१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
बाबुकृष्ण कार्की
२o८१ जेठ ६ आइतबार o८:५१:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

वन्यजन्तुले माया पाउने कहिले ?

Read Time : > 2 मिनेट
बाबुकृष्ण कार्की
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:५१:oo

यो साता (मार्च ३–१०) विश्वसँगै नेपालले पनि ‘विश्व वन्यजन्तु सप्ताह’ मनाउँदै छ । यो सप्ताह मनाउन थालेको २०७९ मा ५० वर्ष पूरा हुँदै गर्दा वन्यजन्तु र तिनको वासस्थान विनाशले विश्व धेरै दुःखी हुनेछ । थोरै मुलुकसँगै ठाडो शिर र चौडा छाती गरेर वन्यजन्तु र तिनको वासस्थान संरक्षणमा पाएको सफलताका कथा सुनाउने मुलुकमा नेपाल पनि हुनेछ । सुनाउन र देखाउन लायक हाम्रो गौरव भनेको प्राकृतिक सौन्दर्य र प्रकृतिको संरक्षणमा पाएको सफलता नै हो । अन्य धेरै गौरव गाथा त सायद हामीले पोलेरै खाइसक्यौँ ।

०७४/७५ मा ३९१, ०७५/७६ मा ४९५ र ४९५ र ०७६/७७ मा ५९१ वन्यजन्तुको मृत्युको तथ्यांकलाई सही मान्ने हो भने हरेक वर्षको मृत्युदर एक सयका दरले बढेको देखिन्छ । मृत्युदर र मृत्यु वृद्धिदर दुवै कहालीलाग्दो छ । मृत्युका कारण चोरी सिकारी, अतिक्रमण, सडक दुर्घटना आदि जे भने पनि ती मानवनिर्मित नै हुन् । आहार, घाँस, पानीको अभाव, तार जाली र नहरको दुर्घटना, जुधेर मृत्यु पनि मानवीय असावधानी र लापरबाहीका कारण हुने हुन् । प्राकृतिक मृत्यु अकालमा हुनु वन्यजन्तु व्यवस्थापन र शान्ति सुरक्षाको कमी तथा कमजोरी हुन् । प्राकृतिक विपत्ले हुने क्षति र कालगतिको मृत्यु संख्या धेरै कम हुन्छ ।

भूगोल, पहुँच र समन्वयको अभावले क्षतिको दुरुस्त तथ्यांक आउन सम्भव छैन । सफलता र उपलब्धि बढाइ–चढाइ देखाउने र क्षतिचाहिँ लुकाउने हाम्रो पुरानै रोग हो । हामीले हिजो पनि ढाँट्यौँ र आज पनि हामी ढाँटिरहेकै छौँ । सत्यतथ्य लुकाइरहेका छौँ । वास्तविक क्षतिको आँकडा अझ डरलाग्दो छ । चोरी सिकारी व्यापक बढेको छ । फलस्वरूप अवैध वन्यजन्तु व्यापार पनि बढेकै छ । मानव अतिक्रमण र आक्रमणको कुरै नगरौँ । तसर्थ, मानव–वन्यजन्तु द्वन्द्वको प्रमुख कारण हामी मानव नै हौँ । तर, हामी वन्युजन्तुमाथि दोष थोपरिरहेका छौँ । 

दृष्टि दोष : हिजो निकुञ्ज आरक्ष र वन्यजन्तुलाई राजाका निजी सम्पत्ति भनियो । आज वन र निकुञ्जका ‘वाहियात बोझ’ भन्नेहरूको स्वर ठूलो छ । फिल्डमा वनरक्षक, वन र निकुञ्ज प्रशासनसँगै नेपाली सेना आँखाको तारो भएको छ । चुरे खारौँ, त्यसपछि, महाभारत सम्म पारौँ र अन्त्यमा सगरमाथा खारेर समथर नेपालको परिकल्पना गर्ने विनाशकारी, घुसखोरीहरूको बोलवाला बढेको छ । विज्ञमाथि अनभिज्ञहरूको नियन्त्रण छ । विश्व सम्पदामा सूचीकृत गौरवमय निकुञ्ज र सम्पदाहरू विश्वसूचीबाट हटाउने दुष्प्रयास भइरहेको छ । विकास र पूर्वाधारका नाममा पाटे बाघ र गैंडाका वासस्थानहरू चिर्ने, फोर्ने र मास्ने प्रकृतिविरोधी काम जारी छ ।

