१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २७ शुक्रबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २७ शुक्रबार o७:o९:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
विश्व प्रिन्ट संस्करण

पन्जाबमा आम आदमी, चार राज्यमा बिजेपी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २७ शुक्रबार o७:o९:oo

दिल्लीबाट सुरु भएको क्रान्ति पन्जाब पुगेको अरबिन्द केजरीवालको प्रतिक्रिया

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको दल आम आदमी पार्टी (आप)ले पन्जाब विधानसभामा अप्रत्याशित विजय हासिल गरेको छ । एक सय १७ सिटका लागि भएको पन्जाब विधानसभाको निर्वाचनमा आम आदमीले एक्लै ९२ सिट जितेको छ । सन् २०१७ को निर्वाचनमा ७७ सिट जितेको भारतीय राष्ट्रिय कंग्रेस ५९ सिट गुमाउँदै १८ सिटमा सिमेटिन पुगेको छ । अघिल्लो विधानसभामा आम आदमीको २० सिट थियो । 

विधानसभामा १५ सिट रहेको अकाली दल चार सिटमा खुम्चिएको छ । पन्जाब विधानसभामा अकाली दल र बहुजन समाज पार्टीले गठबन्धन गरेका थिए । पन्जाबमा कमजोर देखिएको बिजेपी एक सिट गुमाउँदै दुई सिटमा सीमित भएको छ । कंग्रेसबाट मुख्यमन्त्री रहेका प्रकाश सिंह बादल, चरणजी चुन्नी, नवोजित सिंह सिद्धु, क्याप्टेन अमरिंदर सिंह, सुखबीर सिंह बादललगायतका हस्तीले नराम्रो हार व्यहोरेका छन् । 

मतदाताले बिजेपीको नीति, योजना र कार्य प्रदर्शनलाई अनुमोदन गरेका छन् । यसले सन् २०२४ को आमनिर्वाचनलाई संकेत गरेको छ  - नरेन्द्र मोदी, भारतीय प्रधानमन्त्री

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनको नतिजाप्रति खुसी व्यक्त गरेका छन् । उनले भाजपालाई विजय गराएर मतदाताले बिजेपीको नीति, योजना र कार्य प्रदर्शनलाई अनुमोदन गरेको भनेका छन् । उनले सन् २०२२ को विधान सभा निर्वाचनले सन् २०२४ को आमनिर्वाचनलाई संकेत गरेको बताएका छन् । ‘गोवामा सारा मतसर्वेक्षण फेल खाए । निरन्तर १० वर्षदेखि गोवामा सरकार चलाइरहँदा पनि बिजेपीको सिट घटेको छैन । जनताले तेस्रो कार्यकालका लागि विजय गराएका छन् । उत्तराखण्डमा पनि विजय दोहोरिएको छ,’ मोदीले साँझ भाजपा मुख्यालयबाट मतदातालाई धन्यवाद दिँदै भनेका छन् ।   

पन्जाब राज्यमा अभूतपूर्व जित हासिल गरेको आम आदमी पार्टीले पनि उत्साही प्रतिक्रिया दिएको छ । पार्टी नेता अरबिन्द केजरीवालले पन्जाबको जितपछि दिल्लीबाट सुरु भएको क्रान्ति पन्जाब पुगेको प्रतिक्रिया दिएका छन् । पछिल्लो चरणमा भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा भारतीय कंग्रेसको भने प्रदर्शन निराशाजनक देखिएको छ । पाँचै राज्यमा निराशाजनक प्रदर्शन गरेको कंग्रेसका कार्यकर्ताले इबिएमका माध्यमबाट लोकतन्त्रको हत्या गरिएको भन्दै पार्टीको मुख्यालयअगाडि प्रदर्शनसमेत गरेका छन् ।  

पछिल्लो मतपरिणाम सार्वजनिक भएका पाँच राज्यमध्ये पन्जाबमा कंग्रेसको सरकार थियो । पार्टीले पन्जाबको बहुमत जोगाउने र अन्य तीन साना राज्य गोवा, उत्तराखण्ड र मणिपुरमा पुनरागमन गर्ने वा कडा टक्कर दिने आशा गरिएको थियो । निर्वाचन परिणामपछि दिल्लीस्थित कंग्रेसको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव एवं प्रमुख प्रवक्ता रणदीप सुर्जेवालाले आफूहरूले निर्वाचन हारे पनि साहस नगुमाएको प्रतिक्रिया दिए । पछिल्लो विधानसभा चुनाव भएकामध्ये सबभन्दा ठूलो र महत्वपूर्ण राज्य उत्तरप्रदेशको कंग्रेस पार्टी अध्यक्ष प्रियंका गान्धी भद्राले आफ्ना कार्यकर्ता तथा नेताले कठोर मिहिनेत गरे पनि त्यसलाई मतमा बदल्न नसकेको स्विकारेकी छन् । उत्तरप्रदेशमा कंग्रेसको सिट तथा मतदाता दुवैको संख्या सन् २०१७ को विधानसभाको निर्वाचनको तुलनामा निकै घटेको देखिएको छ । 

