१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २१ शनिबार
  • Monday, 01 July, 2024
२o७८ फाल्गुण २१ शनिबार १६:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कालिकोटका व्यापारीको सुर्खेतमा शंकास्पद मृत्यु, प्रहरीको कुटपिटबाट मृत्यु भएको आफन्तको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २१ शनिबार १६:५६:oo

सुर्खेतमा कालिकोटका एक व्यापारीको शंकास्पद मृत्यु भएको छ। नेपालगन्जबाट ट्रकमा सामान बोकेर फर्कँदै गर्दा कालिकोट तिलागुफा नगरपालिका–३ का ३२ वर्षीय कृष्ण हमाल(मिनी)को शंकास्पद मृत्यु भएको हो।

शुक्रबार बेलुका नेपालगन्जबाट मालबाहक ट्रकमा कालिकोट जाँदै गरेका हमालले सामान बढी हालेको विषयमा वीरेन्द्रनगरस्थित सुब्बा कुना प्रहरी चेकपोस्टमा प्रहरीसँग विवाद भएको थियो। सो क्रममा प्रहरीले कुटपिट गरेको आफन्तको आरोप छ। नेपालगन्जबाट भे १ क ९२२ नम्बरको ट्रकमा सामान लिएर आएका उनलाई प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका उनीहरूले दाबी गरेका छन्।

ट्रकका दुई स्टाफलाई पनि प्रहरीले कुटपिट गरेको मृतकका काका कलमबहादुर हमालले बताए। आफूले त्यसो नगर्न भनेपछि आफूमाथि पनि प्रहरी जाइलागेको उनी बताउँछन्। ‘प्रहरीको कुटाइले तल्लो पेट र अण्डकोषमा चोट लागेको थियो,’ उनले भने, ‘उनीहरूलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।’
 
मृतक हमालको शव सुर्खेत अस्पतालमा राखिएको छ। कालिकोटबाट मृतकका आफन्त सुर्खेत आउँदै गरेका छन्। उनीहरूले हमालको शंकास्पद मृत्युको छानबिन गर्न माग गरेका छन्। प्रहरीले भने यस विषयमा छानबिन भइरहेको जनाएको छ। ‘कुटपिटपछि मृत्यु भन्ने खबर आयो,’ सुर्खेत प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले भने, ‘विस्तृत विवरण बुझ्दै छौँ। अनुसन्धानपछि सबै खुल्नेछ।’

सुर्खेत अस्पताल प्रालिका अनुसार हमाललाई शनिबार बिहान १०ः१५ बजेको समयमा दुई अपरिचित व्यक्तिले बेहोस अवस्थामा अस्पताल ल्याएका थिए। अस्पतालले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आकस्मिक कक्षमा ल्याएको र उक्त व्यक्तिलाई चेकजाँच गर्दा निज व्यक्तिमा कुनै पनि जीवितका चिह्नहरू नभएको र हस्पिटल ल्याउनुपूर्व नै मृत्यु भएको कुरा निजको उपचारमा संग्लन डा.के.एन पौडेलको भनाइ रहेको कुरा जानकारी गराउँदछौँ।’

ad
ad
ad
ad