Skip This
ad
जैविक विविधता संरक्षणको विकास मोडेल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
बाबुकृष्ण कार्की
२o८१ बैशाख २६ बुधबार o७:५७:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

जैविक विविधता संरक्षणको विकास मोडेल

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा होमिएका उम्मेदवारले जैविक विविधता संरक्षणको मुद्दा आफ्नो चुनावी एजेन्डामा समेट्नु सकारात्मक छ 

Read Time : > 2 मिनेट
बाबुकृष्ण कार्की
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:५७:oo

'हिमालय शृंखलाको जैविक विविधता कति धेरै, सुन्दर र पवित्र । हरेक भ्रमणमा परिवर्तन देख्छु । मन मस्तिष्कमा खुसी र उमंग भरिन्छ । बूढो शरीरमा ऊर्जा भरिएको अनुभूत हुन्छ । जहिले जहाँ पुगे पनि फेरि नेपालै जाऊँजाऊँ लागिहाल्छ । पढिनसक्नु जैविक विविधता, नापिनसक्नु हिमाल । ऊभन्दा ऊ झन् राम्रो । मनै लोभ्याउने ।’ जीवनको उत्तराद्र्धतिर सर एडमन्ड हिलारीले पंक्तिकारसँग दिल खोलेर भलाकुसारी गर्नुभएको थियो ।

कुनै वेला मैले लगातार २२ वर्षमा २२ पकट बर्दिया राष्ट्रिय निकुञ्ज आएका पर्यटकसामु जिज्ञासा राखेँ– ‘एउटा यात्राको समय र खर्च जुटाउन त हम्मेहम्मे पर्छ । तपाईं कसरी र किन बर्सेनि यहाँ आइरहनुहुन्छ ?’ जवाफ छोटो र मिठो थियो– ‘यो टाइगर ल्यान्डमा सजिलै टाइगर देख्न पाइन्छ र हरेक टाइगरको पृथक् पहिचान र विशेषता छ । बर्दिया मेरो स्वर्ग हो ।’

नेपालमा दर्जनौँपटक भ्रमण गर्ने यात्रु कति छन् कति । हिमालय शृंखलाको पत्रपत्रभित्र लुकेको विकट भूगोलमा जैविक विविधताको खानी छ । प्राकृतिक प्रकोप होस् वा सरकारी लम्बेतान प्रक्रिया, पत्रे चट्टान र घोप्टे भिर होस् वा मौसमीय जोखिम, पर्यटकको सधैँ र अनिवार्य ओइरो लागिरहने गन्तव्य हो नेपाल । सुन्दर प्रकृतिभित्र लुकेको यहाँको जैविक विविधता नै हो सबैको आकर्षण । प्रकृतिको पूजा गर्ने पूर्वीय दर्शन र संस्कृति झन् रोचक र आकर्षक छ । जैविकसँगै सांस्कृतिक, सामाजिक, भौगोलिक र धार्मिक विविधताले सिंगारिएकी छिन् मातृभूमि । आज (मे २२) जैविक विविधता दिवसको अवसर पारेर प्रकृतिको स्तूति गर्न यो आलेख पस्किएको छु ।

नेपालमा जैविक विविधताको संरक्षण गर्न १० वटा राष्ट्रिय निकुञ्ज, तीन आरक्ष, एक सिकार आरक्ष, ६ संरक्षण क्षेत्र, १२ मध्यवर्ती क्षेत्र (बफर जोन) र १० रामसार क्षेत्रको घोषणा गरिएको छ । जैविक विविधताको रक्षा गर्न विभिन्न संरक्षण मोडलको अभ्यास भइरहेको छ । स्थानीय समुदायले व्यवस्थापन र संरक्षण गरेको जैविक विविधता होस् वा राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्य हुन्, सबैको रक्षा कल्याण सम्मान राम्रोसँग भएको छ । सामुदायिक वन अवधारणा र संरक्षण विश्वमै नमुना थियो । शून्य सिकार उपलब्धि जैविक विविधताको संरक्षणमा नमुना कोसेढुंगा थियो । र, नेपालको संरक्षण प्रतिबद्धता तथा मिलिजुली सबैले संयुक्त रूपमा पूरा गर्ने संरक्षण मोडल देखेर विश्व नै चकित थियो ।

जैविक विविधताको संरक्षणले प्राकृतिक प्रकोप, प्रदूषण र महामारी रोकथाम सम्भव हुने भएकाले आत्मनिर्भरउन्मुख हरित अर्थतन्त्र, प्रकृतिमैत्री पूर्वाधार र विकास, अग्र्यानिक कृषि हाम्रो संरक्षण र विकासको मोडल हुनुपर्छ 

