लमजुङको सिउँडीबार क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु जारी भएको छ । लमजुङको सुन्दरबजार नगरपालिका– ९ को सिउँडीबारस्थित फ्युचर स्टार आवासीय माध्यामिक विद्यालयका एक विद्यार्थीको पौडी खेल्ने क्रममा मंगलबार दिउँसो मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको घटनाका कारण उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
मंगलबार नारी दिवसको बिदाको दिन गर्मी छल्नका लागि बोर्डिङ स्कुलनजिकै रहेको मर्याङ्दी नदीमा छात्रावासका वार्डेनले विद्यार्थीलाई पौडी खेल्न लगेका थिए । सोही क्रममा कक्षा– १० मा अध्ययन गर्ने छात्र सनिज श्रेष्ठको नदीमा डुबेर निधन भएपछि उत्पन्न तनावपूर्ण स्थितिको नियन्त्रणका लागि कर्फ्यु आदेश जारी गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनामा भनिएको छ, ‘कर्फ्युको क्षेत्र सुन्दरबजार नगरपालिका– ७ को पूर्व–दक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङ्दी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिका– ९ को मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रको विद्युत् केन्द्रको आवास क्षेत्रको गेटअगाडिको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चारकिल्लाभित्र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको छ ।’
तनहुँको भानु नगरपालिका– ९, बाइसजाँगरका श्रेष्ठ होस्टेलमा बसेर पढ्दै आएका थिए। मृतकका आफन्तले विद्यालयका संस्थापक बाबुराम पौडेल र विद्यार्थी लाने शिक्षकलाई कारबाहीको माग गरेका छन् ।
आक्रोशित आफन्तले फ्युचरस्टार स्कुलको गेट तोडफोड गरेका छन् । उनीहरूले दुईवटा स्कुल बस, गाडी र भ्यान तोडफोड गरेको प्रहरीले जनाएको छ । आक्रोशित आफन्तले विद्यालय तोडफोड गरेपछि स्थिति तनावपूर्ण भएसँगै प्रहरीले भिड नियन्त्रण गर्न अश्रुग्याससमेत प्रहार गरेको थियाे ।