उत्तराखण्ड, उत्तरप्रदेश, गोवा र मणिपुरमा भाजपा
उत्तराखण्ड विधानसभामा भारतीय जनता पार्टीले दुईतिहाइभन्दा धेरै सिटमा जित हात पारेको छ । विधानसभाका ७० सिटमध्ये भाजपाले ४८ सिट, कंग्रेसले १८ र अन्यले चार सिट जितेका छन् । सबैभन्दा धेरै विधानसभा सिट भएको भारतीय राज्य उत्तरप्रदेश (युपी)मा भाजपाले पुनरागमन गरेको छ । विधानसभाका चार सय तीन सिटमध्ये दुई सय ५६ सिट भाजपाले जितेको छ । यसअघि भाजपाले उत्तरप्रदेश विधानसभामा तीन सय १२ सिट जितेको थियो । उत्तरप्रदेशमा भने बिजेपीले ५६ सिट गुमाएको देखिएको छ ।  अखिलेश यादवको समाजवादी पार्टीले एक सय १० सिट जितेको छ । 

यस्तै, ४० सिट रहेको गोवा विधानसभामा भाजपाले २० सिट जितेको छ । दुई सिट जितेको एमजिपीको सहकार्यमा भाजपाले सरकार बनाउने भएको छ । कंग्रेसले १२ सिटमा जित हासिल गरेको छ । मणिपुर विधानसभामा भाजपाले एकल सरकार बनाउन बहुमत पुग्ने गरी ३२ सिटमा जित हासिल गरेको छ । मणिपुर विधानसभामा ६० सिट छन् । 

पन्जाबमा कसरी चल्यो आम आदमीको झाडु ?

आम आदमी आफ्ना लोकसभा सदस्य भागवन्त सिंहलाई पन्जाबको भावी मुख्यमन्त्रीका रूपमा अघि सारेर विधानसभा निर्वाचनको मैदानमा उत्रिएको थियो । दिल्लीमा जस्तै पन्जाब विधानसभाको निर्वाचनमा पनि आम आदमी पार्टीको लोकप्रिय कार्यक्रम एवं नाराले जादू गरेको मानिएको छ । आम आदमीका मुखिया केजरीवालले आफ्नो पार्टीले विधानसभा जिते पन्जाबका सबै नागरिकलाई तीन सय युनिट बिजुली निःशुल्क दिने, टोलटोलमा निःशुल्क स्वास्थ्य उपचार दिन मोहल्ला क्लिनिकहरू खोल्ने, १८ वर्षमाथिका हरेक महिलालाई एक हजार रुपैयाँ दिने घोषणा गरेका थिए । 

नयाँपन दिन केजरीवालले भावी मुख्यमन्त्रीको चयन पनि मतसर्वेक्षणमार्फत गरेका थिए । पहिले कमेडियनसमेत रहेका भागवन्त मानलाई मतसर्वेक्षणमा ९३ प्रतिशतले मन पराएको देखिएको थियो । जाट सिंख परिवारका भागवन्त सन् २०१४ देखि लगातार दोस्रोपटक लोकसभा सदस्य छन् । निर्वाचनमा विजय हासिल गरेलगत्तै उनले स्वतन्त्र सेनानी भगत सिंहको गाउँ खट्कर कलानबाट मुख्यमन्त्रीको शपथ लिने उद्घोष गरेका छन् ।

आपले अहिलेको पन्जाब विधानसभा निर्वाचन चुनावी रणनीतिकार प्रशान्त किशोरको चुनावी रणनीतिमा लडेको थियो । दिल्लीमा जनप्रिय काम गरेर आम आदमीले राजनीतिमा छिटै फड्को मारेको छ । भ्रष्टाचारविरोधी सामाजिक अभियन्ता अरबिन्द केजरीवालले सन् २०१२ को नोभेम्बरमा आम आदमी पार्टी गठन गरेका थिए । यो पार्टीले सन् २०१५ को दिल्ली विधानसभा निर्वाचनमा पहिलोपल्टै ७० मध्ये ६७ सिट जितेको थियो । सत्तासीन कंग्रेसलाई शून्य सिटमा पत्तासाफ गरेर बिजेपीलाई तीन सिटमा समेटेको थियो । 

आम आदमी पार्टीले पन्जाबमा पहिलो निर्वाचन सन् २०१४ को लोकसभा चुनावमा लडेको थियो । दोस्रोपटक सिमरजित सिंहको लोक इन्साफ पार्टीसँग मिलेर सन् २०१७ को विधानसभा लडेको थियो । सो विधानसभा निर्वाचनमा सन्तोषजनक प्रदर्शन गरेको भए पनि सन् २०१९ को आम निर्वाचनमा भने आपले पन्जाबलगायत दिल्लीमा समेत अपेक्षा गरेभन्दा निकै कमजोर प्रदर्शन गरेको थियो । दिल्लीका सबै सातवटै निर्वाचन क्षेत्रमा हार व्यहोर्‍यो । तर, सन् २०२० मा भएको दिल्ली विधानसभा निर्वाचनमा भने आपले ६२ सिटमा जित हासिल गरेको थियो ।

ad
ad
ad
ad