लामो जनयुद्ध, त्यसपछिको अन्त्यहीन संक्रमणकाल र कोभिड महामारीले जैविक विविधताको ठूलो नोक्सानी भयो । महाभूकम्प र बर्सेनि आउने प्राकृतिक प्रकोपले पु¥याएको नोक्सानी छुट्टै छ । हरेक दश–दश वर्षमा आउने परिवर्तन र क्रान्तिले जैविक विविधताको स्रोत वनजंगल सफाया पारेकै छ । यी सबै चुनौतीका बाबजुद तीनै तहका सरकार, नेपाली सेनालगायत सबै सुरक्षा निकाय र स्थानीयवासीको संयुक्त प्रयासले सुन्दर शान्त विशाल मुलुकको जैविक विविधताको रक्षा सम्भव भइरहेको छ ।

खुसीको कुरा, हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा होमिएका उम्मेदवारले जैविक विविधता संरक्षणको मुद्दा आफ्नो चुनावी एजेन्डामा समेटेका थिए । वातावरणीय अध्ययन (इआइए) बिना बाढीपहिरो ल्याउने डोजर चलाउन नदिने, प्राकृतिक स्रोतको उत्खनन, दोहन, विनाश गर्न नदिने, अतिक्रमण हटाउने, चोरी सिकार नियन्त्रण गर्ने प्रकृति र संरक्षणप्रेमी उम्मेदवारको नारा र प्रतिबद्धता प्रकृतिको पक्षमा थियो । भावी जनप्रतिनिधिले प्रकृतिलाई न्याय दिँदै वातावरणमैत्री विकासको विकल्प रोज्ने शुभसंकेत हो यो ।

जैविक विविधताको भण्डार दूरदराजमा स्थानीयवासीको हात र काँधमा छ । जैविक विविधताको संरक्षण अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुनको क्षेत्रभित्र परे पनि स्थान विशेषको जैविक विविधताको संरक्षण, दिगो उपयोग र त्यसबाट प्राप्त लाभको बाँडफाँडसम्बन्धी नीति–नियम त्यहाँका आदिवासी जनजाति र स्थानीय समुदायको प्रथाजनित अभ्यासबाट प्रभावित भएको हुन्छ । यस मानेमा स्थानीय जनता र जनप्रतिनिधि प्राकृतिक स्रोत रक्षा गर्ने सवालमा सर्वेसर्वा हुन्छन् । जैविक विविधता संरक्षण गर्न उनीहरूलाई असीमित अधिकार, मनग्गे बजेट र स्रोत–साधनको व्यवस्था गरिएको छ । संरक्षणको ऐतिहासिक खम्बा नेपाली सेनाले स्थानीय सरकारलाई यो पवित्र काममा सहकार्यमार्फत सघाउनुपर्छ ।

अझ खुसीको कुरा सिर्जनशील युवा उम्मेदवार कंक्रिटका कुरूप भ्युटावर र स्मृति गेट, स्वागत द्वारका विपक्षमा छन् । तिनको ठाउँमा उनीहरू सुविधा–सम्पन्न खुलाचौर, पिउने पानी, शौचालयसहितको सफा ग्रिनपार्क बनाउन चाहन्छन् । कति सुन्दर र प्रकृतिमैत्री भिजन ! आशा गरौँ– विगतमा जस्तो निकुञ्ज र जलाधारको काखमा अवस्थित सांस्कृतिक सहर काठमाडौँले फोहोरमुनि पुरिएर निस्सासिएर बस्नुपर्नेछैन । जल, जमिन, जंगल, जडीबुटी, जनशक्ति हराउने, ठगिने, लुटिने छैनन् । 

प्रकृति संरक्षणले सदैव राष्ट्रिय माया र प्राथमिकता पाइरहोस् । स्थानीय सरकारले प्रकृतिको खानीलाई बुलेटप्रुफ छाता ओढाइरहोस् । संरक्षण साझेदार संघ–संस्था पुनर्संगठित र पुनर्ताजगी भएर जैविक विविधता संरक्षणको महायज्ञमा होमिऊन् । नेपाली सेनाले अझ सक्रिय र जवाफदेही भएर संख्यात्मकभन्दा गुणात्मक क्षमता अभिवृद्धि गरी बन्दुकले होइन, हंसमुख खाली हातले सधैँ शून्य सिकार मनाइरहोस् बुद्धको शान्ति भूमि नेपालमा । सरकारले विश्व संरक्षण समुदायसमक्ष गरेको संकल्पअनुसार विद्यमान २३.२३ प्रतिशत संरक्षित भूभागलाई बढाएर छिटो ३० प्रतिशत पु¥याएर देखाओस् । 

जैविक विविधताको रक्षाले मात्र प्राकृतिक प्रकोप, प्रदूषण र महामारीको रोकथाम सम्भव छ । तसर्थ, आत्मनिर्भरउन्मुख हरित अर्थतन्त्र, प्रकृतिमैत्री पूर्वाधार र विकास, अग्र्यानिक कृषि हाम्रो संरक्षण र विकासको मोडल हुनुपर्छ । (नेपाली सेनाका पूर्वसहायक रथी कार्की संरक्षण विज्ञ हुन्)
 

ad
ad