१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
बाबुकृष्ण कार्की
२o८१ जेठ ६ आइतबार o७:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

हाम्रा सिमसार जोगाउने चुनौती

Read Time : > 2 मिनेट
बाबुकृष्ण कार्की
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:२५:oo

कृषि र हरियो वनजंगल तथा हरित अर्थतन्त्रका लागि सिमसार वरदान हो, यसलाई जोगाऔँ


आज विश्व सिमसार दिवस । विश्वले यो दिवस मनाउन सुरु गरेको ५० वर्ष भयो । ५० वर्षमा विश्वका रामसार सदस्य राष्ट्रहरूले गरेको संकल्प र हासिल गरेको सफलता भिन्न छ । यो सम्पदाको रक्षा गर्नेमा सुशासन भएका देशहरू अग्रपंक्तिमा छन् । स्विट्जरल्यान्ड र स्विडेनले सिकाएको सिमसार संरक्षणको पाठ स्क्यान्डिनेभियन मुलुक हुँदै रुस, क्यानडा, अमेरिकालगायत मुलुकमा फैलिरहेको छ । एसियामा जापान र दक्षिण कोरियाले उदाहरणीय काम गरेर देखाएका छन् । 

प्रकृतिको औधि धनी नेपालले पनि विगत ३५ वर्षदेखि अनवरत रूपमा आजको दिवस मनाउँदै आएको छ । हामी जबर्जस्ती जलस्रोतमा विश्वको दोस्रो धनी देश भनेर विद्यार्थीलाई घोकाउने र आफू मख्ख पर्ने काम गरिरहेका छौँ । पानी दिन्छौँ दिन्छौँ भनेर झुक्याएको एउटा पिँढी बिदा भइसकेको छ । अर्को पिँढी र अबोध बालबालिकाको जमात काकाकुलझैँ प्रतीक्षामा छ । गाग्रीका ताँती, हिटी, कुवा, जरुवा, इनार सुक्खा हुनुको पीडा सुनिनसक्नु छ । राष्ट्रिय प्रतीक गैँडाले खोइ मेरो पिउने सफा पानी र खेल्ने घोल ताल, दलदल तथा घाउ निको पार्ने हिलो भनेर खोजिरहेको छ । 

विश्व रामसारमा हतार–हतार आफ्नो सिमसार सूचीकृत गरेर नेपालको गौरव बढाउने हाम्रा दूरदर्शी अग्रजलाई नमन र सम्मान छ । अझ त्यो पहिलो गर्विलो सिमसारको पहिचान, सीमांकन, नापनक्सा गरी दिगो संरक्षण र व्यवस्थापनका लागि त्यसलाई कोसिटप्पु वन्यजन्तु आरक्ष बनाउने साहसी अग्रजहरूलाई झन् धेरै सम्मान । अन्तर्राष्ट्रिय सान र मान बढेपछि अग्रजहरूले जगदीशपुर, घोडाघोडी, बिसहजारी, रारा, से–फोक्सुन्डो, गोसाइँकुण्ड, गोक्यो, माइपोखरी र फेवा–बेगनास क्लस्टरलाई विश्व रामसारमा दर्ज गरेर तिनलाई अन्तर्राष्ट्रिय महत्वको प्राकृतिक सम्पदा बनाए ।

साथै, अग्रजले नेपालमा पाँच हजार ३५८ ताल, पाँच हजार ५०० भन्दा बढी नदीनाला, तीन हजार २३५ हिमनदी, दई हजार ३२३ हिमताल तथा तराई र पहाडमा क्रमशः १६३ र ७९ सिमसारको पहिचान, अभिलेखीकरण र संरक्षण तथा दिगो व्यवस्थापनको चाँजोपाँजो मिलाइदिए । त्यसका लागि आवश्यक ऐन, कानुन, नीति, नियमावली र कार्ययोजनाको व्यवस्था मिलाइदिए । हो, ती प्रकृतिपुत्र अग्रजहरू सम्मानका हकदार छन्, आजको दिनमा ।

ती अग्रजको प्राचीन नेपालको कल्पना गरिहेरौँ । टाढा होइन, काठमाडौँको पवित्र नदीनाला, पोखरी, हिटी, लहलह धानखेतलाई सम्झे पुग्छ । प्राचीन सिमसारको सौन्दर्य, पवित्रता, स्वच्छता, थरीथरीको धान फलाउने तागत हेरे पुग्छ । पानीमाथि हकदाबी गरेर अधीनमा राख्ने मन्त्रालय, विभाग र निकायहरू अनगिन्ती छन्, तहतहमा सरकार छन् । तर, प्रकृतिको संरक्षणको साटो विनाश बढ्दो छ ।

