सोमबार ०८:५०:००

कोभिड महामारी कम हुँदै गएसँगै नेपाल वायुसेवा निगम (नेवानि)ले रोकिएका अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको छ । १ अप्रिलदेखि काठमाडौंबाट जापानको नारितामा साताको दुई उडान गर्न लागेको निगमले जनाएको छ । अहिले सातामा एक दिन मात्र शुक्रबार उडान भइरहेको छ । अब मंगलबार र शुक्रबार उडान गर्ने तालिका निगमले सार्वजनिक गरेको छ । जापानमा ठूलो संख्यामा नेपाली रहेको र धेरै जापानिज नागरिक नेपाल भ्रमणमा पनि आउने हुनाले थपिएको उडानबाट सहजता हुने निगमले जनाएको छ ।

कोभिड महामारीपछि भारतले अन्तर्राष्ट्रिय उडानका लागि नेपालसहित विभिन्न मुलुकहरूसँग गरेको एयर बबल सम्झौता खारेज गरेको छ । यससँगै २७ मार्चदेखि निगमले मुम्बई र बैंग्लोरमा रोकिएका उडान पनि पुनः सुरु गर्ने भएको छ । कोभिडअघि निगमले मुम्बई र बैंग्लोरमा सातामा तीन दिन र दिल्लीमा दैनिक दुईवटा उडान गर्दै आइरहेको थियो । भारतले एयर बबल सम्झौता गरेपछि मुम्बई र बैंग्लोरको उडान रोकिनुका साथै दिल्लीको उडान पनि कटौती भएको थियो । कोभिडपछि दिल्लीमा दैनिक एउटा मात्र उडान गरिरहेको निगमले अब दैनिक दुईवटा उडान गर्नेछ । अब भारतका तीनवटै गन्तव्यमा कोभिडअघिकै कार्यतालिकाअनुसार उडान हुने निगमले जनाएको छ ।

यहीबीचमा निगमले साउदी अरेबियाका तीन सहर रियाद, दमाम र जेद्दामा व्यावसायिक उडान गर्ने अनुमति पाएको छ । साउदी अरेबियाको जनरल अथोरी अफ सिभिल एभिएसन (जिएसिए)का अधिकारीले २२ फागुनमा साउदी अरेबियाको रियादस्थित निगमकै सम्पर्क कार्यालयमा पुगेर औपचारिक रूपमा उडान अनुमति दिएको हो ।

साउदीका तीन सहरमध्ये रियादमा अप्रिल २०२२ देखि नै व्यावसायिक उडान सुरु गर्ने निगमले जनाएको छ । निगमले काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा साताको तीनवटा नियमित उडान गर्दै छ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरेर साउदी उडान सुरु गर्न लागेको निगमले जनाएको छ । साउदीमा नेपालकै निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पनि नियमित उडान गर्दै आइरहेको छ । निगमले भारत, मलेसिया, कतार, दुबई, हङकङ, जापान र थाइल्यान्डमा उडान गर्दै आइरहेको छ ।

नेपालको आन्तरिक उडानमा अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पनि आउँदो अप्रिलदेखि काठमाडौं–बनारस–काठमाडौं उडान पुनः सुरु गर्न लागेको छ । बुद्धले आइतबार, बुधबार र शुक्रबार भारतको बनारस उडान गर्न लागेको हो । यसअघि पनि बुद्धले काठमाडौं–बनारस उडान गरेकोमा बीचमै रोकिएको थियो ।