मानव–वन्यजन्तु द्वन्द्वको प्रमुख कारण हामी मानव नै हौँ । तर, हामी वन्यजन्तुमाथि दोष थोपरिरहेका छौँ ।

अब दृष्टिदोष हटाऊँ । वन्यजन्तुहरू तीन करोड नेपाली जनताका साझा सम्पत्ति हुन् । नेपाल आमाका सौन्दर्य र समृद्धिका प्राथमिक स्रोत हुन् । प्राकृतिक विपत् नियन्त्रणका औजार हुन् । किनभने हरियो वनजंगलसहितको हरित नेपालमा मात्र हो प्राकृतिक विपत् नआउने । वनजंगलविनाको मुलुकमा प्राकृतिक विपत्ले धुरुधुरु रुवाइरहनेछ । ठूलो समृद्धि भित्र्याउन हाम्रा वन्यजन्तु विश्वका सात अर्बभन्दा बढी जनताले हेरून् । आफ्ना प्रिय क्यामरा र मन मुटुमा राखून् । चुनौती अनेक, अवसर एक : चुनौती अनेक छन् । अरू बढ्नेछन् । तर, एउटा पहलकदमी एउटा अवसरको मात्र खाँचो छ । वन्यजन्तु दिन दुई गुना रात चार गुना बढ्नेछन् । हेर्दाहेर्दै मुलुक स्वर्ग हुनेछ । 

वन्यजन्तुका कार्यकारी संरक्षक वनमन्त्री सरल, सादगी, प्रकृतिप्रेमी, प्रतिबद्ध हुनुहुन्छ । वनसचिव पेसा र नीतिमा पोख्त हुनुहुन्छ । निकुञ्ज विभागले वन्यजन्तुबारे जानकार काबिल र प्रतिबद्ध नेतृत्व पाएको छ । संरक्षण खम्बा नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जका पूर्व सफल गणपतिको नेतृत्व पाएको छ । योभन्दा अनुकूल र अपूर्व अवसर वन्यजन्तु संरक्षणका लागि अरू के हुन सक्छ ? अर्को संरक्षण खम्बा स्थानीय समुदाय सधँै संरक्षणमा कटिबद्ध र समर्पित छँदै छन् । उनीहरूको स्थानीय युवा चोरी सिकार नियन्त्रण समूह (सिबिएपियू) उसै त्याग गर्न तत्पर छ । 

सुधार गर्नुपर्ने कुरा सबै केन्द्रमा छ । नीति ऐन कानुन निर्माण । नीति कार्यान्वयन र अनुगमन । स्रोत–साधनको उचित व्यवस्थापन र समानुपातिक वितरण । सुशासनको प्रत्याभूति । फिल्ड सधैँ ऊर्जाशील छ । त्यागी र बलिदानी छ । स्थानीय जनता प्रकृतिप्रेमी छन् । स्वाभिमानी र त्यागी छन् । बाघले अकल्पनीय समृद्धि ल्याउनेमा दृढ निश्चयी छन् । 

सुधारको खाँचो केन्द्रमा छ । उच्च नेतृत्वमा छ । किनभने भाँडभैलो र गाईजात्रा सबै माथि छ । तसर्थ, मुहानको संकल्प र शुद्धीकरणले फिल्डमा ऊर्जा भर्न सुरु गरौँ । विनाविलम्ब र अनिवार्य निम्न काम गरिहालौँ :पहिलो– चुनावी घोषणापत्रमा जलवायु परिवर्तन प्रभाव न्यून गर्न प्रकृति संरक्षणलाई उच्च प्राथमिकता दिने संकल्प गरौँ । अझ, हरित अर्थतन्त्रमार्फत हरित समृद्धिको भिजन दिऊँ ।

दोस्रो– प्रकृति संरक्षणको मुद्दालाई राजनीतिभन्दा माथ राख्ने कसम खाऊँ । जनता भड्काउने उचाल्ने लडाउने र वनजंगल तथा वन्यजन्तुभित्र राजनीति घुसाउने काम नगरौँ ।तेस्रो– नेपाली सेनाले सैनिक रणनीतिलाई पुनरावलोकन गरी अरू मुलुकको जस्तै ‘वातावरण सुरक्षा’लाई प्राथमिकतामा राखोस् । प्रकृति संरक्षणको दायरा बढाओस् । 
(लेखक संरक्षणकर्मी हुन्)

ad
ad