सिमसारमाथि रियलस्टेट व्यापार बढेको छ । खोला झोला–झोलामा पुगेका छन् । फोहोर, विषादी, केमिकल नदीमा हाल्ने अस्तव्यस्त उद्योग कारखाना जताततै छन् । नदीनाला, खोला, ढल मिचेर या पुरेर त्यहाँमाथि उभिएको छ हाम्रो असुरक्षित कुरूप सहर । जलभण्डार चुरे, खहरे, नदीनालाको दिनदहाडै उत्खनन, दोहन र विनाश भइरहेको छ ।

सिमसार उजाड बनाउने अति चरिचरन, बाह्य मिचाहा प्रजातिको आक्रमण, फोहोर र प्रदूषणको अत्यधिक चाप बढ्दो छ । विषादी प्रयोग गरेर जलचरको समूल नष्ट गर्ने काम भइरहेका छन् । नदी तालमा करेन्ट लगाएर माछा मार्ने अपराधजन्य विकृति बढेको छ । हाम्रा दूरदर्शी अग्रजहरूले विदेशी तथा स्वदेशी अतिक्रमणबाट बचाउन गरेको राष्ट्रिय निकुञ्ज तथा आरक्षको घोषणा र त्यहाँभित्रको अपार सिमसार तथा जलसम्पदामाथि संरक्षणविरोधी सरकार र ठेकेदारहरूको गिद्दे नजर परिसकेको छ । निजीकरण र अतिक्रमणका ती धक्का पनि बल्झिरहनेछन् ।     

भनिन्छ, पाँचवटा ‘ज’ अर्थात् जल, जंगल, जमिन, जनशक्ति र जीवन वायु भएको मुलुक समृद्ध हुन्छ । नेपाल यी उच्चकोटीका पाँच शक्ति प्राप्त प्रकृतिको धनी देश हो । विश्वका सिमसार क्षेत्रहरूबाट प्राप्त हुने वातावरणीय सेवा वस्तुहरूको वार्षिक योगदान १४ ट्रिलियन अमेरिकी डलर बताएको छ, एउटा अध्ययनले । फेवातालको मात्र आर्थिक योगदान ४३ मिलियन अमेरिकी डलर वार्षिक निकालिएको छ । हिराभन्दा महँगो प्रकृतिको उपहार रारालगायत ताललाई जोगाउन सकिएन र व्यापारिक प्रयोजनका नाममा बेचियो भने त्यो सिंगो देशकै लागि दुर्भाग्य हुनेछ । 

वस्तु र सेवा प्रदानका अतिरिक्त सिमसारका गुन र देन अनगिन्ती छन् । कृषि र हरियो वन–जंगल तथा हरित अर्थतन्त्रका लागि सिमसार वरदान हो । बाढी–पहिरो रोकथाम गर्न, पानीको स्रोत संरक्षण गर्न, पानीको गुणस्तर कायम राख्न, जलचक्र र जलवायुलाई नियमित राख्न, तापमानलाई सन्तुलित राख्न, उर्वर माटो निर्माण गर्न, पोषणतत्व कायम राख्न, कार्बन सञ्चित गर्न तथा जलवायु परिवर्तनको धक्का सहन गर्न सिमसारको भूमिका महत्वपूर्ण हुन्छ ।

विश्वको नौ र नेपालको ६ प्रतिशत सिमसारले झन् धेरै माया, सम्मान र संरक्षण खोजेको छ । नेपालको सिमसारको प्रकृति र विशेषता अनुपम र विचित्र छ । अरूलाई कृत्रिम सिमसार बनाउने र गुमेको सिमसार पुनस्र्थापना गर्ने चटारो छ, जबकि हामीलाई प्रकृतिले वरदानस्वरूप दिएको प्राकृतिक सिमसार संरक्षण, संवद्र्धधन र व्यवस्थापन गरिदिए पुग्नेवाला छ । पुरानो बिगारबाट पाठ सिकौँ । चुनौतीलाई अवसरमा बदलौँ । सरकार र सम्बन्धित निकायलाई गाली मात्र होइन, रचनात्मक र सकारात्मक सहयोग गरौँ । मुलुकलाई विकासे मात्र होइन, प्राकृतिक स्विट्जरल्यान्ड बनाएर देखाऔँ । (कार्की संरक्षणकर्मी हुन्)
 

ad
ad