१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २३ सोमबार ०७:५०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल वायुसेवा निगमले पायो साउदीका तीन सहरमा उडान अनुमति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २३ सोमबार ०७:५०:००

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि)ले साउदी अरेबियाका तीन सहरमा व्यावसायिक उडान गर्ने अनुमति पाएको छ । नेवानिले चार वर्षको प्रयासपछि साउदी अरेबियाको रियाद, दमाम र जेद्दामा उडान गर्न अनुमति पाएको हो ।साउदी अरेबियाको जनरल अथोरिटी अफ सिभिल एभिएसन (जिएसिए)ले २२ फागुन (आइतबार) साउदी अरेबियाको रियादस्थित कार्यालयबाट औपचारिक रूपमा उडान अनुमति दिएको हो । नेवानिले साउदीको रियादमा सम्पर्क कार्यालय खोलिसकेको थियो । नेवानिका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा जिएसिएका प्रतिनिधिले सोही कार्यालयमा आएर उडान अनुमति प्रदान गरेको बताइएको छ ।

साउदी अरेबियाका तीन सहरमध्ये रियादमा भने अप्रिल २०२२ देखि नै व्यावसायिक उडान सुरु गर्ने नेवानिले जनाएको छ । नेवानिले काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा साताको तीनवटा नियमित उडान सुरु गर्दै छ ।साउदी अरेबिया नेपालीको ठूलो रोजगार गन्तव्य हो । वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरेर साउदी अरेबिया उडान सुरु गर्न लागेको नेवानिले जनाएको छ । अहिले साउदीमा नेपालको निजी वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सले नियमित उडान गर्दै आइरहेको छ । नेवानिले अहिले भारत, मलेसिया, कतार, दुबई, हङकङ, जापान र थाइल्यान्डमा उडान गर्दै आइरहेको थियो । नेवानिले कोभिडअघि भारतको नयाँदिल्ली, मुम्बई र बैंग्लोरमा उडान गर्दै आइरहेकोमा कोभिडपछि नयाँदिल्लीमा मात्र उडान गरिरहेको छ । कोभिडपछि भारतसँग भएको एयर बबल सम्झौताका कारण अरू गन्तव्यको उडान तत्कालका लागि रोकिएको छ ।

 दोहामा ग्राउन्डेड न्यारोबडी आउँदै
करिब दुई महिनाअगाडि कतारको दोहास्थित हमाद इन्टरनेसनल एयरपोर्टमा अवतरणपछि बायाँतर्फको इन्जिनमा समस्या देखिएर ग्राउन्डेड भएको नेवानिको न्यारोबडी जहाज भाडाको इन्जिन राखेपछि नेपाल फर्किंदै छ । पाँचजना इन्जिनियर र दुईजना क्रू मेम्बरसहित जहाज आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । नेदरल्यान्डको एमयू मेन्टिनेन्सले तीन महिनाका लागि इन्जिन भाडामा उपलब्ध गराएको नेवानिले जनाएको छ ।

 दुई महिनापछि पोखरा–जोमसोम उडान
करिब दुई महिनादेखि रोकिएको पोखरा–जोमसोम नियमित उडान आइतबारदेखि सुरु भएको छ । तारा एयरले आइतबार मात्र जोमसोममा पाँचवटा उडान गरेको जनाएको छ । एउटा ट्विनअटर विमानलाई पोखरामै राखेर जोमसोममा उडान गर्ने बताइएको छ । कोभिड महामारी कम भएसँगै विदेशी पर्यटकको आगमन बढ्ने हुँदा ताराले पोखरा–जोमसोम उडान सुरु गरेको हो । सन् २०२२ को पहिलो पर्यटकीय सिजन भर्खर सुरु हुँदै छ । अब पोखरा भएर मुक्तिनाथ जाने स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्दै जाने विश्वास गरिएको छ ।

 बुद्धको पोखरा–जनकपुर उडान सुरु
निजी वायुसेवा कम्पनी बुद्ध एयरले शनिबारदेखि पोखरा–जनकपुर उडान सुरु गरेको छ । बुद्धको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल मधेस प्रदेशको भ्रमणमा निस्केको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणामा तीनदिने भ्रमणका लागि मुख्यमन्त्रीसहितको टोली शनिबार जनकपुर पुगेको हो । टोलीलाई जनकपुर विमानस्थलमा मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुधन महतोले स्वागत गरेका थिए । 
गण्डकी प्रदेशको राजधानी पोखराबाट सातवटै प्रदेशमा एयर कनेक्टिभिटी बढाउने लक्ष्यका साथ बुद्धले उडान गरिरहेको छ । जनकपुर–पोखरा साताको दुई दिन उडान हुने बुद्धले जनाएको छ । यसअघि मधेस प्रदेशको सिमरामा बुद्धले पोखराबाट उडान थालिसकेको छ । सुदूरपश्चिमको धनगढीमा पनि यही बिहीबारबाट उडान सुरु भइसकेको छ भने भैरहवा, नेपालगन्ज र भरतपुरमा पनि पोखराबाट उडान हुँदै आएको छ ।